२५७५ बिन्दुमा पुग्यो नेप्से

साताको तेस्रो दिन सेयर बजारमा एक प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । हिजो (सोमबार) सामान्य अंकले घटेको नेप्सेमा आज (मंगलबार) १.२६ प्रतिशतको वृद्धि भएको हो । 

अघिल्लो दिन ५ अंकले घटेर बन्द भएको बजार यस दिन भने ३२.१५ अंकले बढेको छ । यससँगै मंगलबार अन्तिम कारोबार हुँदै २५७५.६७ बिन्दुमा पुगी बजार बन्द भएको नेप्सेले देखाएको हो ।

बजारमा ठूला तथा राम्रा कम्पनीको मापन हुने सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले वृद्धि भएको छ । मंगलबार ६.१९ ले वृद्धि भई सेन्सेटिभ इन्डेक्स ४५६.११ बिन्दुमा पुगेको छ । सोमबार भने यो बिन्दु घटेर ४४९.९२ बिन्दुमा झरेको थियो । समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेसँगै आज कारोबार रकममा समेत सुधार भएको छ ।

सोमबार २०९ कम्पनीको ६४ हजार ५१५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री भएको थियो । जब कि मंगलबार अर्थात् आज २०९ वटा कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर कुल ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ ।

यस दिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । उक्त समूहको सूचक ४.१४ प्रतिशतले बढेको छ । त्यसैगरी माइक्रोफाइनान्स र इन्स्योरेन्स कम्पनीमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । मंगलबार माइक्रोफाइनान्स उपसमूहको सूचक ३.२ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा उपसमूहको सूचक पनि ३.०८ प्रतिशतले बढेको छ । 



सेयर बजार विश्लेषकले चाँडै नै बजार २६०० बिन्दुभन्दा माथि पुग्ने अनुमान गरेका छन् । प्राविधिक रूपमा हेर्दा बजारले २६०० देखि २७०० बिन्दु सम्मको उचाइ लिन सक्ने एक विश्लेषकको ठम्याइ छ । 

बजारको इतिहास हेर्दा ३ देखि ४ महिनाको बीचमा २० प्रतिशत सम्म करेक्सन आउने र त्यसपछि बजार पुनः उकालो लाग्ने विश्लेषकहरूले औंल्याएका छन् । पछिल्लो समय भने बजारमा ठूलो करेक्सन नआएरै यो उचाइमा पुगेकाले २६/२७०० बिन्दु पार गरेपछि केही करेक्सन आउन सक्ने उनीहरू बताउँछन् । 



छ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

मंगलबार कारोबारमा आएकामध्ये ५ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा तीनवटा निर्जीवन बिमा कम्पनी र तीनवटा माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

वोमी माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने सानिमा जनरल इन्स्योरेन्सको ९.९७ प्रतिशत, जनरल इन्स्योरेन्सको ९.९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.९२ प्रतिशत, समिट लघुवित्तको ९.५६ प्रतिशत र स्वाभिमान लघुवित्तको ९.४७ प्रतिशतले मूल्य बढेको छ ।

त्यस्तै, युनाइटेड इदि मर्दिको सेयरमूल्य सबैभन्दा धेरै ५.३३ प्रतिशतले घटेको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २.३१ प्रतिशत, रिडी हाइड्रोपावरको १.९१ प्रतिशत, पाँचथर पावरको १.७५ प्रतिशत र गुडविल फाइनान्सको १.५६ प्रतिशतले मूल्य घटेको छ ।

  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १६:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया