नेप्से पुनः २६ सय बिन्दुभन्दा माथि

करिब डेढ महिनापश्चात् नेप्से परिसूचक पुनः २६ सय विन्दुभन्दा माथि पुगेको छ । साताको चौथो कारोबारको दिन नेप्सेमा ४३ अंकभन्दा बढीको वृद्धिभई पुनः २६ सय बिन्दु पार गरेको हो ।

हिजो (मंगलबार) ३१ अंकले वृद्धि भएर २५७५.६७ बिन्दुमा बन्द भएको बजार बुधबार ४३.६३ अकंले वृद्धि भएको हो । योसँगै आज नेप्से परिसूचक २६१९.०३ बिन्दुमा पुगेको छ । यस दिन नेप्सेमा १.६८ प्रतिशतको वृद्धि भएको देखिएको छ । 

यस्तै बजारमा ठूला तथा राम्रा कम्पनीको मापन हुने सेन्सेटिभ इन्डेक्स पनि १.६४ प्रतिशतले वृद्धि भएको छ । बुधबार ७.४८ अंकले वृद्धि भई सेन्सेटिभ इन्डेक्स ४६३.५९ बिन्दुमा पुगेको छ । समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परे पनि मंगलबारको तुलनामा कारोबार रकममा भने केही कमी आएको छ ।

मंगलबार २०९ वटा कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर कुल ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँमा खरिद–बिक्री भएको थियो । तर बुधबार २०९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यस दिन सिस्टममा गडबढीका बाबजुद पनि कारोबार रकम ६ अर्ब माथि पुगेको छ । बुधबार टिएमएसमा समस्या आएर लगानीकर्ताले राम्रोसँग कारोबार गर्न नपाए पनि कारोबार रकम भने उच्च नै देखिन्छ । बुधबार टिएमएसमा समस्या आएपछि लगानीकर्ताले कारोबारमा हैरानी समेत खेप्नुपर्‍यो । नेप्सेले टिएमएसको समस्या समाधान गर्दै कारोबार समय एक घण्टा अतिरिक्त थपेको थियो । सधैं बजार बढ्दै जाँदा टिएमएसमा समस्या आउने गुनासो लगानीकर्ताले गर्दै आएका छन् ।

यस दिन व्यापार उपसमूहबाहेक कारोबारमा आएका १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । बुधबार बैंकिङ र निर्जीवन बिमा उपसमूहको सूचकमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ ।



आज पाँच कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यस दिन महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको छ ।

त्यस्तै रैराङ हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल (तराई) को ३.१९ प्रतिशत, युनाइटेड इदि मर्दिको ३.१३ प्रतिशत, हिमालयन ऊर्जाको २.५९ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनको २.४० प्रतिशतले मूल्य घटेको छ ।



  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १७:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया