नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग लड्ने क्रममा आफूले तीन विकल्प देखेको बताएका छन्। झलनाथ खनाल-माधवकुमार नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेलालाई आइतवार सम्बोधन गर्दै उनले ओलीविरुद्धको संघर्षमा तीन विकल्प सुनाएका हुन्।
'हाम्रो सामु अब तीनवटा विकल्प छन्। पहिलो ओलीको टाङमुनि छिर्नु, आत्मसमर्पण गर्नु। दोस्रो राजनीति छाडेर गेरु वस्त्र लगाएर हिँड्नु। तेस्रो केपी ओलीको गलत प्रवृत्ति र कुराविरुद्ध लड्नु। हामी मैदान छाडेर भाग्दैनौँ। गलत कुराविरुद्ध लडिन्छ। पिठ्युँ फर्काएर हिँडिँदैन', उनले भने, 'ओलीले प्रतिनिधिसभा सदस्य पद पनि खाइदिन्छु भन्दैछन्। ख्याल गर्नुस् प्रतिनिधिसभा सदस्य पनि चट होला भन्दैछन्। तर केपी ओली आफैँ चट हुनेछन्।'
उनले केपीले पार्टी नै मै हुँ भनेपछि समस्या भएको बताए। 'ओलीले पार्टी नै मै हुँ भनेपछि समस्या भएको हो। सर्वोच्चले गरेको फैसला राजनीतिक हो। त्यो फैसला राजनीतिक भए पनि हामीले स्वीकारेका हौँ', उनले भने, '२०७५ साल जेठ २ गतेमा हामी पुगौँ भनेका हौँ । तर ओलीले फागुन २८ र चैत ७ मा मनपरी निर्णय गरे, पार्टीलाई विधि विपरीत अघि बढाउन खोजे। त्यहीकारण हामी प्रतिरोधमा उत्रनुपरेको हो।'
उनले नवौँ महाधिवेशनमा आफू ओलीसँग २६/२७ मतले हारेको बताए। 'नवौँ महाधिवेशनमा ओलीको ५१ र मेरो ४९ प्रतिशत थियो। तल्लो तहमा हामी ६० र केपी ४० मात्रै थिए। ४२ जिल्लामा हाम्रो बर्चस्व छ केपी ओलीको छैन', उनले भने, 'तर केपी ओलीले मनपरी गर्दै गए। अति भइसकेपछि सहन सकिँदैन। केपी ओली अत्यन्तै बदलाको भावना लिएर हिँडे, विरोधीहरुलाई सिद्याउने तरिकाले लागे।'
उनले देशभर संगठन बनाएर केपी ओलीका इतिवृत्तबारे छलफल पनि गर्ने बताए। 'पार्टी पुनर्गठन अभियान सुरु गरेका छौँ', उनले भने, 'अब देशव्यापी कमिटी घोषणा हुँदैछ।'
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।