logo-img

रामचन्द्रको प्रस्ताव : ओली हटाऊँ, देउवाको विकल्प खोजौँला, महन्थको जवाफ : ओलीविरुद्ध केही गर्न सक्दैनौँ

सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइतवार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्। 

वरिष्ठ नेता पौडेलले विहान करिब ८ बजे ठाकुर निवास हात्तीवनमा पुगेर भेटघाट गरेका हुन् । भेटमा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको बारेमा चर्चा चलाएका थिए ।

करिब एक घण्टा लामो भेटघाटमा पौडेल ठाकुरलाई फकाउन खोजेका थिए। ‘प्रधानमन्त्री ओलीले सजिलै राजीनामा दिँदैनन्’, उनले भने, ‘अब हामी एकजुट लागौं। तपाईहरु पनि समर्थन गर्नुस्,सबै मिलेर अविश्वासको प्रस्ताव लगाऔँ।’ 

तीन दल एक नभएसम्म यो विषय सजिलो नरहेको पौडेलले बताएका थिए। ‘बरु सरकारको नेतृत्वबारे पनि छलफल गरौं, हाम्रो सभापतिको विकल्पमा पनि जाऔं’, उनले भने, ‘तर सबै एकजुट भएर अविश्वासको प्रस्ताव लगाऔँ।’



स्रोतका अनुसार यसरी ठाकुरको स्वास्थ्य खबरबारे जानकारी लिदै नेता पौडेलले जसपालाई फकाउन खोजेका थिए । तर ठाकुरले भने कांग्रेस नेता पौडेलले राखेको प्रस्तावमा त्यति उत्सुक नबनेको स्रोतको दाबी छ ।

केही गर्न सक्दैनौँ : महन्थ

तर ठाकुरले जवाफमा अहिले जसपाले केही गर्न नसक्ने बताए। ‘तपाईँहरू सबै दल हाम्रो लागि बराबर हुनुहुन्छ, हामी काखापाखा गर्दैनौ’, उनले भने, ‘तर अहिले हामी केही गर्न पनि सक्दैनौं, हाम्रो माग पूरा गर्ने प्रक्रिया ओली सरकारले अगाडि बढाइसकेको छ । माग पूरा हुने बाटोमा गइसकेकाले वर्तमान अवस्थामा ओलीको विकल्पमा जाँदैनौं।’ 

सरकारबाट माग सम्बोधनमा प्रगति नभए मात्रै अर्को बाटो रोज्ने जवाफ ठाकुरले कांग्रेस नेता पौडेललाई सुनाएका थिए ।



कांग्रेस केन्द्रीय समितिले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल त्यसको जोडघटाउमा लागको जानकारहरु बताउँछन् । जुन नीति अन्तरगत उनी जसपालाई फकाउन लागेको स्रोतको दाबी छ ।

उनले शनिबार मात्रै ओलीलाई सत्ताबाट हटाउन अब अविश्वास प्रस्ताव लानुपर्ने बताएका थिए। पौडेलले यदि सभापति देउवा नमानेमा अर्को अनुहारलाई पार्टीले प्रधानमन्त्रीका रुपमा अघि सार्ने पनि बताएका थिए। 

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया