कृषिमा वैदेशिक लगानी : संसदीय समितिमा बहस

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा कुन–कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताएका छन् । 

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन–कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् । सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने भनिए पनि कुन–कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन् । 

बैठकमा बोल्दै समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन–कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताए । स्पष्ट रुपमा विधागत रुपमा छुट्याउनुपर्ने उनको सुझाब थियो । 

सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताइन् । कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको उनले बताइन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरु स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्र्याउन लागेको उनको जिकिर थियो । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानि नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताए । कृषि क्षेत्रमा लगानी गर्न निजी क्षेत्र पनि आकर्षित रहेको सन्दर्भमा त्यस तर्फ पनि ध्यान दिनुपर्ने बताए । 



कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । आगामी बैठकमा अझ विस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर समितिमा छलफल गरिने भएको छ । 



  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १९:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया