मुख्यमन्त्री पद सुरक्षित हुने भएपछि डाकियो प्रदेशसभा बैठक
फरकधार / २० चैत, २०७७

सरकारको दबाबमा सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक स्थगित गरेको बागमती प्रदेशसभा बैठक २४ गते बस्ने भएको छ ।

सूचना टाँसेर अनिश्चित कालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक चैत २४ बोलाइएको छ ।  प्रदेशसभा सचिवालयले  सूचना निकाली चैत २४ गते मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको जानकारी दिएको हो । 

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद आएपछि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । 

संसद बन्यो बन्धक : प्रदेश सभा सदस्यहरूबाट सामाजिक सञ्जालमा सरकारको ध्यानाकर्षण

लामो समयपछि गत फागुन ५ गते बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको थियो । अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको थियो।

मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध आएको अविश्वास प्रस्तावमाथि छलफल नगराउन बैठक स्थगित गरिएको थियो । कहिले राति अबेर त कहिले बिहान झिसमिसमै सूचना निकालेर बैठक स्थगित भएको जानकारी सभामुख सानुकुमार श्रेष्ठले जारी गर्दै आएका थिए । 

सभामुखको यो रवैयाप्रति प्रदेशसभा सदस्यहरु रुष्ट थिए । 

 

सर्वाेच्च अदालतको फैसलाले एमाले र माओवादीलाई अलग–अलग पार्टीका रुपमा स्थापित गरिदिएपछि मुख्यमन्त्री पौडेलको पद सुरक्षित भएको थियो । 

समसामयिक विषयमा प्रदेश सभाको बैठकमा छलफल गर्न नपाएको भन्दै प्रदेशसभा सदस्यहरूले गुनासो गर्दै आएका थिए ।

प्रदेश सभा सदस्यहरूले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानकर्षण गराउन थालेका थिए । संसदलाई छलफल केन्द्र र नीति निर्माणको थलो नभई बन्धक बनाएर राखेको प्रदेश सभा सदस्यले आरोप लगाउँदै आएका थिए । 

२४ गते बस्ने प्रदेश सभा बैठकमा छलफल गर्ने विषयबारे सूचनामा उल्लेख गरिएको छैन ।

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १५:५४:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया