राष्ट्रिय झण्डाले सजिएको जीर्ण काठे पुल पर्यटकीय गन्तव्य
फरकधार / २१ चैत, २०७७

सुदूरपश्चिमको पहाडका जिल्लाहरूलाई जोड्न दशकौँ अघि निर्माण भएको कैलालीको पुरानो पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । 

जीर्ण बन्दै गरेको यो पुललाई गोदावरीका स्थानीय युवाले राष्ट्रिय झण्डाले झलमल्ल पारेपछि यसको झनै आकर्षण बढेको हो । 

थ्रिडिभिएल क्रिएसन नामक संस्थाको अगुवाइमा २१ वटा राष्ट्रिय झण्डाले पुललाई सजाइएको छ । यसअघि पुलको बीच भागमा एउटा मात्र झण्डा राखिएको थियो । उक्त झण्डा अज्ञात समूहले फालिदिएपछि शनिबार पुलमा २१ वटा झण्डा राखिएको थ्रिडिभिएल क्रिएसनका अध्यक्ष दीपक ओझाले बताए । ‘गोदावरी पर्यटक लागि सम्भावना भएको क्षेत्र हो’, उनले भने, ‘त्यसले गर्दा युवाहरू मिलेर केही नयाँपन दिन राष्ट्रियता झल्किने गरी जीर्ण पुललाई झण्डाले सजाएको हो ।’

पुरानो जीर्ण भए पनि पुल धेरैको रोजाइमा पर्ने गरेको स्थानीय भुवनेश्वरी पाण्डेले बताइन् । ‘पुल कयौँ वर्ष पुरानो हो’, उनले भनिन्, ‘सँगै पक्की पुल निर्माण भएपछि ८ वर्ष यता उक्त पुलमा  यातायातका साधनहरू जान बन्द गरिएको छ । तर, यहाँ पुगेपछि काठको पुलमा नपुग्ने कोही हुँदैनन् ।’ पुलको रङरोगन गरेमा अझ आकर्षण बढ्ने उनले बताइन् ।

जीर्ण पुल हेर्नकै लागि गोदावरी अहिले पिकनिक ‘स्पट’ का रूपमा पनि यो क्षेत्र परिचित हुँदै गएको छ । यो पुलमा युवायुवती मात्र नभई स–परिवार शनिबार वा बिदाका दिन पारेर पुग्ने गर्छन् । अचेल बच्चाबच्ची, युवायुवती, दम्पतीहरू पनि टिकटक र सामाजिक सञ्जालमा फोटो/भिडिओ बनाउनै भनेर पनि आउँछन् । त्यसैले यहाँ मान्छेको भिड नै जम्मा भएको हुन्छ ।

गोदावरी क्षेत्र अत्तरिया बजारदेखि सात किमि दुरीमा पर्छ । गोदावरीबाट सुदूरपश्चिमका पहाडी जिल्लाको यात्रा सुरु हुन्छ । गोदावरीमा हरेक दस वर्षमा एक महिनासम्म कुम्भ मेला लाग्ने भएकाले पनि यसको धार्मिक महत्त्व बढी छ । यहाँ विभिन्न मठमन्दिर र शक्ति पीठहरूका साथै नेपालकै अग्लो हनुमानको मूर्ति पनि छ ।

गोदावरी क्षेत्रभित्र पछिल्लो समय क्रमिक रूपमा सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम पनि बढ्दो छ । अझ गोदावरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी तोकिएपछि यो क्षेत्रको महत्त्व अझै बढेको छ ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १८:१९:२७,   अन्तिम अपडेट : चैत २१, २०७७ शनिबार १८:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया