बागमती संसदमा ३ दिनदेखि माओवादीको अवरोध

बागमती प्रदेशसभाको बैठक लगातार अवरुद्ध भइरहेको छ । भर्खरै प्रमुख प्रतिपक्षी दलको भूमिका पाएको नेकपा (माओवादी केन्द्र)का नेताहरुले राष्ट्रिय सरोकारको विषयमा स्पष्ट जवाफको माग गर्दै बैठक अवरुद्ध गरेका हुन् । 

मंगलबारबाट सुरु भएको प्रदेशसभाको बैठकमा प्रतिपक्षी दलका नेता शालिकराम जमरकट्टेलले पछिल्लो समय गुटको राजनीति गर्न सरकारको पैसा खर्च भइरहेको आरोप लगाएका थिए । उनले सरकारले मदन भण्डारी फाउन्डेसनका नाममा दिएको ५० लाखको औचित्य पुष्टि गर्नसमेत माग गरेका थिए । मुख्यमन्त्री डोरमणि पौडेलले गुटको राजनीतिलाई हेर्दै रकमान्तर गरेर आफ्नो पकड क्षेत्रमा मात्रै पैसा थुपारेको, फरक दलबाट निर्वाचित स्थानीय तहलाई दिनुपर्ने समपूरक बजेटसमेत नदिएको भन्दै उनले यसबारे जवाफ आउन नसकेसम्म संसद चल्न नदिने चेतावनी दिएका थिए ।

उक्त सवालहरुको जवाफ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिए । बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रम उल्लेख भएअनुसार नै प्रदेशका विभिन्न जिल्लामा कुनै प्रकारको विभेद नराखी समान बजेट तथा योजनाको बाँडफाँड गरिएको बताए । सरकारले आर्थिक मापदण्ड अपनाएर मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको र सो रकम सत्तारुढ दलको राजनीतिक स्वार्थ पूरा गर्न नभई सर्वसाधारणको हितका लागि उपलब्ध गराएको पौडेलले स्पष्ट पारे ।  

पौडेलले प्रदेश सरकारको आफ्नो नीति कार्यक्रममा उल्लेख गरिएअनुसार नै आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारीसाधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको र सो अभियानमा प्राविधिकले दिएको रायअनुसार बस सञ्चालनका लागि रुट निर्धारण गरिसकिएको बताएका थिए । 

हेटौँडाबाट संघीय राजधानी काठमाडौंलगायत प्रदेशका विभिन्न जिल्लाको सहरमा जोड्ने विद्युतीय बस सञ्चालनको लागि प्रथम चरणमा प्रदेश सरकारले अहिले ३० वटा विद्युतीय बस खरिदका लागि बोलपत्र आह्वान गरिसकिएको पनि मुख्यमन्त्री पौडेलले जानकारी दिएका थिए  । तर, जवाफ चित्त नबुझेको भन्दै प्रतिपक्षी माओवादीले बागमती प्रदेशसभाको बिहीबारको बैठक पनि अवरुद्ध गरेको छ । 

नेकपा माओवादीका नेताहरुले बैठक अवरुद्ध गर्नुअघि प्रदेशसभा बैठकको विशेष समयमा चार दलका नेताले धारणा व्यक्त गरेका थिए । धारणा व्यक्त गर्नेमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका नेता रमेश पौड्याल, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं र राप्रपाकी रिता माझीले आफ्ना भनाइ राखेका थिए । बैठक अवरुद्ध भएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् । 



बिहीबार प्रदेशसभाको बैठक बस्नुअघि सर्वदलीय बैठक पनि बसेको थियो । उक्त बैठकमा नेकपा माओवादी केन्द्रका नेता आफ्नो अडानबाट नहटेको र प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।



  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार २१:८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया