काठमाडौंमा मेलम्चीको पानी : कृष्णप्रसाद भट्टराईले ३० वर्षअघि देखेको त्यो सपना
निर्माण सुरु भएको २२ वर्षपछि काठमाडौंमा आइपुग्यो

कुरा हो २०४८ सालको आमनिर्वाचनको। त्यति बेला देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति थिए कृष्णप्रसाद भट्टराई। सन्त नेताको छवि बनाएका उनी २०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उठेका थिए। 

काठमाडौंको खाल्डोमा पानीको समस्या आजको होइन, तीव्र गतिमा जनसंख्या वृद्धि हुँदै गएको यहाँ भूमिगत पानी पनि सकिने अवस्थामा पुगिसकेको छ। बढ्दो बस्ती विस्तारले भूमिगत पानी निकाल्न पनि जमिनको धेरै तलसम्मको सतह खन्नुपर्ने बाध्यता छ।

२०४८ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठेका कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधानमन्त्री भट्टराईले चुनाव प्रचारका क्रममा यहाँका बासिन्दामाझ एउटा वाचा गर्दै भने, ‘तपाईँहरूलाई मेलम्चीबाट पानी ल्याएर खुवाउँछु।'

कहाँको काठमाडौं, कहाँ नौ डाँडापारीको सिन्धुपाल्चोक! सन्त नेता भट्टराईले चुनावी भाषणमा यसरी मेलम्चीको पानी ल्याउँछु भन्दा उनकै दलका नेता पनि हाँसे। भट्टराईले आफ्नो कार्यकालमै सिन्धुपाल्चोकको मेलम्ची नदीबाट पानी ल्याएर काठमाडौंका सडक पखाल्ने घोषणा गर्दा उनलाई 'जोकर'को संज्ञा दिने कयौँ थिए। चुनावका बेला नेता जे पनि बोल्छन् भनेर सर्वसाधारण पनि पनि उनका कुरामा भरोसा गरेनन्। 

दुई चुनाव हारे 

उनले मेलम्चीको पानी ल्याएर काकाकुल काठमाडौंको प्यास मेट्ने भाषण गर्दा यहाँका मतदाताले ठट्टा गरेको सम्झिए। तत्कालीन राजा वीरेन्द्रले नै परिकल्पना गरेको भनिएको मेलम्चीको पानी काठमाडौं ल्याउने कुरालाई चुनावी नारा बनाएका भट्टराई २०४८ सालको आमनिर्वाचनमा पराजित हुन पुगे।



त्यसबेलाको निर्वाचनमा प्रतिस्पर्धी थिए तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारी। काठमाडौं क्षेत्र नम्बर १ मा उनै मदन कुमारसँग पराजित हुन पुगे सन्त नेता भट्टराई। मेलम्चीको नाराले २०४८ सालको निर्वाचनमा तत्कालीन अन्तरिम प्रधानमन्त्री भट्टराईको संसद यात्राको ढोका खोल्न सकेन। 

काठमाडौंबाट विजयी भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय सवारी दुर्घटनामा निधन भयो। एमाले महासचिव भण्डारीको निधनपछि सरकारले २०५१ सालमा काठमाडौं क्षेत्र नम्बर १ मा उपनिर्वाचन गराउने भयो। २०५१ को उपनिर्वाचनमा पनि भट्टराईले उम्मेदवारी दिए। 



तर त्यो उपनिर्वाचनमा तत्कालीन एमाले मदन पत्नी विद्यादेवी भण्डारीलाई उठाउने निर्णय लियो। हालै मात्र एमाले नेतृ रामकुमारी झाँक्रीले विद्या भण्डारीलाई सेतो साडीमा राजनीतिमा उतार्नु गलत थियो भनेर गरेको टिप्पणी त्यही उपनिर्वाचनसँग लक्षित थियो। २०४८ सालमा मदनसँग प्रतिस्पर्धामा उत्रिँदा उठाएको मेलम्चीको त्यही नारालाई विद्याविरुद्ध उपनिर्वाचन लड्दा पनि भट्टराईले अझै चर्को स्वरमा मतदातामाझ लगे। तर मेलम्चीको त्यही नाराले उनलाई फेरि चुनाव जिताउन सकेन। 

तर उनका लागि दु:खद संयोग २०४८ सालमा पति मदनसँग हारेका उनी २०५१ सालमा पत्नी विद्यासँग पनि पराजित हुन पुगे। उक्त चुनावमा भट्टराई र भण्डारी मेलम्चीलाई लिएर घोचपेच नै चल्यो। अर्कातिर विद्या सेतो साडीमा उत्रिएको भनेर गरेको टिप्पणी भट्टराईका लागि घातक भयो।

'सेतो साडी लाउँदैमा चुनाव जितिँदैन', भट्टराईले भनेका थिए। तर चाबहिलमा भएको सभामा विद्याले जवाफ दिएकी थिइन्, ‘यो सेतो साडी तिम्रो राजनीतिमा कात्रो सावित हुनेछ।' विद्याको त्यही आक्रमक भाषणले उनको पक्षमा चुनावी लहर ल्यायो र बाजी पनि उनैले मारिन्। 

काठमाडौंका मतदाताले ०४८ सालको निर्वाचनमा भट्टराईको घोषणालाई जोक नमानिदिएको भए १० वर्षअघि नै मेलम्चीको पानी काठमाडौं आइसक्ने कांग्रेस नेताहरु बताउँछन्। काठमाडौं महानगरपालिकाको बानेश्वर तथा कोटेश्वर क्षेत्र नेपाली कांग्रेसको गढ थियो। तर त्यहीँबाट उनलाई धोका भएको चर्चा अहिले पनि हुन्छ। 

सन्त नेता भट्टराईले धेरै धोका कांग्रेसबाट नै पाएका थिए।  कांग्रेसकै लागि आफ्नो जीवन अर्पण गरे तर उनलाई त्यही पार्टीका नेताले धेरै चोट दिए। कांग्रेसकै अन्तर्घातका कारण उनले काठमाडौंका दुवै चुनाव हारे ।

एकपटक पनि जननिर्वाचित प्रधानमन्त्री बन्‍न नसक्ने अवस्था आएपछि उनी २०५६ मा चुनाव लड्न पर्सा पुगे। पर्सामा पनि भट्टराईले मेलम्ची खानेपानी आयोजनाको कुरा उठाए। पर्साबासीलाई मेलम्ची सरोकारको विषय थिएन, उनीहरुले काठमाडौंबासीले जस्तो धोका दिएनन्, चुनाव जिताइदिए।

अनि निर्माण सुरु 

अर्बौं रुपैयाँ खर्च भइसकेको यो परियोजनाको पानी काठमाडौं खस्दासम्म दर्जनौँ प्रधानमन्त्री फेरिए। राजतन्त्र रहँदै २०५६ सालमा निर्माण सुरु भएको यो परियोजना गणतन्त्र आएको पनि दशकपछि काठमाडौंबासीले बल्ल मेलम्चीको पानी खान पाएका छन्। 

२७ किलोमिटर लामो सुरुङ निर्माण गरी खानेपानी ल्याउनु नेपालजस्तो गरिब र प्रविधि नभएको मुलुकका लागि कम चुनौतीपूर्ण थिए। त्यहीकारण सन्त नेता भट्टराईले मेलम्चीबाट पानी ल्याउँछु भन्दा सर्वसाधारणले हाँसोको विषय बनाउनु अनौठो थिएन।

सात वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ ०५६ मा निर्माण थालिएको मेलम्ची पूरा हुन पूरै २२ वर्ष  लागेको छ। मेलम्ची खानेपानी आयोजनाको पहिलो सपना जनतामाझ बाँड्ने कृष्णप्रसाद भट्टराई हुन्। अहिले कांग्रेसले उनको फोटोसहितको ब्यानर चोक चोकमा टाँगेर जस लिन खोजेको छ।

 तर उनै सन्त नेताले त्यही कांग्रेसबाट अनेक अपमान सहनुपर्यो। आफ्नै पार्टीले सरकारबाट गलहत्याएर निकाल्ने काम गर्यो। कृष्णप्रसादको २०६७ सालमा निधन भएको थियो। उनको निधनको १० वर्षपछि काठमाडौंमा पानी आइपुग्यो। 

अहिले आएर नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी ल्याउँछु भनेर गरेको भाषणको अडियो र भिडियो सार्वजनिक गरेर जस लिन खोजेको छ। ‘अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी’, कांग्रेसले बिहीबार सार्वजनिक गरेको भिडियोमा भट्टराईले भनेको सुन्‍न सकिन्छ। अडियो भिडियोसहित विज्ञप्ति निकालेरै प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णप्रसादको सपना पूरा भएको भन्दै बधाई दिएका छन् ।

यो संयोग 

२०५१ सालको उपनिर्वाचनमा विद्यादेवी भण्डारीले सन्त नेतालाई हराएकी थिइन्। दुई पटक लगातार चुनाव हारेका उनले २०५६ मा मात्रै जित निकाले, त्यही साल मेलम्चीको काम पनि अघि बढ्यो। 

संयोग कस्तो भयो भने मेलम्चीको सपना पहिलो पटक बाँड्ने उनै सन्त नेतालाई २०५१ सालको उपनिर्वाचनमा हराएकी उनै विद्या भण्डारीले राष्ट्रपतिको हैसियतमा शुक्रबारदेखि काठमाडौंमा पानी वितरणको औपचारिक सुरुवात गरेकी छन्। 

कृष्णप्रसाद भट्टराईले देखेको मेलम्ची सपना पूरा भएको दिन शुक्रबार भृकुटीमण्डपमा राष्ट्रपतिले पानी वितरण कार्यको औपचारिक उद्घाटन गरेकी हुन्। आफैंले हराएका नेताले देखेको सपना पूरा हुने कार्यक्रमकी प्रमुख अतिथि थिइन् राष्ट्रपति भण्डारी।

ओली आएपछि तीव्रता

२०७४ को निर्वाचनमा करिब दुईतिहाइ मत पाएको एमाले-माओवादी गठबन्धन २०७५ जेठ ३ मा एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो। ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि यो  आयोजनाले तीव्रता पायो। ओली क्याबिनेटमा खानेपानी मन्त्री रहेकी बीना मगरले यो आयोजनालाई आफ्नै पहलमा तीव्रताका साथ अघि बढाएको बताउने गरेकी छन्। 

तर ओलीले बीना सरकारबाट बिदा नभएको भए काठमाडौंमा पानी आउनै नसक्ने तर्क गरिरहेका छन्। संयोग कस्तो भयो भने पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि बीना सरकारबाट बाहिरिइन्। मेलम्चीको पानी काठमाडौं झर्न लागेको अवस्थामा मन्त्री बने माओवादीका प्रचण्ड छाडेर एमालेको ओलीतिर आएका मणि थापा। 

उनै थापा विभागीय मन्त्री भएका बेला काठमाडौंमा मेलम्चीको पानी झरेको छ। तर यो पानी काठमाडौंमा झार्न आफूले ठूलो योगदान गरेको दाबी बीना मगरले गरिरहेकी छन्। मेलम्ची काठमाडौंमा आएर बागमतीमा बगिसकेपछि प्रधानमन्त्री ओलीले अब याङ्ग्री र लार्के खोलाको पनि पानी काठमाडौं ल्याउने वाचा गरेका छन्। 

कांग्रेसको आपत्ति 

गत चैत ६ को प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाका अवधारणाकार कृष्णप्रसाद भट्टराईको नाम नलिएको भन्दै सरकारसँग आपत्ति प्रकट गर्‍यो।

प्रतिनिधि सभा बैठकमा दलीय आधारमा अधिवेशन आव्हानको मन्तव्य राख्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले मेलम्ची ल्याएको भन्‍ने सरकारले कृष्णप्रसाद भट्टराईको नाम नलिएको भन्दै आपत्ति जनाएका थिए। 

‘मेलम्चीमा कृष्णप्रसाद भट्टराईको नाम लिन कञ्जुस्याइँ ? किसुनजी यो सदनको पहिलो सभामुख र २०४७ सालको जनआन्दोलनको कमाण्डर हो नि', उनले भनेका थिए, 'उहाँले मेलम्ची ल्याउने कुरा गर्दा टुँडिखेलमा हाँसो गर्नेहरूले अहिले हामीले मेलम्ची ल्याएको भन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउँदैनन् ?’ 

नेता खाणले जसको पालामा शुरू भएको हो, उसलाई धन्यवाद दिनुपर्ने बताउँदै दिउँसै रात पार्ने काम नगर्न सरकारलाई आग्रह गरे। तर शुक्रबार मेलम्चीको पानी वितरण हुँदा पनि प्रधानमन्त्रीसहित सरकारी अधिकारीले उनै सन्त नेताको नाम सम्झिएनन्। 

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १७:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया