मेलम्चीको पानी पिएपछि मनोज गजुरेलले सम्झिए राजा वीरेन्द्रलाई (भिडियोसहित)
पानी खेर गएको देखेपछि भने : हत्तेरी! लोभ लाग्दो रहेछ

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना करिब २२ वर्षपछि सफल भएर गत साता काठमाडौं उपत्यकामा पानी वितरण सुरु भइसकेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही २० गते भृकुटीमण्डपमा सर्वसाधारणका लागि चौबीसै घण्टा पानीको व्यवस्थासहित बनाइएका धारा खोलेर मेलम्ची वितरणको उद्घाटन गरिन् । 

नेपालमा कुनै समय ढिलो का भएको कुराको दृष्टान्त दिनुपर्दा मेलम्चीको नाम लिने गरिएको थियो । मानिसहरूका नजरमा हाँसोको विषय नै बनेको मेलम्ची अन्तत काठमाडौंमा आएपछि सर्वसाधारण हर्षित छन् । कृष्णप्रसाद भट्टराईले वि.सं. २०४८ सालको निर्वाचनका बेला 'मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्छु' भनेका थिए। 

उनले मेलम्चीको पहिलो पटक सपना देखेको ३० वर्ष र भट्टराईकै निधन भएको ११ वर्ष पछाडि काठमाडौंमा पानी झरेको छ। अहिले भृकुटीमण्डपमा जडान गरिएका धारा हेर्नेको भिड लाग्ने गरेको छ । 

मेलम्चीको पानी धाराबाट बगेको पानीसँगै फोटो खिचाउन सर्वसाधारण मस्त देखिन्छन् । आइतबार दिउँसो भृकुटीमण्डपमा हामी पुग्दा धाराबाट बगिरहेको पानीलाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने र टिकटक बनाउनेको भिड देखिन्थ्यो । 

अनि आए मनोज...



सर्वसाधारण मेलम्चीको पानीले प्यास मेटाउन व्यस्त रहेका बेला चर्चित कलाकार मनोज गजुरेल पनि त्यही भिडमा मिसिन आइपुगे। गजुरेल फोटो खिच्नकै लागि त्यहाँ आएका होइनन् । उनी त भृकुटीमण्डपमै भइरहेको एउटा कार्यक्रममा सहभागी हुन आएका रहेछन् । त्यही मौकामा उनी पनि मेलम्चीको पानी हेर्न आइपुगे।

‘बहुत मजा आयो,’ फरकधारसँगको कुराकानीमा मनोजले भने, ‘सर्वसाधारणको तीस वर्षअघिको सपना पूरा भएको छ।’



मेलम्चीलाई हरेक दलले मुद्दा बनाएको उनको बुझाइ छ।  तर कसैले पनि यसलाई गम्भीरताका साथ नहेरेको मनोजले सम्झिए । ढिलै भए पनि मेलम्चीको सपना साकार पार्न योगदान गर्ने सबैप्रति कृतज्ञ छन् उनी । 

‘अहिले मेलम्चीको जस लिने होडबाजी नै चलिरहेको छ,’ उनले व्यङ्ग्य वाण हानिहाले, ‘मेलम्चीको सपना देख्नुहुने स्वर्गीय राजा वीरेन्द्रदेखि किसुनजी लगायत सबैलाई धेरै धन्यवाद !’

हामीसँग कुराकानी गरेर उनी धाराको पानी पिइरहेको फोटो खिच्‍न लागे । फोटो खिँचिरहँदा धाराबाट पानी खेर गइरहेको देखेर चिन्ता लाग्यो । उनले हत्तपत्त धारो बन्द गरिहाले । ‘हत्तेरिका लोभ लाग्दो रहेछ,’ उनले भने।

भिडियो

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १६:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया