logo-img

सात महिनापछि प्रधानमन्त्री-सभामुख भेटवार्ता, के के भयो कुराकानी ?
न्यौपाने भन्छन् : संसदलाई गति दिने विषयमा छलफल केन्द्रित

प्रधानमन्त्री केपी शर्मा ओली  र सभामुख अग्निप्रसाद सापकोटाबीच करिब ७ महिनापछि भेटवार्ता भएको छ। प्रतिनिधिसभा विघटनअघिदेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेको दुईजनाबीच लामो समयपछि संवादहीन अवस्था अन्त्य भएको हो। 

सभामुख र  प्रधानमन्त्रीबीच भेटघाट र छलफल भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सापकोटा र ओलीबीच प्रतिनिधिसभालाई गति दिने विषयमा छलफल भएको थापाले बताए। 

फागुन ११ मा प्रतिनिधिसभा पुन:स्थापित भएपछि सर्वोच्च अदालतको आदेश अनुसार फागुन २३ गतेयता प्रतिनिधिसभाको बैठक ५ पटक बसिसकेको छ । यस समयमा बसेका बैठकले खास उपलब्धि दिन सकेका छैनन् । यसैक्रममा सभामुख र प्रधानमन्त्री बीच भेट भएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुईजनाबीच आइतवार बिहान ११ बजेदेखि दुई घण्टासम्म भेटवार्ता भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले फरकधारलाई बताए। 



'उहाँहरूबीच संसदमा रहेका विधेयकहरु बारेमा गम्भीर सम्वाद भएको छ', न्यौपानेले भने, 'त्यस्तै संसदलाई गति दिएर प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको छ।'



प्रधानमन्त्री ओलीले गत मंसिरमा संवैधानिक परिषद्को बैठक राख्न खोज्दा सभामुख सापकोटाले बहिष्कार गरेका थिए। लामो समयदेखि अख्तियारसहितका संवैधानिक निकायमा रिक्त पद पूर्तिका लागि प्रधानमन्त्रीले गत मंसिर ३० मा राखेको बैठक सभामुखले बहिष्कार गरिदिएका थिए।

त्यसपछि प्रधानमन्त्रीले संवैधानिक परिषद् बैठक राखेर निर्णय लिन सकेका थिएनन्। तर पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीले अख्तियार, निर्वाचन आयोग र मानवअधिकार आयोगसहितका निकायमा प्रमुख र पदाधिकारी सिफारिस गरेका थिए।



सभामुख सापकोटाले बहिष्कार गरेको अवस्थामा प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले परिषद् बैठक राखेर ४५ बढी पदमा सिफारिस गरेका थिए। प्रतिनिधिसभा विघटनपछि ओली र सभामुख सापकोटाबीच सम्बन्ध झनै बिग्रिएको थियो।

ओलीले सभामुखमाथि पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा चलेर आफूलाई असहयोग गरेको आरोप लगाउँदै आएका थिए। त्यहीकारण प्रधानमन्त्री ओली सभामुख सापकोटासँग रुष्ट थिए। गत फागुन ११ गते प्रतिनिधिसभा फर्किए यता पनि सभामुख र प्रधानमन्त्रीबीच सम्वाद हुन सकेको थिएन।

मागेका थिए समय 

यस्तो अवस्थामा सभामुख सापकोटाले प्रधानमन्त्रीसँग छलफल चाहेका थिए। सरकारले बिजनेस नदिएका कारण संसद प्रभावकारी रुपमा संचालन हुन नसकिरहेको अवस्थामा सभामुखले कानुन मन्त्री लीलानाथ श्रेष्ठमार्फत प्रधानमन्त्रीसँग संवाद अघि बढाउन खोजेका थिए। 

फागुन २३ यता बसेका ५ वटा बैठकमध्ये तीनवटा शोकसभामै सीमित भएका थिए। पछिल्ला दुई बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका केही सांसदहरुले बोलेका थिए। तर संसदले गर्नुपर्ने कानुन निर्माणका काम अहिले ठप्प छ। सरकारले पेश गरेका अध्यादेश अड्किएका छन् भने विधेयक पनि रोकिएका छन्।

यस्तोमा सभामुखले कार्यपालिका प्रमुखसँग अन्तरक्रिया गर्न चाहेका थिए। पुस ५ अघि बसेको संवैधानिक परिषद् बैठक बहिष्कार गरेयता सभामुख र प्रधानमन्त्रीबीच बोलचाल नै बन्द थियो। तत्कालीन नेकपाको विवादमा संवैधानिक दायित्व बिर्सेर सभामुखले पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा चलेको भन्दै सभामुखप्रति प्रधानमन्त्रीले रोष प्रकट गर्दै आएका थिए।

यही चैत ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका बेला सभामुख सापकोटाले कानुनमन्त्री श्रेष्ठमार्फत प्रधानमन्त्रीसँग भेट्ने समय मिलाइदिन भनेको बताएका थिए। उनले विमानस्थलमा पनि प्रधानमन्त्रीसँग कुरा भएकाले अब संवादको ढोका खुल्ने बताएका थिए।

सभामुख सापकोटाले सरकारले ल्याएका अध्यादेश संसदमा अड्काउने मनसाय नरहेको पनि बताएका थिए। संसदबाट चाँडै अध्यादेश पास गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी सापकोटाले दिएका थिए। ‘सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्‍ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन', उनले भनेका थिए, 'निष्पक्ष र तटस्थता भएर अगाडि बढ्छु, निष्‍ठाका साथ काम गर्छु।'

यसअघि गत भदौ १४ गते सिन्धुपाल्चोकमा गएको पहिरोबाट विस्थापित र पीडितहरुलाई राहत वितरणबारेमा दुईजनाबीच संवाद भएको थियो। त्यसयता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थिएन।

पुन:स्थापित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली आफैँ उपस्थित भएका छैनन्। पहिला दुई बैठक बस्दा संसद भवन पुगेर पनि प्रधानमन्त्री बसेनन्। त्यसपछिको एउटा बैठकमा प्रधानमन्त्री संसद भवन पुग्दा बैठक सकिएको थियो। 

संसद अधिवेशन सक्ने तयारी 

यसबीचमा सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य तयारी गरेको छ। फागुन ११ मा पुन:स्थापित प्रतिनिधिसभाको फागुन २३ देखि चैत ९ सम्म बसेको बैठकले बिजनेस पाउन नसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको संसदीय दल बैठकमा संसद अधिवेशन अन्त्य तयारी गरिएको बताएका थिए। 

एमालेका मुख्य सचेतक विशाल भट्टराईले वैशाखबाट बर्खे अधिवेशन सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिए। सरकारले आगामी जेठ १५ गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी बाध्यता छ। उक्त बैठकमा प्रधानमन्त्रीले केही समयपछि चालु संसद् अन्त्य बताएका थिए। उनले जेठ १५ मा बजेट ल्याइसक्नुपर्ने भएकाले चाँडै संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भएको उल्लेख गरेका थिए। 

यसैबीच प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गतेका लागि बोलाइएको छ। संसद फर्किएपछि सभामुख अग्नि सापकोटा र प्रधानमन्त्री ओलीबीच पहिलो पटक संवाद भएकाले अब गति लिने अनुमान गरिएको छ। 

  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया