विद्यार्थीलाई अन्योल र भ्रममा राख्दै, गलत सूचना दिएर शिक्षाको व्यापार गर्दैछ आइएसएमटी कलेज

नेपालमा बेलायती डिग्री प्रदान गर्ने भन्दै केही समयअघि खुलेको कलेज आइएसएमटीले पछिल्लो समय ‘विकृत ढंग’मा विद्यार्थीहरुसँग खेलवाड गर्न थालेको पाइएको छ । 

शिक्षा मन्त्रालयले बारम्बार कारवाही गरे पनि आइएसएमटीले शैक्षिक मापदण्ड उल्लंघन गर्ने मात्र होइन, विद्यार्थीहरुमाथि अन्याय गर्न नै थालेको छ । 

नेपालमा दुई वर्ष पढाएर एक वर्ष क्रेडिट ट्रान्सफरको सुविधा भएको भन्दै प्रचार गरिरहेको आइएसएमटीले आफूसँग युनिभर्सिटी अफ हर्टफोर्डसायरको सम्बन्धन भएको काउन्सिलिङ तथा फोन सोधपुछमा बताउने गरेको छ । तर, फरकधारसँग कुराकानी गर्दै हार्टफोर्डसायरका अधिकारीहरुले आइएसएमटी कुनै पनि तरिकामा आफूहरुसँग सम्बन्धित नभएको प्रष्ट पारेका छन् ।

‘हामीसँग सम्बन्धन लिन उनीहरुले प्रयास गरेका थिए,’ हार्टफोर्डसायरका एक अधिकारीले फरकधारसँग भने, ‘तर, उनीहरुको शैली र अन्य विषयमा लामो कुराकानी भएपछि हामीसँग चलिरहेको उनीहरुको छलफल गत वर्ष नै अन्त्य भएको हो । आइएसएमटीसँग हाम्रो कुनै सम्बन्ध छैन, कुनै सरोकार छैन ।’

हार्टफोर्डसायरका अधिकारीले यसो भने पनि हामीले आइएसएमटीमा फोन गर्दा त्यहाँबाट आफूहरु हार्टफोर्डसायरको सम्बन्धन भएको र क्रेडिट ट्रान्सफर त्यहाँ गर्न सकिने एक आइएसएमटीकी परामर्शदाताले बताइन् । 

यही विषयमा हामीले आइएसएमटीमा अध्ययनरत केही विद्यार्थीहरुसँग पनि सम्पर्क गरेका छौँ । तीमध्ये एक हुन्, रमिला आचार्य (नाम परिवर्तन, आफूलाई कलेजले कारवाही गर्ला भन्ने डरले उनले आफ्नो वास्तविक नाम नलेख्न अनुरोध गरेकी थिइन् ।)



आइएसएमटीले आफ्नाे वेबसाइटमा राखेकाे सूचना जुन गलत छ ।

रमिलाले भनिन्, ‘सुरुमा हामीलाई यहाँ भर्ना हुनुअघि जे भनिएको थियो, त्यो केही पनि होइन रहेछ । सबैभन्दा पहिलो कुरा त आइएसएमटीले धेरै विद्यार्थी भर्ना लिने उद्देश्यका साथ कोर्सबारे नै प्रष्ट जानकारी दिँदैन । मैले त यहाँ मैले गर्ने अध्ययन ब्याचलर्स कोर्स हो भन्ने सोचेकी थिएँ, सुरुमा यहाँ आउँदा पििन त्यही भनिएको थियो ।’



उनले थपिन्, ‘तर, त्यस्तो होइन रहेछ । मलाई काउन्सिलिङ गर्दा पनि हार्टफोर्डसायर विश्वविद्यालयको नाम लिइएको थियो । तर, एक वर्ष बितेपछि मैले बल्ल आफ्नो भविष्य अन्योलमा भएको पाएँ । तर, यति धेरै पैसा खर्च भइसकेको छ, अनि एक वर्ष पढिसकेकी छु, त्यसैले यसलाई परिवर्तन गर्न पनि सक्दिनँ ।’

यतिमात्र होइन, आइएसएमटीले आफ्नो परिचयमा पनि झुट कुरा उल्लेख गर्ने गरेको त्यहाँ नै अध्ययनरत विद्यार्थीहरु बताउँछन् । आइएसएमटीको फेसबुक पेज र वेबसाइटमा पनि उनीहरुले भ्रामक सूचना राखेका छन् । त्यस्तै, आइएसएमटीले गर्ने आफ्ना विज्ञापनहरुमा पनि भ्रामक कुराहरु राखिएको छ । 
 

उदारहणका लागि आइएसएमटीले एबाउट अस सेक्सनमा राखेको कलेजको प्रोफाइललाई लिन सकिन्छ । आइएसएमटीको वेबसाइटमा आइएसएमटीमा पढ्नु पर्ने १० कारण राखिएको छ । त्यसमा आफूहरुले बेलायती डिग्री अफर गर्ने गरेको उल्लेख गरिएको छ । तर, अहिलेसम्म आइएसएमटीले अध्यापन गराउने हाइयर नेसनल डिप्लोमा हो, जसलाई शैक्षिक र आधिकारिक रुपमा औपचारिक ब्याचलर्स लेभल भन्न मिल्दैन ।

विद्यार्थीलाई गलत सूचना दिएर आफ्नो कलेजमा भर्ना गराउनु गैरकानुनी काम भएको स्वीकार गर्छन्, नेपालमा विदेशी डिग्री पढाउने कलेजहरुको संघ आइप्यानका एक सदस्य । फरकधारसँगको कुराकानीमा उनले भने, ‘शैक्षिक क्षेत्रमा काम गर्ने मान्छेले नै यसरी गलत गर्दा त्यसको नजिर अत्यन्त गलत बस्छ, यो गैरकानुनी मात्र होइन, इथिकल काम पनि होइन ।’

उनले यस्तो विषयमा आइप्यानमा उजुरी गरे त्यो कलेजमाथि कारवाही गरिने पनि बताए ।

‘एक पटक विद्यार्थी भर्ना भइसकेपछि उसको समय, पैसा खर्च भइसकेको हुन्छ,’ आइप्यानका ती अधिकारीले भने, ‘त्यसले विद्यार्थीको भविष्यमाथि पनि खेलवाड गरेको छ । यसलाई कलेज र कलेज सन्चालकले बुझ्नु पर्ने हो, आइएसएमटीको विषयमा तपाईंले भनेका कुरा सही हुन् भने उमाथि कारवाही हुन्छ ।’

तर, आइएसएमटीले शिक्षा मन्त्रालयको मापदण्ड उल्लघंन गर्ने मात्र होइन, पछिल्लो समय पोखरा र चितवनमा गैरकानुनी रुपमा आइएसएमटी कलेज चलाइरहेको छ । नेपालको कानुनअनुसार कुनै पनि कलेज वा शैक्षिक संस्थाले शाखा खोल्न पाउँदैनन् । तर, आफ्नो नाममा पछाडि ती ठाउँहरुको नाम जोडेर आइएसएमटीले व्यापार गरिरहेको छ । यसबारे फरकधारमा थप फलोअप समाचार आउनेछन् ।

आइएसएमटीले एचएनडीलाई सानाे बनाएर विज्ञापन गर्ने गरेकाे छ । याे गलत प्राक्टिस हाे ।

फरकधारले यसअघि विदेशी डिग्री पढाउने कलेजहरुले कसरी शिक्षा मन्त्रालयका अधिकारीसँग मिलेर मापदण्ड फेर्न खोज्दैछन् भन्नेबारे स्टोरी गरेको थियो । 
 

पढ्नुहोस्ः

विदेशी डिग्री पढाउने कलेजलाई पोस्न उनीहरुकै मिलेमतोमा निर्देशिका परिवर्तन

  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार २१:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया