२ अर्ब ७३ करोडको राजस्व छली गर्ने ९ कम्पनीविरुद्ध मुद्दा दायर

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न ९ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले केही दिनअघि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजारको राजस्व छली भएको ठहर गर्दै सोही रकम बराबरको बिगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।

राजस्व अनुसन्धान विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रूपम ट्रेड कन्सर्न, आरजु इन्टरनेसनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमार, एभरेस्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेश कुमार झा, गेरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआईसी ट्रेडर्सका प्रोपाइटर भूपेन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ । 

उनीहरूमध्ये किशोरी यादवले विभिन्न नक्कली फर्म तथा कम्पनी खडा गरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी राजस्व छली गरेको भन्दै विभागले २ अर्ब १७ करोड ३५ लाख १८ हजार १ सय ७ रुपैयाँको बिगो दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।

त्यसैगरी, ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमारसहित अन्य पाँचवटा फर्मलाई ५६ करोड ९ लाख ४० हजार ८९६ रुपैयाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको विभागको भनाइ छ । तीमध्ये ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमारलाई मात्र २७ करोड ६३ लाख ४० हजार ७२५ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले बताएको हो ।

विभागका अनुसार, सञ्चालक हजाराविरुद्ध १० करोड १२ लाख, झाविरुद्ध १० करोड १० लाख, सुरेशविरुद्ध ७ करोड ७९ लाख र कार्कीविरुद्ध ४३ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको छ । यी सबैले नक्कली मूल्य अभिवृद्धि कर बीजक (भ्याट बिल) मार्फत राजस्व छली गरेको विभागको दाबी छ । उनीहरूले राजस्व छलीको क्रममा मालवस्तु खरिद तथा आयात नै नगर्ने र झूटा विवरण देखाउनेजस्ता काम गरेको पाइएको विभागले स्पष्ट पारेको हो ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १४:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया