मेलम्चीको पानीले ४८ प्रतिशत मात्रै माग पूरा गर्ने
दैनिक माग ३५ करोड लिटर, तर आपूर्ति १७ करोड लिटर मात्रै

मेलम्ची खानेपानी आयोजनाको सफलताले पानीको अभावले काकाकुलको अवस्था भोगिरहेका काठमाडौंवासी मात्रै होइन, सिंगो देशलाई नै हर्षित बनाएको छ । बहुप्रतीक्षित मेलम्चीको पानी चैत १५ गतेदेखि परीक्षणका रुपमा उपत्यकावासीको घर–घरमा पुगेको छ । यद्यपि, मेलम्चीको पानीले उपत्यकावासीको ४८ प्रतिशत मात्रै माग पूरा गर्ने देखिन्छ ।

हाल उपत्यकामा दैनिक ३५ करोड लिटर पानी आवश्यक छ । तर, मेलम्ची आएपछि दैनिक १७ करोड लिटर मात्रै पानी वितरण हुने खानेपानी मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार, बिहान, दिउँसो तथा राति विभिन्न स्थानमा अलग–अलग समयमा गरी दैनिक १७ करोड लिटर पानी वितरण हुने भएको हो । मेलम्ची खानेपानी विकास समितिको एक अध्ययनअनुसार हाल उपत्यकामा दैनिक ३५ करोडदेखि ४० करोड लिटरसम्म खानेपानीको माग रहेको छ । 

यस्तै, काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको पानीमध्ये मेलम्चीको पानीको हिस्सा ९० प्रतिशतसम्म पुग्ने भएको छ । दैनिक १७ करोड लिटर पानी वितरण हुने भए पनि त्यसले उपत्यकाका करिब ९० प्रतिशत क्षेत्र समेट्ने भएको हो । सहरी जनसंख्या बढेसँगै उपत्यकामा खानेपानीको माग पनि चुलिएकोमा मेलम्चीको पानी आएपछि आपूर्ति सहज हुने देखिएको छ ।

अहिलेसम्म काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सुन्दरीजल, डिप ट्युबवेल, विष्णुमती, शिवपुरीजस्ता आन्तरिक स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको थियो । तर, चैत १५ गतेदेखि औपचारिक रुपमा नै मेलम्चीको पानी परीक्षणका लागि वितरण गरिएको छ । 

त्यस्तै, कम्पनीको वितरण लाइनमा केही समयपछि नै मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर आपूर्ति हुने भएको छ । आइतबार काठमाडौंको महांकालचौरबाट दैनिक ४ करोड लिटर पानी वितरण सुरु गरिएको र केही समयमै पूर्ण क्षमतामा पानी आउन थालेपछि पानीको अर्को स्रोत डिप ट्युबवेल बन्द गरिने बताइएको छ ।

पछिल्लो समय केयुकेएलले डिप ट्युबवेलबाट पानीको आपूर्ति गरिरहेको छ । कम्पनीले मेलम्चीको पानी आइसकेपछि डिप ट्युबवेल बिस्तारै बन्द गर्ने तयारी गरेको एक अधिकारीले जनाएका छन् । हाल उपत्यकाका विभिन्न स्थानमा गरी करिब ५० डिप ट्युबवेल सञ्चालनमा छन् । यी ट्युबवेलमा काम गर्ने कर्मचारीलाई अबको वितरण संरचना तथा अन्यत्र पनि खटाउने तयारी भएको ती अधिकारीले बताए । अहिले नै डिप ट्युबवेल बन्द भइनसकेकाले त्यसको पानी पनि आइरहेको छ ।



बूढानीलकण्ठ, बाँसबारी क्षेत्रमा विष्णुुमतीको मुहानबाट पानी आउँछ । फर्पिङ, गोदावरी, चापागाउँमा पनि आन्तरिक मुहानबाटै पानीको भरथेग हुँदै आएको छ । यस्तै, भक्तपुरमा बोडेको पानी छ । बोडेको पानी जडीबुटी हुँदै मीनभवनको पानी ट्यांकीसम्म आउँछ । आगामी दिनमा मेलम्चीको पानी आएपछि बोडेको सिस्टमलाई सोही स्थानबाटै बन्द गरेर भक्तपुर क्षेत्रमै वितरण गरिने तयारी छ ।

आन्तरिक मुहान, सुन्दरी जल, डिप ट्युबवेलबाट पानीको भरथेग भइरहेकोमा मेलम्चीको पानी थपिएको हो । अहिले उपत्यकाका भक्तपुर, आरुबारी, बालाजु, बाँसबारी, कीर्तिपुरलगायत १४ स्थानमा करोडौँ लिटर क्षमताका पानी ट्यांकी छन् । त्यहीँबाट मेलम्चीको पानी वितरण हुने गरेको छ । हाल पुराना पानीपोखरीमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइनमार्फत पानी दिइने भएको छ । यस्तै, आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइन परीक्षण गरेर पानी थप्दै जाने योजना छ ।



सोही योजनाअन्तर्गत पहिलो चरणमा आइतबार दिनभर ४ करोड लिटर पानी महांकाल चौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीमा जम्मा गरिएको हो । आइतबार नै खोलिएका भल्भहरुबाट देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोर्ट हाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धारामा पानी वितरण सुरु गरिएको छ । यस्तै, दोस्रो चरणमा मंगलबारदेखि बालाजुस्थित पानी पोखरीमा समेत ६ करोेड ५० लाख लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जस्थित पानीपोखरीमा समेत गरी ८ करोड ५० लाख लिटर पानी वितरण हुनेछ । यो कार्य एक हप्ताभित्र गरिसक्ने तयारी केयुकेएलको छ । 

सुन्दरीजलको दोस्रो प्लान्टबाट आउने थप ८ करोड ५० लाख लिटर पानी भने चौथो चरणमा अन्य स्थानमा वितरण हुनेछ । केयुकेएलको समयतालिकाअनुसार चौथो चरणमा कीर्तिपुर, ठिमी, भक्तपुरस्थित पोखरीको समेत गरी चैत अन्तिमसम्ममा कुल १७ करोड लिटर पानी जम्मा हुनेछ । 

ती पोखरीबाट काठमाडौं उपत्यकाका चक्रपथभित्र र आसपासका क्षेत्रमा पानी वितरण गरिने योजना रहेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत ई. मिलनकुमार शाक्यले जानकारी दिए । केयुकेएलबाट वितरण हुने पानीको परिमाणका आधारमा वितरण तालिका तयार गरी सकभर दैनिक वा नभए दिन बिराएर वितरण गरिने शाक्यले बताए । 

त्यसको जानकारी कम्पनीले सम्बन्धित शाखा कार्यालयको फेसबुक, सूचना र जनसम्पर्क इकाइमार्फत उपलब्ध गराउने भएको छ । साथै कहीँकतै पानी चुहावट, पानी नआएमा र अन्य कुनै समस्या भएमा केयुकेएलको एप, इमेल तथा एसएमएसमार्फत जानकारी दिन सकिनेछ । 

  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १६:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया