राजनीति जतासुकै जाओस्, यही सरकारलाई समर्थन गरेर बस्न सक्दिनँ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताए ।

केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब रहेको बताउँदै अबको राजनीति जतासुकै गए पनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नलिनुस् है भनेर जबरजस्त दबाब छ ममाथि । जबरजस्तै छ । मैले नामचाहिँ भन्दिनँ, कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ है भन्ने छ ।’

प्रचण्डले थपे, ‘मैले भनिराखेको छु, नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई मैले समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस्, मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

अहिलेको राजनीतिक संकटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् अनि सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको प्रचण्डले बताए ।

संसद विघटनविरुद्ध सडकमा गएका दलहरुबीच अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी पर्खेको प्रचण्डले बताए । उनले भने, ‘मेरो  कोसिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु, जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गर्यौँ, ती राजनीतिक दलहरूका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’



प्रचण्डले अगाडि भने, ‘अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नको निम्ति मात्रै आफूले दाह्रा किटेर समर्थनलाई एक–दुई दिन रोकेको मात्रै हो ।’



  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १९:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया