अदालतले एमाले, माओवादी केन्द्रलाई ब्यूँताई दिएपछि सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा चर्चा सुरु भएको हो । तर, एमालेभित्र पनि दुईवटा खेमा देखिएपछि सरकारको नेतृत्व फेर्ने कसरत सफल हुन सकेको छैन । एमाले सुदूरपश्चिमका नेता डाक्टर भीम रावलले सरकार परिवर्तनका लागि अनेक गृहकार्य गरे पनि केन्द्रमा पार्टीको लफडाले गर्दा सफल हुन सकेन । एमाले पार्टी भित्रकै आन्तरिक किचलोले रिक्त दुईवटा मन्त्रालयमा समेत मन्त्री राख्न सम्भव भएको छैन ।
प्रदेशको पूर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय ३ महिनादेखि मन्त्रीविहीन छ । एकता भंग हुनुअघि नै नेकपामा राजनीतिक विभाजन आई ओली र दाहाल–नेपाल समूह बनेपछि मुख्यमन्त्री भट्टले ओली समूहका भौतिक पूर्वाधार विकासमन्त्री बोहरालाई पुस १४ गते हटाएका थिए । ओली समूहमा लागेका तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पुस २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।
एमालेले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएर पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालेको हो । उनी ओली निकट नेता हुन् । साविक माओवादी केन्द्रका नेता लेखराज भट्टको प्रस्तावमा मुख्यमन्त्री भट्टलाई एमालेले समर्थन गरेको थियो । अहिले एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका लेखराजले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीमा आन्तरिक छलफल चलाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिन एमाले संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने भनिएको थियो । तर, होलीका कारण धेरै सांसद उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गरिएको जनाइएको छ ।
अब बस्ने संसदीय दलको बैठकमा संसदीय दलको नेता बदल्ने तयारी रहेको ओली निकट नेता रतन थापाले बताए । उनका अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय पनि अब बस्ने बैठकले नै गर्नेछ । अहिले संसदीय दलका नेतामा प्रकाशबहादुर शाह छन् । अब उनलाई हटाएर पठानसिंह बोहरालाई बनाउने तयारीमा भइरहेको उनले बताए ।
दुई पार्टी एकीकरण भएपछि बनेको नेकपा पार्टीका ३९ सांसदमा सात जना मात्र ओली पक्षमा लागेकाले दाहाल–नेपाल समूहसँग सुविधाजनक बहुमत रहँदा मुख्यमन्त्री भट्ट ढुक्कजस्तै थिए । माओवादी केन्द्र पृष्ठभूमि भएका प्रभावशाली नेता लेखराज भट्ट ओली समूहमा लागेकाले सुदूरपश्चिम प्रदेशको राजनीतिको सबैलाई चासो छ ।
एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ । एमालेले मुख्यमन्त्रीका लागि अघि सारेका बोहरा यसअघि भौतिक योजना तथा निर्माणमन्त्री थिए । एमालेभित्र बोहरासँगै मुख्यमन्त्रीमा प्रकाश शाह र तारा लामा तामाङको पनि चर्चा छ । शाह माओवादीसँग एकता हुनुअघि एमालेको संसदीय दलका नेता थिए । उनी अहिले आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । तामाङ एमालेका प्रमुख हुन् ।
एमाले–माओवादी एकता भंग भएसँगै भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् । प्रदेश सरकार सञ्चालनका लागि २७ जना सांसद आवश्यक पर्छ ।
प्रदेशसभामा एमालेमा ७ जना समानुपातिक सांसद छन् । तीमध्ये ६ जना माधवकुमार नेपाल पक्षमा छन् भने १ जना ओली पक्षमा छन् । समानुपातिक सांसदलाई हटाएर भए पनि सरकार गठन गर्ने एमाले ओली समूहको गृहकार्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।