दलको बैठकमा जान्छौँ तर चुप बस्दैनौँ : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेश एमाले संसदीय दलको बैठक बुधबार एक बजे काठमाडौंमा बस्ने भएको छ । मुख्यमन्त्री तथा एमाले प्रदेश सभा संसदीय दलका नेता डोरमणि पौडेलले बैठक बोलाएका हुन् । 

बैठकमा नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन् । नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आज बोलाएको दलको बैठकमा सहभागी हुने बताइन् । 
उनले अविश्वासको प्रस्ताव फिर्ता लिइसकेकाले अहिले दल पनि एक भइसकेको अवस्थामा बैठकमा जाने बताएकी हुन् ।

प्रतिकारको तयारी 

दलको बैठकमा गएर आफूहरू मौन नबस्ने नेतृ शाक्यले बताएकी छन् । उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलको कुरा सुन्न दलको बैठकमा जान लागेका होइनौं, आफ्नो कुरा राख्न, सरकारले गरेको गल्ती कमी कमजोरी औंल्याउन जाने हो ।’

यसअघि सभामुखले खेलेको भूमिकाको स्मरण गर्दै उनले अहिले डोरमणि पौडेलको सरकार बलियो देखिए तापनि गलत कुराको चर्को आलोचना गर्ने तयारी गरेको बताइन् । विगतमा पनि पार्टी नफुट्दा सरकारलाई निरन्तर सुझाव र सल्लाह दिइरहेको भन्दै उनले आफ्नो पक्षको कुरा नसुनेको गुनासो गरिन् । 

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर बुझाउँदा मुख्यमन्त्री पौडेलले महत्त्वपूर्ण योजनाको रकमान्तर गरेर आफू अनुकूल प्रदेश सभा सदस्यलाई दिएको बुझिएको भन्दै सो विषयमा आजको बैठकमा कुरा उठाउने उनले बताइन् । 



संसदीय दलमा एक, पार्टी समानान्तर

बागमती प्रदेश संसदीय दलमा एक भए तापनि एमालेले समानान्तर कमिटी प्रदेश तहमा बनाउने उनले बताएकी छन् । आफ्ना पक्षलाई सबै क्षेत्रमा निषेध गरेको भन्दै उनले दलमा एक भए तापनि पार्टी कमिटीहरू भने एक नहुन सक्ने बताएकी छन् । 



‘हाम्रा पक्षका नेताहरूलाई निषेध गरिएको छ, एकात्मक शैलीले सबै आफ्नो मान्छे मात्रै कमिटीमा राखिएको छ त्यसकारण हामीले प्रदेश कमिटी पनि समानान्तर बनाउने छौं’, उनले भनिन्, ‘दलमा भने एक भएर अगाडि बढ्ने र गलत कुरालाई आलोचना गर्ने तयारी गरेका छौं ।’

बागमती  प्रदेश सभामा ११० मध्ये एमालेका मात्रै ५८ जना सांसद छन् । एमालेको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई हराएका ओली पक्षका मुख्यमन्त्री डोरमणि पौडेलको पक्षमा साविक एमालेमा बलियो माहोल छ । माधव पक्षका सांसदहरूलाई माओवादीका सांसदहरूले साथ दिँदा पनि अर्को सरकार नबन्ने देखिन्छ । 

एमाले फुटेमा जसको नेतृत्वमा सरकार बने पनि कांग्रेसको साथ चाहिने देखिन्छ । एमालेका तर्फबाट सभामुख बाहेक ५६ सांसदमध्ये ओली पक्षका सांसदहरू ३४ जनाको हाराहारीमा छन् । साविकको नेकपा एमालेको बागमती प्रदेशमा ५७ प्रदेश सभा सदस्य छन् । 

एमालेले बागमती प्रदेशको समानुपातिक तर्फ १६ सिट र प्रत्यक्ष तर्फ ४२ मतसहित सुविधाको बहुमत पाएको थियो । तर, एमालेबाट विजयी भएका एक प्रदेश सभा सदस्यको मृत्यु भएपछि भक्तपुरमा भएको उपनिर्वाचनमा कांग्रेसले एक सिट बढाएको थियो ।
 
एक साताअघि अविश्वासको प्रस्ताव फिर्ता

नेकपा एमालेको माधव–झलनाथ समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गत बुधबार गरेको थियो । १० पुसमा तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । एमालेको माधव–झलनाथ समूहले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेसँगै पौडेल बलियो स्थितिमा छन् ।

  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १३:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया