कर्णालीमा नयाँ सरकारका लागि गृहकार्य सुरु
​कांग्रेस र राप्रपासँग छलफल अघि बढाउँदै एमाले

कर्णाली प्रदेशमा नेकपा एमालेले नयाँ सरकार निर्माणका लागि गृहकार्य सुरु गरेको छ । मंगलबार एमालेबाट सरकारमा सहभागी भएका तीन मन्त्रीले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि बहस सुरु भएको छ ।  

एमालेबाट मन्त्री भएका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

मन्त्रीहरुले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल चलाउने निर्णय गरेको छ । दलको बैठकले नयाँ सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग समन्वय र सहकार्य गर्ने जिम्मेवारी एमाले संसदीय दलका नेता यामलाल कँडेललाई दिएको छ । कँडेलको नेतृत्वमा एमालेले नयाँ सरकार निर्माणका लागि पहल गर्ने प्रदेशसभा सांसद एवं एमाले सांसद सुशील थापाले बताए । 

सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युँताएपछि चैत्र ४ गते कर्णाली प्रदेशसभा एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, एमालेको माधव नेपाल समूहले निर्णयप्रति असहमति जनाउँदै सरकारमाथिको समर्थन कायमै राखेको थियो । ओली पक्षका नेताहरुको लामो समयको प्रयासपछि कर्णालीमा एमाले एक भएको हो । समर्थन फिर्ता लिएको निर्णय चैत्र ५ गतेबाट लागू हुने गरी प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको छ । 

कर्णालीमा प्रदेशसभाका ४० सदस्यमध्ये एमालेका सभामुखसहित २० सांसद छन् । माओवादीका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि सो पार्टीमा १२ जना मात्रै छन् । धर्मराज रेग्मीलाई माओवादीले सांसद पद नै जाने गरी कारबाही गरिसकेको छ । यस्तै, नेपाली कांग्रेसका ६ र राप्रपा नेपालका एकजना सांसद छन् । यस्तो अवस्थामा सभामुखको मत निर्णायक हुने बताइएको छ । 
नेकपा एमाले संसदीय दलको बैठक ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १७:५२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया