नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संकटमा नपरेको बताएका छन्। कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै देउवाले यस्तो बताएका हुन्।
उनले पार्टीभित्र कुनै विवाद नरहेको जानकारी दिँदै कांग्रेस संकटमा नपरेको दावी गरेका छन्।
‘पार्टीभित्र कुनै विवाद छैन । नेपाली कांग्रेस हिजो पनि संकटमा थिएन, आज पनि छैन, र भोलि पनि हुँदैन', उनले भने, 'कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाएका छौं। पार्टीमा धेरै पटक हामी हारेका छौं, धेरै पटक जितेका छौं । त्यसकारण आफैंले आफैंलाई कमजोर पार्ने काम गर्ने छैनौँ। कांग्रेस संकटमा पनि छैन ।’
सभापति देउवाले जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताए । ‘छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो,' उनले भने, 'केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो।’
आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको भन्दै उनले लोकतन्त्रलाई संस्थागत गरे मात्रै नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताए । ‘लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्किनेछ’, उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।