पाँचौं संस्करणको आबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएका महिलातर्फका खेलमा ३ वटै विभागीय टोली नेपाल एपिएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबारको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
एकतर्फी बनेको खेलमा एपिएफले पहिलो सेट २५-३, दोस्रो सेट २५-९ र तेस्रो सेट २५-५ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
ढोरपाटनले लगातार दोस्रो पराजय बेहोरेको छ । ऊ पहिलो खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबसँग ३-० सोझो सेटमै पराजित भएको थियो ।
आजकै दोस्रो खेलमा नेपाल पुलिस क्लबले भरतपुर मेट्रो खेलकुद परिषदमाथि ३-० को सोझो सेटको जित हासिल गर्यो ।
एकतर्फी बनेको खेलमा पुलिसले पहिलो सेट २५-४, दोस्रो सेट २५-८ र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गर्दा भरतपुरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आजै भएको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबमाथि ३-२ सेटको जित हात पार्यो ।
पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५-२० ले गुमाएको थियो । तेस्रो सेट आर्मीले २५-२३ र चौथो सेट न्यु डायमन्डले २५-१५ ले जितेपछि खेलको निर्णय पाँचौं तथा अन्तिम सेटबाट भएको हो ।
पाँचौं सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै आर्मीले सुखद सुरुवात गरेको हो ।
प्रतियोगितामा पहिलो पराजय बेहोरेको न्यु डायमन्डले पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।