अण्डा कोरल्ने ‘पोथी’ले सफलता चुम्दै युवा उद्यमी सुमन (भिडियोसहित)
भन्छन् : ग्राहकको प्रतिक्रियाबाट हौसिएको छु
फरकधार / २४ चैत, २०७७

वि.सं. २०५१ सालमा कैलालीको पहलमानपुरमा जन्मिएका सुमन पौडेल सानैदेखि जिज्ञासु थिए। यो स्वभाव उनको उमेर र अध्ययनसँगै झन् बढ्दै गयो । सुमनले सानैदेखि आफ्नै कन्सेप्टमा विभिन्‍न विद्युतीय उपकरण आविष्कार मात्रै गरेनन्, ती उपकरण बचेर पैसा पनि कमाए । 



सुमन नौ वर्षका छँदा नेपालमा माओवादी द्वन्द्व चलिरहेको थियो। त्यो बेला देशका सबै ठाउँमा बिजुली पुगेको थिएन। त्यही बेला जनयुद्धमा रहेका माओवादीलाई बत्तीको समस्याले पिरोल्थ्यो। उनैले त्यसबेला ब्याट्रीबाट चल्ने ‘टुकीमारा’बत्ती बनाएर माओवादीलाई बचेका थिए।

त्यसपछि पनि उनको आविष्कार यात्रा रोकिएन। गाडी चलाउँदा चलाउँदै चालक निदाएमा आफैँ ब्रेक लाग्ने ‘एआई’ बनाएर सफल परीक्षणसमेत गरेका थिए। यो ६ वर्षअघिको कुरा हो। 



उनै सुमन अब अर्को नयाँ आविष्कार लिएर आएका छन्। उनले साथी विजयराज शाहीसँग मिलेर अण्डा कोरल्ने मेसिन अर्थात् ‘एग इन्क्युबेटर’ निर्माण थालेका छन् । र, यसलाई उनीहरुले नाम दिएका छन्, ‘पोथी’मेसिन । 



इन्जिनियरसमेत रहेका सुमन र विजयले बनाइरहेको यो मेसिन विशेष सुविधासहितको छ । ‘पोथी’ विशेष प्रविधियुक्त छ । यसलाई ‘एप’ बाट पनि चलाउन सकिने भएकाले एकदमै प्रभावकारी र सजिलो छ । 

भौगोलिक विकटता र कृषकका माग ध्यानमा राखेर उनीहरुले ५ प्रकारका मेसिन बनाइरहेका छन् । ‘पोथी’ दुर्गम भेगलाई एकदमै प्रभावकारी छ । पाँच प्रकारकामध्ये ‘पोथी दुर्गम’ दुर्गम भेगको विद्युतको अभावलाई ध्यान दिएर निर्माण गरिएको छ। यसलाई सौर्य ऊर्जाबाट चलाउन सकिन्छ । पोथी स्मार्ट, पोथी सस्तो, पोथी ठिमाहा लगायत चार प्रकारका एग इन्क्युबटेर पनि सुविधासहितका छन् । ‘पोथी’ पूर्ण रुपमा प्रविधिमैत्री छ । 

यो मेसिन छिमेकी भारत, चीन र नेपालकै अन्य कम्पनीले बनाएको मेसिनभन्दा सस्तो र सहज छ साथमा दीगो पनि। मेसिनको बडी आल्मुनियम प्रयोग गरेर बनाइएकाले खिया लाग्दैन। यसको तौल पनि कम छ । तौल कम भएकाले यसलाई एक ठाँउबाट अर्को ठाउँमा सजिलै सार्न सकिन्छ।

यसका अलवा मेसिनमा कुनै समस्या देखिए फोनबाटै समस्या समाधान वा त्यहीँ गएर बनाइदिने सुविधा उनीहरुले दिएका छन्। ‘पोथी’ अहिले कैलाली र काठमाडौंमा निर्माण  भइरहेको छ। दशका अन्य स्थानबाट पनि ‘पोथी’ को माग आइरहेको उनले सुनाए।

अहिले सुमन र विजय पोथीलाई लिएर उत्साहित छन् । उनीहरु ग्राहकबाट पाइरहेको प्रतिक्रियाले खुसी छन्। ‘पोथी’ मेचीदेखि महाकालीसम्म पुगिसकेको छ । निर्माण सुरु गरेको ८ महिनामै  ९० जनाले किनिसकेका छन्। पछिल्लो समय दिनानुदिन माग बढिरहेको सुमन बताउँछन्। सुमनलाई ग्राहकको सकारात्मक प्रतिक्रिया र अर्डर सुन्‍न भ्याइनभ्याइ छ । 

'ग्राहक हाम्रो प्रोडक्टमा कति सन्तुष्ट हुनुहुन्छ भने सामान राम्रो छ भनेर हामीले विज्ञापन नै गरिरहनु परेको छैन,’ सुमनले मुस्कुराउँदै भने, ‘उहाँहरुले नै अरुलाई राम्रो छ भनेर सिफारिस गरिरहनु भएको छ।’

तर, उनीहरुको यात्रा सहज पक्कै थिएन । यहाँसम्म आइपुग्न उनीहरु दुवैले कठोर मिहिनेत गरेका छन्। अनुसन्धान र परीक्षणमै उनीहरुले दुई वर्ष बिताए । दुई वर्ष लामो परीक्षणपछि  प्रयोगमा ल्याइएको ‘पोथी’ बारे सुमनसँग कुराकानी गरेका छौँ । युवा उद्यमीको रुपमा पहिचान बनाइरहेका इन्जिनियर सुमनसँग गरिएको भिडियो कुराकानी : 

भिडियो संवाद

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १९:१२:४५,   अन्तिम अपडेट : चैत २४, २०७७ मंगलबार १९:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया