नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश र लोकतन्त्रलाई जोखिममा पार्ने का भएको बताएका छन् उनले लोकतान्त्रिक पहिचान र संस्कार मेटाउने काम पनि भइरहेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्य तिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्।
अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने एकिन अवस्थामा नरहेको बताए। 'देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ', उनले भने, 'लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ।'
अहिलेका शासकहरुले लोकतान्त्रिक आन्दोलनलाई खाडलमा हाल्न खोजिरहेको उनले बताए। पौडेलले केपी ओली नेतृत्वको सरकारप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन्।
देशमा लोकतन्त्र जोगाइराख्न अहिलेको सरकारको विकल्प खोज्नुपर्ने धारणा पौडेलले राखे। अहिलेको सरकारले लोकतन्त्रलाई मात्रै नभइ नेपाली पहिचान र संस्कृतिलाई सखाप पार्न खोजिरहेको आरोप पौडेलले लगाए।
अहिले देशभर चिन्ता छाएका सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताए। 'जोशी एक योग्य र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पूर्ति कसरी गर्ने?', उनले सोधे।
कांग्रेसले एक कुशल नेता गुमाउनु परेकामा दुःख लागेको नेता पौडेलले बताए। नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताउँदै उनले उनको समर्पणलाई पूरा गर्नु कांग्रेसको जिम्मेवारी रहेको उल्लेख गरे।
कार्यक्रमपछि कांग्रेसका वरिष्ठ नेता पौडेलसहितको उपस्थितिमा जोशीको अस्तु उनका दाजु राजुराज जोशीले देवघाटको वेणी सङ्गममा विसर्जन गरे।
जोशीको चैत १३ गते ५७ वर्षको उमेरमा मष्तिकघातका कारण नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। स्वर्गीय जोशीकी आमाको इच्छा पूरा गर्न देवघाटमा अस्तु विसर्जन गर्न आएको नेता पौडेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।