खनाल-नेपाल समूहको स्थायी समिति बस्दै, आगामी रणनीतिबारे छलफल हुने

सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक शुक्रबार ११ बजे सुरु हुने नेपाल समूहका नेता युवराज ज्ञवालीले जानकारी दिए । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले धमाधम नेपाल समूहका नेताहरुलाई कारबाही सुरु गरेपछि अबको रणनीतिबारे छलफल गर्नका लागि बैठक बस्ने भएको हो । अब कसरी अघि बढ्ने भन्ने आगामी रणनीतिबारे छलफल गर्नका लागि बैठक बोलाइएको उनले जानकारी दिए । 

एमाले ओेली समूहले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टी सदस्यता बाटै निलम्बन गरेको छ । निलम्बन अघि उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो । चारै जना नेताहरुको स्पष्टिकरण चित्तबुझ्दो नभएको र सुध्रनका लागि यो अन्तिम मौका भएको भन्दै ओली समूहले कारबाही गरेको जनाएको छ ।

गत चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो । ओलीले धमाधम कारबाहीको श्रृखंला अघि बढाएपछि देशव्यापी समानान्तर कमिटीहरु गठनको प्रक्रिया नेपाल समूहले अघि सारेको छ । 

समूहले यसअघि अखिल नेपाल महिला संघ (अनेम संघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतका समानान्तर कमिटी बनाइसकेको छ । यसैबीच बिहीबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रदेखि नै समानान्तर कमिटी बनाउने घोषणा पनि गरिसकेका छन् । 

लगत्तै, आज बस्न लागेको बैठकले समानान्तर कमिटी विस्तार, ओलीविरुद्ध लाग्ने रणनीतिक योजना लगायतका विषयमा छलफल गर्ने एजेन्डा तय भएको बुझिएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार ११:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया