सरकारले भन्यो : एक सिट खाली गरेर गाडीले यात्रु बोक्नू, विद्यालयमा सतर्कता बढाउनू
मन्दिर र सार्वजनिक स्थानमा सामाजिक दूरी कायम गर्न आग्रह

सरकारले कोरोनाको दोस्रो लहरले जोखिम निम्त्याउन लागेको भन्दै बढी भीड हुने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड-१९ सम्बन्धी नियमित अपडेटमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले यस्तो बताएका हुन्। 

उनले अहिले बढी भिड रहेका क्षेत्रहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत गराएका छन्। विद्यालय, मन्दिर र बढी भीड हुने अन्य क्षेत्रमा अहिलेबाटै सामाजिक दूरी कायम गर्न उनले भनेका हुन्। 'विद्यालयमा सामाजिक दूरी र जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु जरुरी छ', उनले भने, 'महामारी फैलिन नदिन अहिलेबाटै सतर्कता अपनाऊँ। यदि महामारीको अवस्था आयो भने सरकारले फेरि विद्यालय बन्द गर्न सक्छ

त्यस्तै प्रेस ब्रिफिङका क्रममा पौडेलले सार्वजनिक यात्रुवाहक सवारी साधनले पनि अब सामाजिक दूरी कायम गर्न जरुरी भइसकेको उनले बताए। 'कोरोनाको दोस्रो लहरसँगै आएका तीव्र गतिमा फैलिने नयाँ भेरियन्टले जोखिम बढाएको छ। सार्वजनिक सवारीसाधनहरूले सतर्कता अपनाउनुहोला। सवारीसाधनमा यात्रु बोक्दा अब एक सिट खाली गरेर चलाउनु राम्रो हुनेछ। महामारी आउनुअघि नै सतर्कता अपनाऊँ, समयमै सचेत बनौँ, आतंकित होइन।'

पौडेलले सार्वजनिक स्थानमा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरे। 'सार्वजनिक स्थानमा सामाजिक दूरी कायम गरौँ। अनावश्यक भीड नगरौँ, बढी जोखिम क्षेत्रमा नजाने गरौँ', उनले भने, 'समयमै यी क्षेत्रमा कडाइ नगरेर भोलि अवस्था विकराल भएर लकडाउन गर्नुपर्छ। मन्दिर लगायत क्षेत्रमा पनि नियम पालना गराऊँ, सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गरेर मात्रै दर्शन गर्ने व्यवस्था गरौँ।'





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १७:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया