छाड्न थाले सारथिले, एमालेमा बढ्दैछ माधव नेपालको संकट
ओलीसँग भिड्ने गतिलो योजना र अडान नहुँदा अन्योल
फाइल तस्बिर

सत्तारुढ नेकपा एमालेमा शक्ति संघर्ष चरम स्थितिमा पुगेको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको एउटा फैसलाबाट नेकपा खारेज भएर ब्यूँतिएको एमालेमा अहिले शक्ति संघर्षले विभाजनको रुप लिएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली शक्ति केन्द्रित गर्दै लगेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष समानान्तर कमिटी अभ्यासमा छ । 

एमाले अध्यक्ष ओलीले एमाले ब्यूँतिएपछि एकल शक्ति प्रयोगको अभ्यास गरिरहेका छन् । फागुन २८ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक राखेर ओलीले आफू विरोधी खेमाका नेताहरुलाई जिम्मेवारीबाट च्युत गर्नेदेखि साथ दिएका नयाँ आगन्तुकलाई जिम्मेवारी दिनेसम्मका निर्णय गरे। त्यस्तै चैत ७ मा पनि उनले नेपाल पक्षलाई पेल्ने गरी विभिन्न निर्णय लिए। 

यता, तत्कालीन एमाले फर्किएपछि पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर आएका वरिष्ठ नेता रहेका झलनाथ खनाल र माधव कुमार नेपालसहित अहिले ओलीविरोधी खेमामा मोर्चाबन्दी गरेर बसेका छन्। ओलीले एकलौटी निर्णय गरेर पार्टी विभाजन तर्फ लगेको उक्त समूहको आरोप थियो र त्यो कायमै छ ।

नेकपा खारेज नहुँदासम्म ओलीभन्दा प्रचण्ड-माधव समूह बलियो थियो । नेकपा रहँदा बहुमतको उपयोग गर्दै ओलीलाई पार्टी साधारण सदस्यबाटै बर्खास्त गरेका माधव नेपाल अहिले एमालेमा संकटग्रस्त अवस्थामा पुगेका छन्।

मौका पर्दा ओलीलाई सडकमै पुर्‍याउन खोजेका नेपाललाई पार्टीमा स्थान नै नदिने गरी ओली अघि बढिरहेका छन्। त्यहीकारण एमालेभित्र माधव नेपाल समस्यामा रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । नेकपा रहँदा आफूलाई पार्टीबाटै निष्कासित गरेको रिस अहिले एमाले ब्यूँतिएपछि नेपाल समूहसँग एकएक गरेर फेरिरहेका छन् । 



ओलीलाई बिझाउने 'नेपालको कदम'

प्रधानमन्त्री ओली आफ्ना विरोधीहरुलाई भित्तामै पुर्याउने स्वभाव भएका नेता हुन्। उनका सहयात्रीहरू र सहयोगीहरुको अभिव्यक्तिले पनि त्यो पुष्टि गर्छ। स्वयम् ओलीको व्यवहारबाट पनि त्यो प्रमाणित कुरा हो । उनले शुक्रबार मात्रै बालुवाटारमा आयोजित संसदीय दल बैठकमा माधव नेपाल र भीम रावललाई कारवाही गर्ने घोषणा गे।



आजै मात्रै उनका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी संकटमा परेकाले अर्कातिर गएर आएकाहरुलाई कुनै स्थान नदिइने बताइसकेका छन्। ओलीले पेल्ने जान्दा जान्दै पनि अदालतको निर्णयपछि पूर्वतयारीबिनै पेरिसडाँडामा बिदाइ भएका खनाल-नेपाल समूह एमालेमा तर फर्किए तर मन उतै छाडेर। 

पुरानै पार्टी ब्यूँतिएपछि सबै पुरानै अवस्थामा चल्ने आशामा एमाले बन्ने निर्णयमा पुगेका खनाल-नेपाललाई आफ्नै पुराना कदमले छिट्टै साथ छाड्नेवाला थिएन । जसको जवाफस्वरुप उनीहरुको पक्षका नेताहरुको जिम्मेवारी ओलीले फागुन २८ मा खोसिदिए।

रोचक त के छ भने ओलीसँग नेपालले चैत २ मा एक पटक मात्रै संवाद गरेका छन् तर प्रचण्डसँग उनले दैनिकजसो भेटेर छलफल गरिरहेका छन्। नेकपा खारेज गर्ने सर्वोच्चको निर्णयविरुद्ध समेत उनीहरु दुवै एकसाथ अदालत जाने तयारीमा छन्।

पुस ५ मा संसद विघटन भएपछि फागुन ११ गतेको लड्डु ग्रहणसम्म आइपुग्दा ओली र खनाल-नेपालबीचमा रहेको पूर्वएमालेको आत्मियता बदलाको भावनामा परिणत भइसकेको थियो। त्यहीबीचमा नेकपाको प्रचण्ड-माधव समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउनेदेखि उनीसँग रहेकालाई लाल गद्दार भन्दै हदैसम्मको कारबाही गरिसकेको थियो । 

नेकपाको गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोपहरुसहित दर्ता गराएको १९ पन्ने राजनीतिक प्रतिवेदनमा खनाल-नेपालको समर्थन भएदेखि ओली रुष्ट बनेका थिए । यी सबै कदमको बदलामा ओलीले एमाले ब्यूँतिए लगत्तै बालुवाटार बैठकबाट एकलौटी निर्णय गरेर नेपाल-खनालबिनाको एमालेलाई अगाडि बढाइसकेका छन्। 

सारथि गुमाउँदै नेपाल

एमाले कायम भएसँगै तत्कालीन नेकपाका नेताहरुमध्ये सबैभन्दा बढी घाटा माधव नेपाललाई भएको छ । ओलीसँग एमाले र सूर्य चिन्ह रहेकाले एकलौटी सुरु गरिसकेका छन्। प्रचण्डसँग तत्कालीन नेकपा माओवादी केन्द्र छँदैछ । तर यी दुई नेताबीच बिलखबन्दमा परेर एक्लिएका नेता हुन् माधवकुमार नेपाल।

एमालेमा अध्यक्ष र संसदीय दलका नेता रहेका ओलीले आफूखुसी निर्णय गरिरहँदा प्रतिवादका लागि नेपालसँग गतिलो योजना नभएको आभास भएसँगै नेकपा रहँदा उनको साथका सांसदहरुले साथ छाड्न थालेका छन् । यस्तै नखुलेका सांसदहरु पनि ओलीले डाकेको बैठकहरूमा सहभागी हुन थालेपछि नेपालले सारथि पनि गुमाउँदै गएको अवस्था छ।

कुल ३८ सांसदसहित नेपाललाई संसद विघटनको बेलादेखि निरन्तर बलियो साथ दिएका सांसद कृष्णभक्त पोखरेल ओली क्याम्पमा पुगेका छन् । उनी आफूबाट गल्ती भएको स्वीकार गर्दै बालुवाटार पुगेर ओलीलाई साथ दिएका हुन्। उनीसँगै तटस्थ भनिएका लालबाबु पण्डित, तुलसा थापा, माया ज्ञवाली लगायत पनि बालुवाटार पुगेका छन्। 

न नयाँ योजना, न पुरानो अडान

एमालेमा फर्किएर संघर्ष गर्ने निर्णय गरेर पेरिस डाँडाबाट धुम्बाराही फर्कँदा खनाल-नेपाल समूहमा एउटा आत्मविश्वास थियो, ओली र ओली प्रवृत्तिलाई एमालेमै रहेर पराजित गर्ने । उनीहरुले पेरिस डाँडाको अन्तिम बैठक त्यसको उद्घोष पनि गरेका थिए । 

तर, एमाले बनेपछि खनाल-नेपाल समूहलाई पहिलो गाँसमै दाँतमा ढुङ्गो लागे जस्तै भयो । ओलीले एकलौटी जिम्मेवारी खोसेर कमिटी बिस्तार तथा नयाँ जिम्मेवारी तोक्दै विधानका अवरोध हटाउन थालेपछि खनाल-नेपाल समूहले समानान्तर गतिविधि बढायो । महिला, युवा र विद्यार्थीमा त कमिटी नै बने । 

तर, यी गतिविधिहरुलाई आधार बनाएर ओलीले नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेपछि कथाले नयाँ मोड लियो । नेपाल र रावलले त्यसको जवाफमा ओलीमाथि नै प्रतिप्रश्न गर्दै विभिन्न आरोपहरू लगाएका छन् । उनीहरुले नेकपामा रहँदाको प्रचण्डको १९ पन्नाकै शैलीमा जवाफ पठाएका छन् । 

यता, पाण्डे र भुसालले अझै पनि स्पष्टीकरणको जवाफ पठाएका छैनन्। दुवै नेताले नेपाल र रावलको जस्तो प्रतिशोध साँध्ने भन्दा सोधिएका प्रश्नहरुको नरम शैलीमा जवाफ पठाउने तयारी गरिएको बुझिएको छ। ओलीले पनि दुई नेताबाट पार्टी बिगार्ने भन्दा एक बनाउने शैलीमा जवाफ दिने अपेक्षा रहेको बताएका छन्। यससँगै, बालुवाटारमा नजाने अडानमा रहेको खनाल-नेपाल समूह ओलीले डाकेको बैठकमा सहभागी भइसकेका छन्। 

यी सबै घटनाले एमालेमा माधव नेपाल विस्तारै एक्लो हुन थालेको देखिएको छ। विश्‍वासपात्र योगेश भट्टराई र घनश्याम भुसालसहितले एमाले फुटाएर अर्को पार्टीमा जान नसकिने सन्देश नेपाललाई दिइसकेका छन्।

उनीहरुले पहिले पनि पार्टी विभाजनको पीडा भोगिसकेको बताउँदै जति सकिन्छ एमालेमै बसेर ओलीविरुद्ध लड्ने निचोड निकालेका छन्। उनीहरु पार्टी फुटाउने कुरामा सहमत नभएपछि नेपालले तत्कालै कुनै निर्णय लिन सकेका छैनन्। तर प्रचण्डसँग उनी दैनिकजसो वार्तामा छन्। 

योगेश र गोकर्णको अडान

पार्टीमा ओली र नेपाल दुवै मिल्नुपर्ने मत लिएर तत्कालीन अवस्थामा नेकपामा समेत तटस्थ बसेका लालबाबु पण्डित अहिले पनि ओली-नेपाल मिल्नुपर्नेमा दृढ छन् । ओलीले बोलाएको पार्टीको आधिकारिक बैठकमा उपस्थित भएर आफ्ना फरक मत राखेर त्यहीँबाटै निष्कर्ष निकाल्नुपर्नेमा पण्डित प्रष्ट छन् । 

यस्तै मत हिजो बालुवाटारमा बसेको संसदीय दलको बैठकपछि नेताद्वय योगेश भट्टराई र गोकर्ण विष्टले प्रष्टसाथ राखेका छन्। दुवैले ओलीले मिलाएर पार्टीलाई अगाडि लानुपर्ने बताएका छन्। उनीहरुले ओली-नेपाल दुवैले आत्मालोचना गर्नुपर्ने बताएका छन् । एमाले कुनै हालतमा विभाजनको बाटोमा जान नहुनेमा उनीहरुले प्रष्ट मत राखेका छन् । 

संसदीय दलको बैठकमा विष्टले पार्टी एकता जोगाउने पहल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने बताएका छन् । ‘अहिले असावधानी र इगोका साथ पार्टी विभाजनको तहमा पुग्यौँ भने आन्दोलन ध्वस्त हुन्छ, फेरि उठाउन गाह्रो हुन्छ’, विष्टले भने, ‘अदालतले पार्टीलाई साविकको हैसियतमा फर्कायो । त्यसको केन्द्रीय कमिटीको बैठक राखेर अगाडि कसरी बढ्ने भन्ने सन्दर्भमा थप छलफल गर्न सकिन्छ, निकास खोज्न सकिन्छ । समझदारीले नै समाधान खोज्न सकिन्छ ।’

यस्तै, नेता भट्टराईले पार्टीलाई एकताबद्ध बनाउने पहल गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

‘हिजोका कतिपय तीतामीठा कुरा बिर्सिऊँ। उत्तेजित भएर होइन, संयम र धैर्यताका साथ अगाडि बढ्नुपर्छ । किनभने परिस्थिति निकै खतरा, चुनौतीपूर्ण छ । यो मुलुकले एमालेको एकता खोजेको छ । सिंगो वामपन्थीहरूको एकता खोजेको छ,’ उनले भने, ‘जनमतको कदर खोजेको छ । सरकारको स्थायित्व खोजेको छ । त्यसकारण सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरेर संविधान र लोकतन्त्रको रक्षा गरेको छ । अब हामीले राजनीतिक स्थायित्व दिउँ, पार्टी एकताबद्ध बनाऊँ ।’

  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १८:१४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया