प्रस्तावित न्यायाधीशमाथिको उजुरीबारे उजुरीकर्तासँग छलफल

सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिले उजुरीकर्तालाई बोलाएर छलफल गरेको छ । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेका छन् । 

समितिको आइतबारको बैठकमा उपस्थित भएका उजुरीकर्ताले नहकुल सुवेदीमाथि योग्यता नपुगेको भन्दै सार्वोच्च अदालतको न्यायाधीश पदका लागि स्वीकृति नगर्न समितिसमक्ष माग गरेका छन् । सुवेदीमाथि पुनरावेदनको म्यादलगायत अन्तरिम आदेश जारी नगरेको सम्बन्धी र चेक बाउन्स गराएको सम्बन्धमा समेत उजुरी परेको छ । 

सुवेदीविरुद्धका पाँचजना उजुरीकर्तामध्ये चारजना समितिको बैठकमा उपस्थित भएको र कुमार चुडालका कुनै पनि उजुरीकर्ता उपस्थित नभएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । उनले अब ०७८ वैशाख ३ गतेको बैठकमा प्रस्तावित न्यायाधीशलाई बोलाई छलफल गरी सुनुवाई गरिने बताए । 

समितिको बैठकमा उपस्थित भएका उजुरीकर्ताले सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले सिफारिस गरेका न्यायधीश नहकुल सुवेदीको योग्यता नै नपुग्ने देखिएपछि उजुरी गरेको बताएका छन् । 

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुन उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश भएर पाँच वर्ष काम गरेको हुनुपर्छ भन्ने संविधानको धारा १२९ को ५ मा व्याख्या भएको र त्यो व्यवस्थाअनुसार नहकुल सुवेदीको मुख्य न्यायाधीशको रुपमा न्यायपरिषद्ले सिफारिस गरेको दिन सम्म तीन वर्ष दुई महिना तीन दिन मात्रै पुग्ने भएकोले योग्यता नपुग्ने देखिएकाले त्यस्तो सिफारिसलाई संसदीय समितिले अनुमोदन गर्न हुँदैन भनी उजुरी गरेका उजुरीकर्ताले बताएका छन् । 

न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति दिँदा नराम्रो सन्देश गएको र यसबाट न्यायपालिकाले न्याय सम्पादन गर्न नसक्ने उजुरीकर्ताले बताएका छन् । संविधानको व्याख्या गर्ने ठाउँमा पुग्ने व्यक्ति आफैँ असंवैधानिक ढंगले नियुक्ति हुन्छ भने न्याय र संविधानको रक्षा हुन नसक्ने पनि उजुरीकर्ताले बताए । 





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १९:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया