उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने खाद्य वस्तु बजारमा

न्यून गुणस्तरका खाद्य तथा पेय पदार्थ उत्पादन र बिक्री–वितरण गरी उद्योग व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएको छ ।

अहिले बजारमा मुख्य गरी पानी, तेल, घ्यू, दूध, दाल, चाउचाउ लगायतका दैनिक उपभोग्य वस्तु र पेय पदार्थ गुणस्तरहीन भेटिएका छन् । आर्थिक वर्ष २०७७/०७८ को आठ महिनाको अवधिमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले संकलन गरेका २ हजार २८४ वटा नमुनामध्ये १२७ नमुनाको नतिजा खाद्य ऐनको मापदण्ड विपरीत पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी गराए ।

प्रवक्ता महर्जनका अनुसार नमुना विश्लेषण गर्दा सबैभन्दा बढी दाना न्यून गुणस्तरका पाइएका छन् । प्रशोधित पिउने पानी, खाद्यान्न र खाने तेलमा कैफियत भेटिएको छ । १२७ नमुनामध्ये ३१ वटा दानाको नमुना गुणस्तरहीन भेटिएका हुन् । २० वटा पिउने पानी, १८ वटा तेल र घ्यूजन्यमा १९ वटा नमुना खाद्य ऐनको मापदण्ड विपरीत भेटिएको उनले बताए । 

प्रवक्ता महर्जनले न्यून गुणस्तर तथा दूषित उत्पादन र बिक्री–वितरण गरेको कसुरमा ७६ वटा मुद्दा दायर गरेको जानकारी दिए । महर्जनका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर भएका छन् ।

तीमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका ११ वटा, तयारी चाउचाउका ७ वटा, मसलाका ६ वटा, घ्यूका ५ वटा, तेल, बेकरी, दाना, टमाटर सस, मह, दालमोठ भुजिया, बिस्कुट प्रत्येकका ४ लगायत मिठाइ, दही, चामल, बियर, गेडागुडी, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् ।

७६ मुद्दामध्ये ३५ वटा मुद्दा न्यून गुणस्तरका, २३ वटा मुद्दा लेबल लगायतका विवरण नमिलेका, १२ वटा मुद्दा दूषितका तथा बाँकी ६ वटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघनसम्बन्धी रहेको उनले बताए ।



दोस्रो चौमासिक अवधिमा संकलित नमुनामध्ये खाद्यान्न तथा दलहनजन्यका २७४ वटा, तेल तथा घ्यूजन्यका १२४ वटा, दाना पदार्थका ९८ वटा, फल तथा साग पात जन्य पदार्थका ९१ वटा, मसलाका ६९ वटा, कन्फेक्सनरिका ३१ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दूध तथा दुग्ध पदार्थका १९ वटा लगायत जम्मा ८८१ वटा नमुनाको विश्लेषण परीक्षण भएकोमा ५७ वटा नमुनाको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको थियो ।



  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १८:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया