आमा बन्‍नुअघिको बलियो मन आमा भएपछि कमजोर हुँदो रहेछ
मर्ने चिन्ताले भन्दा आमा बन्‍न नपाउने कुराले धेरै पोल्यो
फरकधार / २१ चैत, २०७७

त्यसताका चितवनकी ईश्वरी अधिकारी स्थानीय रेडियो त्रिवेणीमा काम गर्थिन्। दाङका विनोद घिमिरे काठमाडौंको मैत्री एफएमका जागिरे। मैत्री एफएमका समाचार बुलेटिन रेडियो त्रिवेणीले बजाउँथ्यो। मैत्रीले चितवनका समाचार बुलेटिन प्रसारण गर्थ्यो। दुई रेडियोको यही सहकार्यले विनोद र ईश्वरीलाई पनि चिनायो। दुई रेडियोकर्मीबीचको यो चिनजान लामो समय साथीका रुपमा रहनै पाएन। ईश्वरी र विनोदका आफन्तले बिहेको कुरा चलाइदिए। 

बिहेको कुरा चलेपछि ईश्वरीलाई लाग्यो, ‘यतिको मान्छे मेरा लागि ठीक हुन्छ’। विनोदले पनि त्यही सोचे। चिनजान जस्तै आफन्तको कुराकानी पनि लामो चल्न पाएन।

काठमाडौंबाट आफन्तको साथ लागेर विनोद ईश्वरीलाई हेर्न चितवन पुगे। टीका टालो गर्ने कुरा भयो। वर्षाको बेला, ठूलो बिहे नगर्ने निष्कर्ष निस्कियो। ईश्वरी त्यही दिन बेहुली बनेर माइतीघरबाट बिदा भइन् ईश्वरी। हतार हतारमै ईश्वरी बेहुली बनेको त्यो दिन थियो २०६९ साल असार १० गतेको।

आफ्नो बिहे कुन प्रकारको थियो? ईश्वरी आज पनि ठ्याक्कै भन्न सक्दिनन्। २ महिनाको चिनजान र कुराकानीबीच बिहे गरेका उनीहरूले भविष्यका कुनै रेखा कोर्नै पाएका थिएनन्। ईश्वरीलाई काम गरिरहेको रेडियोको माया थियो। बिहे गरेको केही समयपछि उनी चितवन नै फर्किन्। 

रेडियो त्रिवेणीमा फेरि काम सम्हालिन्। उनका रिपोर्टहरू काठमाडौंको रेडियो मैत्रीबाट निरन्तर बज्न थाले। रेडियो व्यवस्थापनले उनलाई काठमाडौं नै बोलायो। 

रेडियो त्रिवेणीबाट बिदा भएर उनी काठमाडौं आइन्। काठमाडौं आएको केही समयमै मैत्री एफएम रेडियो थाहा सञ्चारमा परिवर्तन भयो। त्यहाँ पनि उनले काम गरिन्। 

श्रीमान्-श्रीमतीको दुवैको एउटै पेशा, एकै ठाउँ जागिर। जीवन ठीकठाक चलिरहेको थियो  तर, चितवन छोडेर काठमाडौं आउँदा जीवनका थुप्रै सहजता उतै छुटे। घरको खाएर काम गरे जस्तो सजिलो भएन काठमाडौंमा।

त्यतिबेला गाउँमा जस्तो रेडियोको क्रेज पनि थिएन यहाँ। एक्लै हुँदा जस्तो नहुने रहेछ सोच्ने तरिका। बिहे भएपछि ईश्वरीले भोलिका लागि सोच्‍न थालिन्। त्यही बेला उनले सम्झिइन् लोकसेवा तयारी गरिरहेकी भाउजूलाई। अनि थालिन् लोकसेवा पढ्न। 

रेडियो त्रिवेणीमा काम गरिरहँदा उनले सोचेकी पनि थिइनन्, ‘मेरो सपना रेडियो बाहिर पुग्ला’ भनेर। तर, काठमाडौं आएपछि उनको सपना फेरियो। लोकसेवा पढ्न रेडियोको जागिरबाट बिदा भइन्। 

२०७२ वैशाख अन्तिममा परीक्षा हुने थियो। तयारी गर्दागर्दै वैशाख १२ मा विनाशकारी भूकम्प आयो। एक हिसाबले ईश्वरीको सपनामा पनि भुइँचालो गयो। लोकसेवा आयोगका सबै परीक्षा स्थगित भए। उनी फेरि रेडियोमा फर्किइन्। रेडियो फर्किएको १५ दिनमा लोकसेवा आयोगले परीक्षा तालिका सार्वजनिक गर्यो। परीक्षामा सामेल भइन्। तर रेडियो यात्रा टुटेको थिए।

रेडियो थाहा सञ्चारमा काम गर्दा गर्दै दिएको परीक्षाको नतिजा २०७२ मंसिरमा आयो। ईश्वरीले पास गरिन्। पुस २ गते डिभिजन सहकारी कार्यालय चितवनमा उनको पोष्टिङ भयो। रेडियोको सपना छाडेर उनी सरकारी जागिरे बनिन्। 

जीवनकै कठिन मोड

बिहे गरेको ३ वर्ष बितिसकेको थियो। यो समय विनोद र ईश्वरीका लागि एकअर्कालाई बुझ्दै भविष्य सुरक्षित बनाउने चिन्ता थियो। एकजनाको स्थायी जागिर भएपछि सन्तानको योजना बन्यो। योजनाअनुरुप ईश्वरी आमा बन्‍ने तयारीमा थिइन्। 

उनको महिनावारी अनियमित थियो। सन्तानको योजनाका लागि ईश्वरी चाबहिलको ओम अस्पताल जान्थिन्। त्यहाँ थिए नाम चलेका डाक्टर भोला रिजाल। 

२०७२ चैत दोस्रो साता ईश्वरीको ‘प्रेग्नेन्सी रिपोर्ट’ पोजेटिभ आयो। डाक्टरले एक हप्तापछि अस्पताल बोलाए। गर्भवती भएपछि दोस्रो पटक २०७३ वैशाख २ गते ओम अस्पताल पुगिन। डा. भोला रिजाल र डा. सविना श्रेष्ठको टोलीले परीक्षणपछि भने, ‘तपाईँको बच्चा देखिएको छैन’। त्यो दिन बुधबार थियो।

डाक्टरले दुई थरी औषधि चलाए। ४ दिनपछि आउनू भनेर घर पठाए। मध्य बानेश्वरको रत्नराज्य स्कुल आइपुग्दा ईश्वरीको पेट नमज्जाले दुख्यो। सहनै नसक्ने भएपछि सिभिल अस्पताल पुगिन्। साथमा श्रीमान विनोद पनि थिए। अस्पताल पुग्दा ईश्वरीको होस गुमिसकेको थियो। आकस्मिक कक्षमा भर्ना भइन्। 

बच्चाको वृद्धिका लागि भन्दै ओम अस्पतालले ईश्वरीलाई बच्चा बढाउने औषधि चलाएको थियो। जुन औषधि बच्चा ट्युबबाट युटर्समा पुगेपछि मात्रै प्रयोग गर्नुपर्थ्यो।

औषधि प्रयोगपछि ट्युबमै बच्चा बढ्यो। एउटा ट्युब फुट्यो। पाठेघरभरी रगत फैलियो। ईश्वरीको अकस्मात अप्रेसन गर्नु पर्ने भयो। त्यसबेला डाक्टरले विनोदलाई भनेका थिए, ‘तपाईंकी श्रीमतीलाई हामीले बचाउने सम्भावना ५ प्रतिशत मात्रै हो।’

अप्रेशन गर्दै गर्दा एकातिर ईश्वरीको जीवन जोगिने सम्भावना कम थियो। अर्कोतिर उनी पुनः आमा बन्‍न नसक्ने सम्भावना। अप्रेशनअघि डाक्टरले ईश्वरीलाई भनेका थिए, ‘तपाईँका २ ट्युबमध्ये एउटा काटेर फालिँदै छ। तपाईंसँग अब एउटा मात्रै ट्युब बाँकी रहन्छ। बच्चा बस्ने सम्भावना एकदमै कम हुन्छ।’ यतिबेला ईश्वरीलाई ‘म मर्छु की भन्‍ने कुराले भन्दा कयौं गुण धेरै पीडा भएको थियो आमा बन्‍न गाह्रो छ’ भन्‍ने शब्दले। अप्रेशनपछिका कयौँ दिन ईश्वरी र विनोदले एकअर्कासँग आँखा जुधाएर हेर्न सकेनन्। 

यो घटनाले ईश्वरीको मनोबल कमजोर बनायो। मुस्कुराउन बिर्सिइन्। उनका आँखा ओभाउन पाएनन्। नरमाइलो लाग्थ्यो, मन उदास थियो। भेट्न आउने कसैसँग दोहोरो संवाद गर्न सकिनन्। आफन्तले सोध्ने सन्चो बिसन्चोको उत्तर आँसुले दिन्थे। ईश्वरीको मन असाध्यै कमजोर भयो, आत्मबल गिर्यो।

दिमागमा एउटै मात्रै कुरा दौडिरहन्थ्यो, ‘अब म आमा बन्‍न सक्दिन’। यो समय नि:सन्तान थुप्रै आमाहरूलाई सम्झना गरिन्। सोचिन् ‘एउटी नारीको जीवनमा बच्चाले कति ठूलो अर्थ राख्ने रहेछ’। 

फर्कियो खुसी

निराशा र आँसुबीच ईश्वरीका ३ महिना बिते।  तीन महिनापछि ‘प्रेग्नेन्सी रिपोर्ट’ पोजेटिभ आयो। यसपटक ईश्वरीले सिभिल अस्पतालमा डा. अरुणप्रसाद जोशीकहाँ परीक्षण गराइन्। उनको शल्यक्रिया पनि जोशीकै नेतृत्वमा भएको थियो। परीक्षणपछि डा. जोशीले भने, ‘ट्‍विन्स हो की जस्तो लाग्छ, कन्फर्म हुन अल्ट्रासाउण्ड गराएर आउनु।' रिपोर्टले जुम्ल्याहा देखायो।

ईश्वरीलाई लाग्यो, ‘भगवानले एकपटक दुःख दिइसकेका थिए। अहिले माया गरे’। उनी खुसी भइन्। डाक्टर जोशी पनि खुसी भए। यी तीन महिनामा विनोद पनि ईश्वरीका आँसुका साक्षी थिए। विनोदले भगवानसँग त्यही बेला प्रार्थना गरे, ‘छोरी जन्मियोस्’। 

डा. जोशीले ईश्वरीलाई हरेक १५ दिनमा अस्पताल आउन भने। उनले सम्झाए, ‘तपाईँलाई पहिला नै 'एक्टोपिक' भइसकेको छ। यति छोटो समयमा पुनः ‘प्रेग्नेन्ट’ हुनु भएको छ। यो समय राम्रोसँग गुजार्नुभयो भने धेरै राम्रो हुन्छ’। उनलाई पनि त राम्रै हुने आशा थियो।  

डा. जोशीले बधाई दिए। ईश्वरीका आँखा फेरि रसाए। त्यो दिन खुसीका आँसु लिएर ईश्वरी घर फर्किइन्। प्रत्येक पटक अस्पतालबाट फकिँदा डाक्टरले भन्थे ‘तपाईलाई रेस्ट जरुरी छ’। डाक्टरले भनेको जस्तो पूरै रेस्ट गर्न पाउने वातावरण पनि थिएन। उनी लोकसेवा आयोगमा काम गर्थिन्। परीक्षाको बाक्लो रुटिनका कारण दैनिकी व्यस्त थियो । 

पहिलाको जस्तो यसपटक गाह्रो भएन। एकै पटक उनको गर्भमा २ वटा बच्चा हुर्कँदै थिए। ईश्वरीलाई छोरी मनपर्ने। विनोद पनि चाहन्थे, ‘मेरो एउटा छोरा र एउटी छोरी जन्मियोस्’। उनी बारम्बार भन्थे, ‘छोराछोरी मिलेर जन्मिए भने म संसारकै भाग्यमानी हुन्छु’। ईश्वरीको पेट डरलाग्दो हिसाबले बढिरहेको थियो। डाक्टरले भनेका थिए ‘तपाईँको नर्मल डेलिभरी हुन्छ’। वैशाखका लागि डेलिभरी डेट पाएकी थिइन्। 

चैत दोस्रो साता उनलाई उठ्न बस्नै गाह्रो भयो। उनी अस्पताल पुगिन्। डाक्टरलाई भनिन्, ‘डा. अब म सक्दिन। मेरो अप्रेसन गरिदिनुहोस्’। डाक्टरले अल्ट्रासाउण्ड गरे। रिपोर्टमा २ वटा बच्चाको फरक–फरक तौल देखियो। ‘ट्विन्समा बच्चाको फरक–फरक तौल हुँदा एउटा बच्चा खेर जाने सम्भावना हुँदो रहेछ। त्यसपछि डाक्टर अप्रेशनका लागि तयार भए। 

२०७३ चैत १८ गते उनी एकैपटक २ सन्तानकी आमा भइन्। अनि भाग्यमानी पनि। विनोदले चाहिँ संसारकै भाग्यमानी हुन पाएनन्। दुवैजना छोरा जन्मिए। उनीहरु खुसी भए। अप्रेशन गरेको तेस्रो रात दुई छोरा लिएर ईश्वरी घर फर्किन्। घर फर्किएको रात निक्कै ज्वरो आयो। अस्पतालबाट फर्किने बेला भएकै रहेनछ। केही दिनमा ज्वरो निको भयो। उनका दुवै छोरा स्वस्थ थिए। 

छोरा छाडेर काम गर्न गाह्रो

समय बित्दै गयो। सरकारी जागिरे भएकाले ९८ दिन ईश्वरीलाई तनाव भएन। विदा बसेर छोरा हेरिन्। त्यसपछि पनि बेतलबी बिदा ६ महिना बस्न पाउने सुविधा थियो। सुविधालाई अवस्थाले साथ दिएन। उनी ९८ दिनपछि काममा फर्किइन्। श्रीमान् र उनले जागिरको समय मिलाउँदै छोराहरूलाई १४ महिनाको बनाए।

१४ महिनापछि ईश्वरीले छोराहरू मन्टेश्वरी पठाएर ढुक्कले काममा जाने मनस्थिति बनाइन्। छोराहरू मन्टेश्वरी भर्ना भए।

ईश्वरीले पहिलो दिन मन्टेश्वरी छाडेर निस्कने बेला छोरा नराम्रोसँग रोए। ईश्वरी अफिस त पुगिन् उनको मन थामिएन अनि आँखामा आँसु पनि। उनी रोएको देखेर सहकर्मीले सोधे, ‘तपाईँलाई के भयो’। सबैलाई मनको कुरा भन्‍न सक्ने अवस्था थिएन। त्यसबेला उनीसँगै काम गर्थिन् मानवी भट्टराई। मानवीलाई सबै कुरा भनिन्। मानवीले ईश्वरीलाई घर पठाइन्। 

त्यसपछि ईश्वरीलाई छोराहरू मन्टेश्वरीमा राख्‍न मन लागेन। घरबाट ढुक्कले बच्चा हेरेर बस्न सक्ने अवस्थामा पनि त थिएन। उनले माइतीबाट बहिनी बोलाइन्। छोराहरू २१ महिना हुँदासम्म सानिमाको रेखदेखमा बसे। तैपनि दिनभर अफिसमा रहँदा बारम्बार सम्झिएर ईश्वरीको मन भक्कानिन छाडेन। उनलाई कयौं पटक लाग्यो जागिर छाडेर छोराहरू हुर्काऊँ। सरकारी जागिर थिएन भने त्यतिबेलै काम छोड्थिन्। सरकारी जागिरले उनलाई रोक्यो।

दूध पुगेन

महिलाको मन यसै पनि कोमल, त्यसमाथि आमा बनेपछि झन् कोमल बन्दो रहेछ। अप्रेशन गरेका शारीरिक रुपमा पनि उनी कमजोर थिइन्। गर्मीको समय घाउ पाक्ने डरले पोषिला खानेकुरा पनि खान नपाइने। 

पोषिलो खान नपाएपछि दुध राम्रोसँग आएन। २ बच्चालाई दुध पुग्दैनथ्यो। ईश्वरीलाई लाग्थ्यो, ‘आमाको दूध खान पाउनु उनीहरूको अधिकार। त्यो पनि पूरा गर्न सकिन।' 

छोराहरू सिंहदरबारमा

घरमा साना छोरा छोडेर दिनभर अफिसमा काम गर्न पनि सजिलो भएन। यतिबेला ईश्वरीले राम्रो सम्भावना भएका तर परिवारको समस्याले हराएका थुप्रै महिलाको अनुहार सम्झिइन्।

महिलालाई करिअर जोगाउन गाह्रो रहेछ। करिअर जोगाउन मात्रै होइन, पर्फमेन्स बचाइरहन पनि निक्कै गाह्रो रहेछ। आमा बन्नु अघिको बलियो मन आमा बनेपछि कमजोर भइसक्दो रहेछ। 

छोराहरू २१ महिनाका भएपछि ईश्वरीले सिंहदरबारभित्रको केयरिङ सेन्टरमा लगिन्। त्यहाँ साँझ ५ बजेसम्म बच्चा हेरिदिने सुविधा थियो। त्यहाँको वातावरणमा छोराहरू रमाए। पहिला बिरामी परिरहने उनीहरू यहाँ आएपछि बिरामी पर्न छाडे। ‘बच्चा स्वस्थ हुँदा सबैभन्दा धेरै खुसी मिल्दो रहेछ,’ ईश्वरीले सुनाइन्।

२०७६ लागेसँगै कोरोना महामारीले नेपाल पनि ठप्प भयो। त्यसपछि छोराहरूको सिंहदरबार यात्रा पनि रोकियो। अहिले ईश्वरी आफूलाई बलियो बनाउने प्रयासमा छिन्। छोराहरू स्कुल जान थालिसकेका छन्। 

‘छोरीको रहर थियो, छोरी भइदिए हुन्थ्यो भन्ने थियो। अब छोराको बिहे गरेर बुहारीलाई छोरी बनाएर राख्छु’ऽ ईश्वरीले बिट मार्दै सुनाइन्। 

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १२:८:१४,   अन्तिम अपडेट : चैत २१, २०७७ शनिबार २०:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया