कर्णालीका दुई स्थानीय तहका विद्यालय निरन्तर सञ्चालनमा

वातावरणीय प्रभावका कारण देशभरका विद्यालय चार दिनसम्म बन्द गर्ने सरकारले निर्णय कर्णाली प्रदेशका दुईवटा स्थानीय तहले कार्यान्वन नगर्ने भएका छन् । सल्यानको दार्मा गाउँपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले निरन्तर विद्यालय सञ्चालन गरेका छन् । 

दार्मा गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र वातावरणीय असहजता नभएको भन्दै विद्यालय निरन्तर गर्ने बताएको हो । शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘गाउँपालिकामा वातावरणीय असर सिर्जना भएको छैन, आगामी जेठ महिनामा सञ्चालन हुने वार्षिक परीक्षालाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुँदासम्म विद्यालय नियमित सञ्चालन हुनेछन् ।’

कोरोना महामारीले लामो समयपछि मात्र विद्यार्थीहरूको पठनपाठन सञ्चालन भएको र वातावरणीय असर नदेखिएको भन्दै सोमबार बसेको कार्यपालिका बैठकले विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए ।

यता रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि आफ्नो पालिकाभित्र वातावरणीय असहजता नभएको भन्दै नियमित विद्यालय सञ्चालन गर्ने बताएको छ । मंगलबार पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खालको वातावरणीय असहजता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो ।

‘कोभिड–१९ महामारीका कारण लामो समय विद्यालय बन्द रहेको र राष्ट्रपति रनिङ सिल्ड तथा चौथो नगरप्रमुख कप खेलकुद प्रतियोगिता सञ्चालन अवधिमा समेत विद्यालय बन्द रहेका कारण यस नगरपालिकाका सम्पूर्ण शिक्षण संस्थाहरूमा नियमित पठनपाठन गराउन निर्देशानुसार सूचित गरिएको छ,’ शिक्षा शाखाले जारी गरेको सूचनामा भनिएको छ ।





  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १७:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया