चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्ने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।
केही दिनअघि मात्रै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने संशोधित अनुमान गरेसँगै आइएमएफले भने नेपालको आर्थिक वृद्धिदर करिब ३ प्रतिशत नै पुग्ने प्रक्षेपण गरेको हो ।
यस्तै, आइएमएफले आगामी आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा नेपालको आर्थिक वृद्धिदर क्रमशः ४.२ र ५.२ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
आइएमएफले विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक, २०२१)को प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस्तै आईएमएफका अनुसार, सन् २०२१ मा छिमेकी मुलुक भारतको अर्थतन्त्र १२.५ प्रतिशत र चीनको अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने पूर्वानुमान गरेको छ ।
जबकी सन् २०२० मा भारतको अर्थतन्त्रमा ८ प्रतिशतको संकुचन आएको छ भने चिनियाँ अर्थतन्त्र सन् १९९२ यताकै सबैभन्दा कम २.३ प्रतिशतमा सिमित रहेको छ ।
विश्व अर्थतन्त्रमा ६ प्रतिशतको वृद्धि
आइएमएफले सन् २०२१ र २०२२ मा विश्व अर्थतन्त्रमा बलियो सुधार हुने प्रक्षेपण गरेको छ । गत जनवरीमा आइएमएफले गरेको प्रक्षेपणलाई अपग्रेड गर्दै नयाँ प्रक्षेपण गरेको हो ।
यद्यपि यस्तो सुधार विभिन्न देशहरुबीचमा खतरनाक हिसाबले फरक फरक हुने समेत आइएमएफले चेतावनी दिएको छ । आईएमएफका अनुसार, सन् २०२१ मा विश्व अर्थतन्त्र ६ प्रतिशतले वृद्धि हुनेछ भने सन् २०२२ मा भने ४.४ प्रतिशतमा सीमित रहने छ ।
प्रक्षेपण गरिएको यो वृद्धिदर गत जनवरीमा गरिएको भन्दा बढी रहेको छ । मुख्यगरी, विश्वका विकसित अर्थतन्त्र त्यसमा पनि अमेरिकी अर्थतन्त्रमा बलियो सुधार हुने आईएमएफको अनुमान छ ।
आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले एक ब्लगमार्फत स्वास्थ्य र आर्थिक क्षेत्रमा स्पष्ट देखिने गरी संकट देखिएको बताएकी छिन् । तर पछिल्लो समय शुरु भएको खोप अभियानका कारण धेरैजसो अर्थतन्त्रमा यो वर्ष सुधारको बलियो प्रभाव देखिने छ ।
खोप अभियान कम भएका, अर्थतन्त्रलाई सीमित सहयोग हुने आर्थिक नीति ल्याएका र पर्यटनमा आश्रित अर्थतन्त्रमा भने कम सुधार हुने उक्त ब्लगमा उल्लेख गरिएको छ । त्यस्तै, खासगरी विकासशील मुलुकमा अघिल्ला दुई कारणले प्रभाव पारेको समेत ब्लगमा उल्लेख छ ।
आईएमएफका अनुसार, चीनजस्ता ठूलो एवम बलियो अर्थतन्त्र भएको देश पुनः उदाउँदा विश्व अर्थतन्त्र कोरोना महामारी अघिकै अवस्थामा फर्किसकेको छ । तर अन्य थुप्रै मुलुकको अर्थतन्त्र भने सन् २०२३ पछि मात्रै पुनरुत्थान हुने आईएमएफको ठम्याई छ ।
रिपोर्टका अनुसार सन् २०२० देखि २०२२ सम्म उक्त कमजोर अर्थतन्त्र भएको देशहरुमा प्रतिव्यक्ति आयको सञ्चित नोक्सानी २० प्रतिशत हुन सक्नेछ । तर विकसित मुलुकहरुमा भने प्रतिव्यक्ति आयको सञ्चित नोक्सानी ११ प्रतिशत रहने आईएमएफको प्रक्षेपण रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।