कोरोना भाइरसका यी तीन भेरियन्ट, जसले नेपालमा पनि खतराको घण्टी बजाए
चाँडो फैलिने युके भेरियन्टका संक्रमित नेपालमा बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा विश्वभर फैलिएका तीन भेरियन्टले खतराको घण्टी बजाएको जनाएको छ। पछिल्लो समय विश्वभर फैलिएका तीनवटा भेरियन्टका कारण नेपाल पनि उच्च जोखिममा परेको मन्त्रालयले जनाएको हो।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले एक वर्षअघि फैलिएको कोरोनाले विश्वभर नयाँ भेरियन्ट बनाएकाले अझै सतर्कता आवश्यकता रहेको बताएका छन्। 'विश्वमा सबैभन्दा चासोका भेरियन्टहरु तीनवटा छन्। ती तीनवटै भेरियन्टबाट नेपाल उच्च जोखिमा छ। बढी असरदार र बढी संक्रामक अनि जटिलता बढाउन सक्ने यी भेरियन्टबाट जोगिन सतर्क हुनु आवश्यक छ', उनले भने, 'अहिले सबैभन्दा छिटो फैलिने बेलायतमा भेटिएको भेरियन्ट नेपालमा पनि फैलिसकेको छ।'

पौडेलका अनुसार नेपालमा बेलायतमा पत्ता लागेको बी.१.१.७ नाम गरेको भेरियन्ट देखिइसकेको छ। यो भेरियन्टका बिरामी केही सातायता उकालो लाग्दै गएका छन्। उनका अनुसार यो भेरियन्ट विश्वका १३० भन्दा धेरै देशमा पुगिसकेको छ। 

'नेपलमा पनि यो भेरियन्ट आइसकेको छ। विगत केही हप्तायता नेपालमा युके भेरियन्टसँग मिल्दो भाइरस र संक्रमितहरु भेटिएका छन्', उनले भने, 'राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यही भेरियन्टका कोरोना संक्रमित भेटिने क्रम बढिरहेको छ। जुन भेरियन्टले भारतमा विकराल रुप लिइसकेको छ।'

पौडेलले नयाँ भेरियन्टले गम्भीर स्वास्थ्य समस्या पनि ल्याइरहेको बताए। 'नयाँ भेरियन्ट तीव्र संक्रामक छ। यो एकजनाबाट अर्कोमा तीव्र गतिमा फैलिन्छ', उनले भने, 'यो भेरियन्टले भेटेमा बिरामीलाई अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ', उनले भने,  'यसले छिटोभन्दा छिटो संक्रमण फैलिन्छ, नजिकका मान्छेलाई चाँडो देखिने गरेको छ।'

नयाँ भेरियन्टका कारण अस्पताल भर्ना दर पनि बढेको उनले बताए। 'नयाँ भेरियन्टका बिरामीहरु अस्पताल नै भर्ना  गर्नुपर्ने अवस्था आइरहेको छ', पौडेलले थपे, 'आइसियु र भेन्टिलेटर पनि धेरै चाहिने अवस्था छ।'



त्यसैगरी विश्वभर फैलिएको अर्को भेरियन्ट दक्षिण अफ्रिकाबाट फैलिएको बी.१.३५१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो भेरियन्ट अहिलेसम्म विश्वका १८० देशमा फैलिएको उनले जानकारी दिएका छन्। 

पछिल्लो समयमा ब्राजिलमा भेटिएको पी दशमलब १ नामक भेरियन्ट पनि भारतमा देखिएको उनले बताए। 'तीनैवटा भेरियन्ट भारतमा फैलिसकेको छ। भारतबाट आउने नेपालीमा बेलायतबाट फैलिएको भेरियन्ट धेरै देखिइरहेको छ', उनले भने, 'ब्राजिलमा देखिएको भेरियन्ट पनि नेपालमा फैलिने उच्च जोखिम छ। यी भेरियन्टले छिटो संक्रमण फैलिने भएकाले लापरवाही गर्दै नगरौँ।'



  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १७:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया