यसरी बन्दैछ देशभर नेपाल-खनाल पक्षको छुट्टै एमाले !

सर्वोच्च अदालतको फैसलाले नेकपा एमालेका पुनःस्थापित गरेपछि एमालेमै फर्किने निर्णय गरेका माधवकुमार नेपाल र झलनाथ खनाल समूह समानान्तर पार्टी निर्माणको प्रयासमा लागेका छन् ।

नेकपा रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीविरुद्ध संघर्ष गर्दै आएका थिए। एमाले पुन:स्थापित भएपछि पनि उनीहरुले ओलीविरुद्धको अभियान जारी राखेका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल-खनाल पक्षसँग मिलेर जाने भन्दा पेलेरै जाने रणनीति लिएका छन्। गुटगत व्यवहार वा समानान्तर गतिविधि सह्य नहुने भन्दै आएका ओलीले नेपाल-खनाल पक्षका कुनैपनि कुरा सुन्न तयार देखिँदैनन्।

आफ्ना सबै निर्णय मान्नु पर्ने सर्त अघि सारेका छन्। ओलीका एकलौटी निर्णयमा सहमत नहुने र २०७५ जेठ २ गतेको अवस्थाबाट संगठन सञ्चालन गर्नुपर्ने माग नेपाल पक्षको छ ।

दुवै पक्ष आ-आफ्ना अडानमा यथावत रहँदा समस्या समाधान हुने भन्दा थप जटिलता तर्फ अघि बढिरहेको छ।

गत चैत ७ गते बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।



पार्टीविरोधी गतिविधि गरेको भन्दै एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्र पठाएर स्पष्टीकरण मागिएको थियो ।

चारै नेताले स्पष्टीकरण पत्रको जवाफ ओलीलाई दिए ।



चित्तबुझ्दो जवाफ नदिएको भन्दै पहिले नेपाल र रावललाई पछि भुसाल र पाण्डेलाई ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्।

ओलीको यो कदमपछि नेपाल-खनाल समूह झन रुष्ट बनेको छ।

समानान्तर गतिविधि तीब्र

यो समूहले चैत ४ र ५ गते काठमाडौंमा छुट्टै राष्ट्रिय भेलाको आयोजना गरेको थियो।

त्यसैगरी नेपाल समूहले विद्यार्थी, युवा, किसान, महिला लगायतका जनवर्गीय संगठनको भेला गरी समानान्तर कमिटी यसअघि नै बनाइसकेको थियो ।

ओलीले नेताहरुलाई कारबाही गरेपछि नेपाल-खनाल समूहले समानान्तर गतिविधिलाई तिब्रता दिएको छ।

प्रदेशमा समानान्तर कमिटी

यसैक्रममा नेपाल-खनाल समूहले बिहीबार गण्डकी प्रदेश भेलाको आयोजना गरी सुरेन्द्र पाण्डेलाई संयोजक बनाएको छ। पाण्डेलाई ओलीले बिहीबार नै निलम्बन गरेका थिए ।  

माधव नेपालको उपस्थितिमा पोखरामा भेला भएको थियो । गण्डकीका अधिकांश सिनियर नेता ओली पक्षमा रहेकाले माधव पक्षले पाण्डेलाई गण्डकीको नेता बनाएको हो। तुलबहादुर गुरुङ र श्रीमाया थकाली प्रदेश कमिटीको सहसंयोजक तोकिएका छन् ।

त्यो भेलाले गण्डकी प्रदेशका सबै जिल्लामा समेत समानान्तर कमिटी गठन गरेको छ। कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकर नारायण श्रेष्ठ नेपाल-खनाल समूहको अध्यक्ष चयन भएका छन्।

७७ जिल्लामै समानान्तर कमिटी बनाइँदै

नेपाल-खनाल समूहले देशभरका ७७ वटै जिल्लामा आफ्नो समूहको समानान्तर कमिटी बनाउने तयारी गरेको छ। त्यसको सुरुवात भोजपुरबाट गरिएको थियो। केही दिनअघि मात्र भोजपुरमा भेलाको आयोजना गरी शरण कुमार राईको नेतृत्वमा छुट्टै जिल्ला कमिटी गठन गरिएको थियो।

देशैभर जिल्ला कमिटी बनाउने तयारी तीब्र रुपमा चलेको केन्द्रीय सदस्य तथा सांसद् मेटमणी चौधरीले जानकारी दिए। 'अहिलेसम्म कास्की, गोरखा, अर्घाखाँची, ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङमा जिल्ला कमिटी बनिसकेका छन्', उनले भने, 'अब कमिटी गठनको काम अगाडि बढिसक्यो।' आफ्नो पक्षको नेतृत्वमा जिल्ला कमिटी भएका ठाउँमा त्यसैलाई निरन्तरता दिने र नभएका ठाउँमा नयाँ कमिटी गठन गर्ने तयारी भएको चौधरीले बताए ।

जनवर्गीय संगठनका समानान्तर कमिटी

नेपाल-खनाल समूहले प्रदेश र जिल्ला कमिटीमा मात्र नभएर जनवर्गीय संगठनमा पनि समानान्तर कमिटीको अभ्यास गरिसकेको छ।

काठमाडौंमा ४  र ५ गते राष्ट्रिय भेला सम्पन्न भएलगत्तै यो समूहले महिला संगठनको भेला गरी समानान्तर कमिटी गठन गरेको थियो।

राष्ट्रिय भेला गरेको दोस्रो दिन जयन्ती राईको संयोजकत्वमा अखिल महिला संघमा समानान्तर कमिटी गठन गरेको थियो।

त्यस्तै चैत ७ गते युवा संघको भेला गरेर नरेशकुमार शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी गठन गरिएको थियो।

चैत ९ र १० गते विद्यार्थीको राष्ट्रिय भेला गरी सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ।

केन्द्रीय स्तरमा कमिटी बनेलगत्तै जिल्ला तहमा पनि जनवर्गीय संगठनका कमिटी बनाउने तयारी यो समूहको छ। केही जिल्लामा कमिटी बनिसकेको छ भने नबनेका जिल्लाहरुमा पनि बनाउने तयारी रहेको भइरहेको छ।

कार्यालय पनि छुट्टै

अध्यक्ष ओलीले धुम्बाराहीमा रहेको पार्टी कार्यालयलाई थापाथली हाइटमा सार्ने तयारी गरिसकेका छन्।

नेपाल-खनाल समूहले पार्टीको छुट्टै कार्यालय त बनाइसकेको छैन तर छुट्टै कार्यालय बनाउने तयारी रहेको जानकारी नेपाल समूहका नेताहरुले दिएका छन् ।

राजधानीका विभिन्न होटल  तथा पार्टी प्यालेसमा मिटिङ गर्दै आएको छ ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीको नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताएका थिए। 'हामीले पनि कार्यालय राख्ने भवनको खोजी गरेका छौं', उनले भनेका थिए, 'राम्रो ठाउँ पाउनुभयो भने खबर गर्नुहोस्।'

जनवर्गीय संगठनमा भने छुट्टै कार्यालय बनाउन क्रम सुरु भइसकेको छ । समानान्तर कमिटी बनाएपछि युवा संघले बुद्धनगरमा छुट्टै केन्द्रीय कार्यालय स्थापना गरेको छ। गत बुधबार वरिष्ठ नेता नेपालले कार्यालय उद्घाटन गरेका

गरेका थिए ।

विद्यार्थी संगठनको पनि छुट्टै कार्यालय स्थापना गर्ने तयारी भइरहेको अनेरास्ववियुका सह-अध्यक्ष ओशिम आलमले जानकारी दिए।

सबै जनवर्गीय संगठनका र जिल्लामा अलगै कार्यालय बनाउने तयारी गरेको छ ।

देशव्यापी विशेष अभियान

नेपाल-खनाल पक्षमा रहेका स्थायी समिति सदस्यको शुक्रबार बसेको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने घोषणा  गरेको छ ।

शनिबार यो अभियानको घोषणा हुने जानकारी स्थायी समिति सदस्य योगेश भट्टराईले दिएका छन् ।

चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय पनि यसै बैठकले गरेको छ ।

महाधिवेशनपछि स्थापित संरचनात्मक स्थितिलाई पुनर्जीवन दिने अठोटका साथ देशव्यापी रुपमा अभियान चलाउने यो समूहको तयारी छ।

शुक्रबार बैठकबाट बाहिरिँदै गर्दा नेता भीम रावलले यसबारे जानकारी दिएका थिए ।

 'एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित नीतिलाई दृढतापूर्वक आत्मसाथ गर्दै देशव्यापी रुपमा महाधिवेशनपछि स्थापित संरचनात्मक स्थितिलाई पुनर्जीवन दिने अठोटलाई अघि बढाएका छौं', रावले भने ।

राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित १७ बुँदे प्रस्ताव र  चार नेताले ओलीलाई पठाइएका स्पष्टीकरण पत्रको जवाफलाई ‘बुकलेट’ बनाई तल्ला कमिटिसम्म छलफल गर्ने तयारी नेपाल समूहले गरेको छ ।

उक्त अवधारणापत्र परिमार्जनका लागि स्थायी कमिटी सदस्य घनश्याम भुसाल, बेदुराम भुसाल, युवराज ज्ञवाली लगायतलाई जिम्मा दिइएको छ। स्थायी कमिटीको बैठकबाट पारित भएपछि ती दस्ताबेजलाई तल्ला कमिटीमा पठाइनेछ।

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १८:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया