देउवा निवासमा ओली हटाउने बैठक, जसपालाई मनाउने अन्तिम प्रयास

प्रधानमन्त्री केपी ओलीलाई बिदा गरेर नयाँ सरकार निर्माणका लागि  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा तीन दलका नेता आज जुट्दैछन्। 

कांग्रेस केन्द्रीय समितिबाट ओलीको राजीनामा माग्ने निर्णय गरिसकेका सभापति देउवाले आज नयाँ सरकार निर्माणको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितलाई आफ्नो निवासमा बोलाएका हुन्।

ओलीले सत्ता छाड्न नचाहेको अवस्थामा उनलाई बिदा गर्न देउवाले १३८ जना सांसदको ग्यारेन्टी खोज्न अन्य दुई दलका नेतासँग आज संवाद गर्न लागेका हुन्। देउवालाई नयाँ सरकारका लागि माओवादी र जसपाका पूरै सांसदको साथ चाहिन्छ। अनि मात्रै ओलीविरुद्ध संसदमा अविश्वास दर्ता हुन सक्छ।

कांग्रेससँग ६१, माओवादीसँग ४९ र जसपासँग  अहिले ३२ सांसद छन्। उता एमालेसँग १२१ सांसद रहेका छन्। यस्तोमा ओलीले जसपाका १५ देखि १८ सांसदको साथ लिन सके भने उनको सत्ता जोगिन्छ। उता कांग्रेस र माओवादीलाई भने जसपाका पूरै ३२ सांसदको साथ मिले मात्रै ओलीविरुद्ध अविश्वास दर्ता हुन सक्छ।

नयाँ सत्ता समीकरणमा अहिलेसम्म मौन देउवाले शुक्रबार दिउँसो ३ बजे माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्न लागेका हुन्। तर जसपा अध्यक्ष ठाकुर ओलीसँग कन्भिन्स भइसकेका छन्। उनलाई ओलीले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिने बचन दिएर प्रक्रिया अघि बढाइसकेका छन्। 

नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णयको एक सातापछि देउवाले आज दिउँसो ३ बजे संसदका प्रमुख दुई दलसँग छलफल गर्न लागेका हुन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन थप अगाडि बढाउन नसक्ने बताएपछि देउवा तातेका हुन्। 



तर ओलीसँग निकट रहेका महन्थ ठाकुरलाई मनाउन देउवालाई चर्को पर्ने देखिन्छ। जसपामा ठाकुरसँगै बहुमत रहेको छ। माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा सहमति जुटेपछि समर्थन फिर्ता लिने बताएका छन्। 

त्यसपछि देउवाले तीन पक्षीय छलफल बोलाएका हन्। कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० गतेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय लिएको थियो । 



  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १२:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया