डा. मल्लिक, जो सरकारसँग प्रश्न गर्न एक्लै माइतीघरमा उभिएका छन्

एप्रोन लगाएको एउटा चिकित्सक कहाँ हुनुपर्छ ? 

यो प्रश्न जो सुकैलाई सोध्नुस्, जवाफ आउँछ– अस्पतालमा। अझ अस्पताल र मेडिकल भाषा बुझ्नेहरुले त पक्कै भन्नेछन्– ओटीमा अर्थात् अप्रेसन थिएटरमा। 

तर, यही प्रश्न आजभोलि हरेक साँझ डा. अजित मल्लिकलाई सोध्नुहोस्। उनी भन्नेछन्– माइतीघरमा।
डा. मल्लिक अरु जस्तै अप्रेसन थिएटर वा ओपिडीमा बिरामी जाँचिरहेका पनि हुनसक्छन्, उनीहरुसँग कुराकानी गरिरहेका हुनसक्छन्, विभिन्न रोगका लागि सुझाव र औषधीका प्रेस्क्रिप्सन लेखिरहेका पनि नहुने होइनन्।

समय अहिले थोरै बदलिएको छ, वर्षायामको मौसमजस्तै। डा. मल्लिक अहिले आफूमाथि कालो बादल मडारिरहेको आभास गरिरहेका छन्। र, उनी यसलाई हटाउन प्रयासमा छन्। त्यो पनि प्लेकार्ड लिएर, माइतीघरमा।

आफ्नो मागका लागि प्लेकार्ड बोकेर एप्रोन लगाएर माइतीघर चोकमा उभिएका डा. मल्लिकसँग सँगै छ, बिरामीको रिपोर्ट कार्ड पनि। उनीसँग छ आफूले जाँच गर्नु पर्ने बिरामीको फेहरिस्त र यसअघिका रिपोर्टहरु पनि। आफूले गरेको कामको भुक्तानी माग्न माइतीघर चोकमा उभिएका डा. मल्लिक त्यहाँबाट अत्यावश्यक काम पर्नेवित्तिकै फेरि पुगिहाल्छन् सिभिल अस्पताल।



विश्व अहिले ठूलो महामारीबाट गुज्रिइरहेको छ, कोरोनाभाइरसको प्रकोप नेपालमा पनि निकै ठूलो देखिएको छ। यही कोरोनाभाइरससँग लड्ने फ्रन्टलाइनर्स हुन्, डा. मल्लिक। नेपाल सरकारले मेडिकल पर्सनलहरुलाई कोरोनाकालमा अस्पतालमा खटिए वापत विशेष भत्ता दिने घोषणा गरेको थियो। कतिपय चिकित्सकले यो भत्ता पाए पनि। तर, डा. मल्लिकले पाएनन्।
डा. मल्लिकले कोरोना भत्ता पाएनन्।

कोरोनाको सबैभन्दा बढी प्रभाव भएको समयमा होस् या अहिले डा. मल्लिक नियमित आफ्नो काममा खटिइरहेका छन्। तर, आफूमाथि अन्याय भएको आभास पनि उनले गरिरहेका छन्। त्यसैले त माइतीघरमा बिरामीका रिपोर्ट र ओपिडी कार्डलाई एप्रोनको खल्तीमा मिलाएर राखेर उनले प्लेकार्ड बोकेका छन्, ‘मेरो कोभिड– १९ को भत्ता हराएको सुचना कृपया पाउने महानुभावले ९८४१६८००१९ मा सम्पर्क गरिदिनुहोला, ‘सेनिटाईजर र सामाजिक दुरी कायमै छ। तर तपाईंको नियत कायम छैन।’



डा. मल्लिकले यही प्लेकार्ड माइतीघरमा आएर बोक्न थालेको अब ८ दिन भइसकेको छ। उनी सधैं बेलुकी पाँच बजेर १५ मिनेट जाँदा अब माइतीघरमा आइपुगेका हुन्छन्। अनि यही प्लेकार्ड बोकेर आफ्नो माग अगाडि सारेका छन् र प्रश्न गरेका छन्, यो सरकारको नियतमाथि।

उनले कोरोनाकालमा पनि धैर्य भएर बिरामीको सेवा गरिरहे। आफैं कोरोना संक्रमित भए, ठिक भएपछि फेरि बिरामीको सेवामा हाजिर भए। आफू संक्रमित भएका दिनबाहेक ९ महिना डा. मल्लिक नियमित कोरोना संक्रमितको उपचारमै जुटे।

देशमा कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबैले गरिरहेका हुन्छन्। 

तर, मल्लिकको प्रश्न छ– प्रशंसा गरिरहने सरकारका अधिकारीहरु किन हाम्रो भत्ताबारे मौन छन् ?
डा. मल्लिक केही समयदेखि यही प्रश्न लिएर अस्पतालको प्रशासनमा पनि पुगेका छन्। तर, त्यहाँबाट पनि उनले चित्तबुझ्दो जवाफ पाएका छैनन्।

बरु अब उनलाई माइतीघरमा प्रदर्शनमा उभिँदा प्रहरीले धम्की दिन थालेको छ– ज्यान तलमाथि होला है !
कोरोना संक्रमणपछि तलमाथि हुनसक्ने दर्जनौँ ज्यानलाई जोगाएका डा. मल्लिक र अन्य चिकित्सकसँग स्वाभाविक रुपमा एउटा यक्षप्रश्न छ– के डा. मल्लिकहरुले अब पनि सरकारको नियतमाथि प्रश्न गर्न पाउँदैनन् ?

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १५:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया