बागलुङमा होली खेल्दा झडप, कम्तीमा दुईको मृत्यु, १० जना बढी बेपत्ता

आइतबार दिउँसो बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० बल्देधुरीमा होली खेल्ने क्रममा झडप हुँदा कम्तीमा दुईजनाको ज्यान गएको छ। गुल्मी, बागलुङ र प्युठानका युवाहरु भेला भएर होली खेल्ने क्रममा झडप भएको थियो।

सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा १५ जना युवा भीरमा खसेको अनुमान गरिएको छ। जसमा अहिलेसम्म दुईजनाको शव भीरमा खसेको अवस्थामा भेटिएको बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष वीरेन्द्र बुढाले बताए। 

उनले आफू बागलुङ सदरमुकाममा रहेको बताउँदै अहिलेसम्म दुईजनाको शव भेटिएको जानकारी गाउँलेले दिएको उल्लेख गरे। स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड गाउँपालिका-१० का करिब १५ युवा बेपत्ता भएको बताइएको छ।

होली मनाउन गएका युवाहरूबीच झडप हुँदा दुई निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र त्यही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए।

उनका अनुसार दुई युवा समूहबीच झडप भएको हो । ‘घटनास्थल पुगेको प्रहरी टोलीले अहिलेसम्म दुई जनाको शव जंगलमा फेला पारेको छ’, उनले भने, 'अँध्यारो भएकाले अरु बेपत्ताको खोजीमा भोलि बिहानैदेखि जुट्ने छौँ।'

स्थानीयवासीका अनुसार होली खेल्ने क्रममा गाई भैंसी चराउने भीरमा करिब १० देखि १५ युवा पल्टिएका थिए। उनीहरुको दिनभर खोजी गरिएको थियो। इलाका प्रहरी कार्यालय भीमगीठेको टोली घटनास्थल पुगेर खोजी थालेको थियो। 





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार २१:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया