कर्मचारीमा झिङ्गा टसाइ सोच हटेन, ढिलासुस्ती र भ्रष्टाचार घटेन : उपप्रधानमन्त्री पोखरेल
मुख्य सचिव भन्छन् : कर्मचारीको मनोबल बढाउने कार्यक्रम चाहियो

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन आमूल परिवर्तन आवश्यक भएको बताएका छन् । उनले निजामती कर्मचारी झिङ्गा टसाइ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरे । यो सोचबाट मुक्त भएर प्रक्रियाभन्दा परिणाममा जोड दिनुपर्ने उनले बताए ।

सिंहदरबारमा बुधबार आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको उनले बताए ।

‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव । निजामती प्रशासन अझैसम्म झिङ्गा टसाइ सोचबाट मुक्त हुन सकेको छैन', उनले भने, 'त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिच्किचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको बताए ।

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । कर्मचारीतन्त्र निष्पृय, असंवेदनशील र जड समूह नभएकाले कर्मचारी तन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरूको विवेकशील समूहका रुपमा स्थापित गर्न सक्नुपर्ने बताए ।

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि पोखरेलको जोड थियो । 



कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने बताए । कर्मचारी प्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्रशासनको मुख्य चुनौती भएको उनको टिप्पणी थियो  ।

‘निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन । यसलाई सकारात्मक बनाउने काम हाम्रो हो । निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो । हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो', उनले भने, 'अनुशासित, मर्यादित रुपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शी ढङ्गले विना ढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । निजामती सेवा भ्रष्टाचारबाट टाढा रहनुपर्छ, हामी सबैले भन्दै आएको मान्यता हो । यो सेवालाई भ्रष्टाचारमुक्त बनाउने दायित्व पनि हाम्रै हो ।’



निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र कर्मचारीको मनोबल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने बैरागीले बताए  । ज्ञान र सीपमा लगानी नगरी प्रतिस्पर्धामा उत्रन नसक्ने पनि बैरागीले बताए ।

निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको उनको धारणा थियो । देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि उनले जोड दिए ।

भिडियो

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १४:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया