कोभिडको दोस्रो लहर : विद्यालयसहित २५ जना बढी जम्मा हुने क्षेत्र बन्द गर्ने तयारी

कोभिड-१९ को दोस्रो लहरको असर नेपालमा पनि देखिन थालेपछि सरकारले फेरि विद्यालय बन्द तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नका लागि सरकारलाई सिफारिस गरेको हो। 

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भारतमा विकराल रुप लिइसकेको कोरोनाको दोस्रो लहर रोक्नका लागि विद्यालय बन्द गर्न  सिसिएमसीलाई सिफारिस गरिएको बताएका छन्। 

'पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ', उनले भनेका छन्, 'नेपालमा पनि बेलायतबाट फैलिएको नयाँ भेरियन्ट फेला परेको छ। बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस नेपालका विद्यार्थी र सर्वसाधारणमा फेला परिसकेको छ।'

विद्यार्थीहरुमा देखिएको नयाँ भेरियन्ट फैलिन नदिन विद्यालयहरु बन्द गर्नेतर्फ सरकारले तयारी गरेको उनले बताए। 'नयाँ भेरियन्ट रोक्न स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरिसकेको छ', उनले भने, 'यसबारेमा थप निर्णय शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्‍मा छलफल गरेपछि लिइनेछ।'

अहिलेको स्थितिमा विद्यालय बन्द गरेर अनलाइनबाटै पठनपाठन सञ्चालन गर्न आफूहरुले सिफारिस गरेको उनले बताए। प्रवक्ता गौतमले नयाँ प्रकारको भाइरसले थप चुनौती दिँदै गएको पनि बताए। उनले त्यहीकारण आमजनता सजग हुनुपर्नेमा पनि जोड दिएका छन्। 

२५ जना बढी भेला हुन नदिने 



सरकारले दोस्रो चरणको कोरोना फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द तयारी गरेको हो। उनका अनुसार २५ जनाभन्दा बढी भेला हुने क्षेत्र र स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने स्थान बन्द गर्न बुधबार नै सिसिएमसीलाई सिफारिस गरिएको छ । 

सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द र स्विमिङ पुल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ। केही महिनादेखि विद्यालय र कलेज भौतिक उपस्थितिमा नै खुलिरहेका छन्। पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा भीड देखिन थालेको छ। 
 
बिहीबार मात्रै तीन महिनायताकै धेरै ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ। बेलायतबाट फैलिएको भेरियन्ट सबैभन्दा संक्रामक मानिएको छ। 



  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार ११:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया