बालुवाटार जग्गा हिनामिना प्रकरण : कांग्रेस नेता गच्छदार पक्राउ पर्न सक्ने

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका उपसभापति विजयकुमार गच्छदार पक्राउ पर्न सक्ने सम्भावना बढेको छ। विशेष अदालतले गरेको ३० दिन लामो म्याद तामेलीको समय सोमबार सकिएसँगै तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदार पक्राउ पर्ने सम्भावना बढेको हो।

गच्छदार आज मंगलबारसम्ममा आफैँ हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ। २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै विशेष अदालतमा मुद्दा चलाएको थियो।  

यसअघि २०७६ फागुनमा गच्छदारको नाममा १५ दिनको म्याद राखेर अदालतमा उपस्थित हुन भन्दै पत्र काटिएको थियो। त्यसपछि उनलाई एक महिनाको म्याद दिएर आउन भनिएको थियो। अदालतले यही चैत १ गते फेरि उनको सुनसरीस्थित घरमा १५ दिनको समय राखेर म्याद तामेली गरिएको थियो। 

त्यसमा बाटोको म्यादबाहेक १५ दिनमा अदालतमा उपस्थित हुन भनिएको थियो। अदालतले दिएको म्याद सोमबारै सकिएकाले आजसम्म उपस्थित नभए पक्राउ प्रक्रिया अघि बढ्ने भएको छ।

अख्तियारले भने उनीसहित विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । एवम् नेपाली कांग्रेसका नेता गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो, जरिमाना तथा कैदको माग गरिएको छ । उनीसँगै म्याद जारी भएका अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतको आदेशमा कारागार चलान भइसकेका छन् ।



एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। बालुवाटारस्थित ललिता निवास क्षेत्रको ११३ रोपनी सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका पूर्व भूमिसुधार एवम प्रधानमन्त्रीसमेत रहेका गच्छदार हाजिर नभए पक्राउ प्रक्रिया अघि बढ्ने अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए।

पाण्डेयका अनुसार यसअघि ‘मान्छे फेला नपरेको’ ब्यहोरासहितको म्याद तामेली गच्छदारको घरमा टाँस गरिएको बताएका थिए। तर गच्छदारले विशेष अदालतलाई टेर्ने छनक दिएका थिएनन्। विशेष अदालतले गच्छदारलाई तेस्रो पटक ताकेता गरिसकेको छ।  तर उनले अदालतमा उपस्थित हुन इन्कार गरिरहेका थिए।



गच्छदारले तत्कालीन अवस्थामा विभागीय मन्त्री हुँदा सरकारी जग्गा व्यक्तिको नाममा पास गराउन मुख्य भूमिका खेलेको अभियोग अख्तियारले लगाएको छ। गच्छदारसहित एक सय ७५ जनाविरुद्ध अख्तियारले २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा चलाएको थियो। 

तर गच्छदारले उक्त संलग्नता अस्वीकार गरिरहेका छन्। उनलाई प्रमुख प्रतिपक्षी कांग्रेस सभापतिसहित शक्ति केन्द्रहरूबाट संरक्षण मिलेको चर्चा अझै पनि चलिरहन्छ। 

बालुवाटार जग्गा प्रकरणमै यसअघि २८ मंसिरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न विशेष अदालतले आदेश दिइसकेको छ।

बस्न्यातलाई आइतबार विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा सार्न भूमिका खेलेको भन्दै उनीमाथि भ्रष्टाचारको अभियोग लागेको थियो। उनी हाल डिल्ली बजार जेलमा छन्। अदालतको आदेशअनुसार बस्न्यातtले मुद्दाको अन्तिम टुङ्गो नलागुञ्जेल थुनामा बस्नुपर्ने छ।

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १२:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया