युवकको घाँटी रेटेर हत्या गरेको आरोपमा मामा-भान्जा पक्राउ
फरकधार / १८ चैत, २०७७

सर्लाहीमा युवकको घाँटी रेटेर हत्या गरेको आरोपमा मामा–भान्जालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नगरपालिका–१० का २५ वर्षीय सुशीलकुमार यादवको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका मामा र भान्जालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–१० का ४५ वर्षीय विमलकान्त पाठक र भारत विहार राज्य जिल्ला सितामढी थाना बथनाहा मझौलियास्टेट–१० का ४१ वर्षीय अशोक झा रहेका छन् ।

चैत १२ गते बुधबारको दिन मृतक सुशीलको मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीमा रहेको नागेश्वर रायको खेतमा टाउको काटेको अवस्थामा शव फेला परेको थियो । सोही दिन प्रहरीले मामा विमलेन्द्र पाठक र भान्जा अशोक झालाई पक्राउ गरेको थियो ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मृतक सुशील र हत्या गर्ने विमलकान्त पाठकबीच पहिला पनि विवाद भएको बताए । करिब ६ महिना पहिला विमलकान्त पाठकको घरमा चोरी भएको थियो । उक्त चोरी सुशीलकुमार यादवले नै गरेको र उनीहरुबीच पटक–पटक वादविवाद तथा झै–झगडा हुँदै आएको थियो ।

प्रहरी उपरीक्षक राठौरले भने, ‘तिनीहरुबीच पटक–पटक झैझगडा हुँदै आएको थियो । झगडा हुँदै आएका कारण सुशीलकुमार यादवले आफूलाई नै मार्न सक्छ भनी प्रतिवादी विमलकान्त पाठकले मौका मिलाई सुशीलकुमार यादवलाई मार्ने योजना बनाएको थियो ।’ 

घटनाको केही दिनपहिले पनि विमलकान्त पाठकको घरअगाडिबाट पानी तान्ने मोटर तथा जुत्ता चोरी भएको थियो । अनुसन्धानका क्रममा अभियुक्त मामा–भान्जाले सुशीलाई लागुऔषध सेवन गराई हत्या गरेको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए । उनले भने, ‘घटना भएको दिन चैत ११ गते बेलुका करिब ८ बजे विमलकान्त पाठक र निजको भान्जा अशोक झा मलंगवा नगरपालिका–१० स्थित होटलमा रक्सी, मासु र चना खाएका थिए । त्यहाँबाट निस्केपछि मृतक सुशील साइकल चढेर आउँदै गरेकोमा प्रतिवादीहरुले सुशीललाई तिमीसँग काम पनि छ, गाँजा पनि खानुपर्छ जाऊँ भनेर आफ्नो घर लगेका थिए’, उनले अगाडि भने, ‘तीनैजना विमलकान्त पाठकको घरमा करिब सवा ९ बजे पुगेर विमलकान्त र मृतक सुशीलले लागुऔषध नाइट्रोभेट ट्याब्लेट सेवन गरेका थिए । उनीहरुले पुनः तीनैजनाले गाँजा समेत सेवन गरे ।’

पक्राउ परेका मामा–भान्जाले सुशीललाई घरमा खाना खुवाएर विमलकान्तकी श्रीमतीलगायतका अन्य घर परिवारका सदस्यहरु आ–आफ्नो कोठामा सुत्न गएपछि पुनः सँगै बसी गाँजा तथा अन्य लागुऔषध सेवन गर्ने क्रममा योजना बनाएको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए ।

मामा–भान्जाले सुशीलाई लागुऔषध गाँजा तथा ट्याब्लेट सेवन गराई लठ्ठ अवस्थामा पारेर डोरीले हात खुट्टा र जिउ बाँधी मुखमा गम्छा कोचेर हतियारसहित घटनास्थलमा लगेको अनुसन्धानको क्रममा खुलेको छ ।

विमलकान्तले आफ्नो घरभन्दा करिब ४–५ सय मिटरपूर्वमा सुशीलाई लगेर अशोकले आफ्नो घुँडाको भागले सुशीलको पेट तथा छातीको भाग थिचेर राखेको र विमलकान्तले ल्याएको धारिलो हतियारले सुशीको घाँटी रेटेर हत्या गरेका थिए ।

अशोकले टाउकोको भाग घटनास्थलबाट पूर्वतर्फ फालेको र विमलकान्तले सुशीको काटेको ठाउँ घाँटीको भाग तथा शरीरको भागमा बालुवा तथा माटो लगाएको र टाउको फ्याँकेको स्थानमा गई माटो तथा बालुवाले छोपेर घटनामा प्रयोग गरेको हतियारमा लागेको रगतलाई घटनास्थल वरिपरि रहेको झारपातले पुछेर हतियार र डोरी आफ्नो घरमा बालुवा तथा माटोले रगेटी सफा गरेर राखेका थिए । प्रहरीले वारदातमा प्रयोग गरेको फलामको धारिलो हतियार (मार हान्ने) ठूलो खुकुरी र प्लाष्टिकको डोरी बरामद गरेको छ ।

पक्राउ परेकामध्ये मामा विमलकान्त ०६९ साल भदौ १२ गते लागुऔषध नाइट्रोभेट ९ ट्याब्लेट र कोरेक्स १ बोतलसहित पक्राउ परेका थिए । अनुसन्धानपश्चात् उनी ०६९ असोज १४ गते २ हजार ५ सय रुपैयाँ धरौटी तिरी तारिखमा छुटेका थिए ।

  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १९:४७:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया