प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिवाना तिर्नु नपर्ने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार ओलीले यस्तो बताएका हुन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सम्बोधनका क्रममा उपत्यकाका धेरै घरहरुमा एक थोपा पानी नआउँदा पनि उपत्यकावासी पानीको शुल्क र जरिवाना तिर्न बाध्य भएको भन्दै त्यस्ता सेवाग्राहीलाई शुल्क–जरिवाना मिनाहा गर्न कार्यक्रममा उपस्थित राष्ट्रपति र प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए ।
प्रमुख शाक्यको उक्त प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीबाट सेवामा शुल्क र अझ त्यसमा पनि जरिवाना लिने गरेको कुरा सुन्दा अचम्म लागेको बताए ।
‘जसले सेवा नै प्राप्त गरेको छैन उसले सेवा शुल्क तिर्ने कुरा हुनै सक्दैन । यो भएको छ भने सच्याइनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो कुनै पनि निकायबाट भएको छ भने भन्न चाहन्छु, जहाँ सेवा दिएको छैन त्यहाँ सेवा शुल्क लिन पाइँदैन । जुन सेवा शुल्क लिन मिल्दैन त्यो सेवामा जरिवाना गर्न झन् मिल्दैन ।’
उनले सेवाग्राहीलाई सेवा दिन नसक्नु सरकारको कमजोरी भएको भन्दै त्यस्तो अवस्थामा सेवाग्राहीलाई जरिवाना तिराउने कुरा सम्भव नहुने बताए । ‘सरकारले सेवा उपलब्ध गराउन सकेको छैन । सेवा पुर्याउन नसकेकोमा क्षमा याचना गर्नुपर्ने ठाउँमा उल्टै जरिवाना तिराउने कुरा हुँदैन,’ उनले भने, ‘सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क पनि तिर्नु पर्दैन र त्यस वापत कुनै जरिवाना पनि तिर्नुपर्दैन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले आजको दिन काठमाडौँबासीका लागि उत्साह दिन भएको भन्दै यस्तो उत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।
उनले धेरै समयदेखि उपत्यकामा खानेपानीको हाहाकार भएको सबैलाई स्मरण नै रहेको भन्दै मेलम्चीको पानी उपत्यकावासीले पिउने सपना साकार भएकोमा खुसी व्यक्त गरे । ‘मेलम्चीको पानी उपत्यकामा आउँदै गर्दा अहिले पनि सबै धारामा पानी पुग्ने अवस्था छैन ।
कतिपय ठाउँमा नयाँ पाइप बिच्छ्याइएको छ भने कतिपय ठाउँमा पुरानै पाइपबाट वितरण भइरहेको छ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाको प्रमुख, उपत्यका नगरपालिका फोरमको अध्यक्ष र खानेपानी आयोजनाको उपभोक्ताको हैसियतले भन्न चाहन्छु, सबै ठाउँमा नयाँ पाइप बिच्छ्याउने कुरामा सम्बन्धित निकायको ध्यान पुगोस् ।’
उनले अहिले पनि काठमाडौँ महानगरपालिकाले सडक बनाउँदै जाने र मेलम्ची खानेपानीले खन्दै जाने भएकाले धेरै बजेट खन्ने र पुर्नै खर्च भइरहेको स्मरण गराए । ‘हामी बनाउनमा र उहाँहरु खन्न प्रतिस्पर्धा गर्ने हुँदा आजको मितिबाट त्यो प्रतिस्पर्धाको अन्त्य हुनेछ भन्ने मैले विश्वास लिएको छु, ‘अब सडकलाई चिल्लो बनाउने हिलो–धुलोमुक्त बनाउने अभियानमा लागेका छौँ । त्यो अभियानले सार्थकता पाउनेछ । हामी केन्द्र र प्रदेश सरकारसँग पनि सहकार्य गरेर अघि बढ्छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।