ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : एपिएफको लगातार दोस्रो जित

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।

उसले आइतबारको खेलमा सुदूरपश्चिममाथि ३७ रनको जित हात पारेको हो ।

एपिएफले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १९ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । 

सुदूरपश्चिमका लागि कुनै पनि खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । उसका लागि सुनिता लोहारले सर्वाधिक २३ रन, डली भट्टले १६ र रेवती धामीले १२ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

एपिएफका विन्दु बुढामगरले ३, सीता रानामगर र सुमन विष्टले समान २–२, रेखा रावल र सुष्मा श्रेष्ठले १–१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो । 



एपिएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन् । १७.१ ओभरमा कविता जोशीले रेवती धामीबाट क्याच गराउनुअघि उनले ५० बलमा ७ चौकाको मद्दतले ५९ रन बनाइन् ।

सरिता मगरले अविजित ३५, कप्तान सीता रानामगरले १७ र इन्दु वर्माले अविजित ४ रनको योगदान दिए ।



सुदूरपश्चिमका कविता जोशी र सुनिता लोहारले १–१ विकेट लिए । 

एपिएपले पहिलो खेलमा प्रदेश–१ लाई ८ र सुदूरपश्चिमले ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गरेका थिए ।

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १२:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया