निजामती कर्मचारी युनियन संघको शुक्रबार काठमाडौंमा गरिएको विधान अधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने कुरामा देउवाले अग्रसरता नलिएको भन्दै पौडेलले आक्रोश पोखेका थिए।
मञ्चमा भाषण सकेर झरेपछि पौडेलले देउवाको मुखमै औँला लैजाँदै वादविवाद गरे। देउवा पनि पौडेलले आफूलाई इंगित गर्दै ओलीसँग मिलेको आरोप लगाएपछि आक्रोशित थिए। उनले मञ्चमा पुगेर पौडेलले बोलेपछि आफू पनि बोल्न बाध्य भएको बताए।
दुई नेताबीच भनाभन चल्दा कार्यकर्तामा हल्लीखल्ली भएको थियो। मञ्चबाट भाषण सकेर आएपछि देउवासँग उभिएरै भनाभनमा उत्रिएका पौडेल बसेर पनि विवाद गरिरहे। मञ्चमा आफ्नो सिटसँगै बसेका विमलेन्द्र निधिसँग कुरा गर्न थालिरहेका पौडेलसँग उनको कुरालाई लिएर देउवाले प्रतिवाद गरिरहे। त्यसपछि पनि पौडेल-देउवा भनाभन चलिरह्यो।
भिडियो
त्यसबीचमा निजामती कर्मचारी र कार्यकर्ताबीच हाँसोसहित होहल्ला भएपछि उद्घोषकले त्यसलाई विवादका रुपमा भन्दा छलफलका रुपमा बुझिदिन भने। त्यसपछि देउवा मञ्चबाट उठेर भाषण गर्न ड्यासमा पुगे। उनले पौडेलजीले बोलेकाले आफूले जवाफ दिन बाध्य भएको भन्दै भाषण गर्न थाले।
जवाफमा देउवाले कांग्रेसलाई भोटै नहालेर जनताले सानो पार्टी बनाइदिएकाले चुनावमा जाऊँ भनेको बताए। उनले दुइटा पार्टी मिले जनताले भोट हालेकाले आफूहरुले केही गर्न नसकेको बताए। जनताले कांग्रेसलाई हराएकाले अब जनताकै घर दैलोमा जाऊँ भनेको पनि सुनाए। देउवाले ओलीलाई हटाउन तयार भएको बताउँदै यदि नसकिएमा चुनावबाहेक अर्को बाटो हुन नसक्ने उल्लेख गरे।
पौडेलले के भने ?
पहिले बोलेका पौडेलले देउवाले ओलीको प्रतिगामी कदममा साथ दिएर ताजा जनादेशको रटान लगाएको गुनासो गरे। पौडेलले कांग्रेसले माओवादी र एमाले मिल्न दिएर एउटा चान्स मिस गरेकै बताउँदै अर्को चान्स मिस गर्दा रुनु न हाँस्नु हुने तर्क गरे।
'एमाले र माओवादी केन्द्र मिल्ने बेलामा हामी रमिते बन्यौँ। फेरि पनि जोखाना हेरेर चान्स मिस गर्ने हो भने पछि टाउको समातेर बस्ने अवस्था आउँछ', उनले भने, 'चुनाव चुनाव चुनाव नभनौँ केपी ओलीले पनि त चुनाव भनेका छन्। तर उनको प्रतिगामी कदमलाई आँखा चिम्लेर समर्थन जनाएर अघि बढ्न सकिन्न।'
पौडेलको भाषण
उनले प्रधानमन्त्री एउटै कुराका कारण उनको लोकतन्त्रप्रतिको विश्वास छर्लङ्ग भएको बताए। 'उनलाई निरंकुश हुन जोगाउन संविधानले व्यवस्था गरेको छ', उनले भने, 'संवैधानिक परिषद्लाई निजी बनाउन खोजेको कुराले नै उनी लोकतन्त्रको भर्याङ चढेर सर्वसत्तावादतिर जाँदैछन् भन्ने कुरा पुष्टि हुन्छ।'
पौडेलले ओली कति निरंकुश छन् भन्ने कुरा अहिले दिनदिनै भोगेका कुराबाट थाहा भएको बताए। 'यो पीडाबाट मुक्ति दिने कि नदिने हो?', उनले सोधे, 'पार्टी थला परेको छ, महाधिवेशन भएको छैन चुनाव चुनाव चुनाव भनेर मात्रै हुन्छ?'
उनले ओलीको प्रतिगामी कदमको लेखाजोखा हुने पनि बताए। 'चुनाव चुनाव भनेर मात्रै सुख पाइँदैन। निरंकुशतातिर गएको सत्ताको विकल्प खोजिनुपर्छ', उनले थपे,'अरु पार्टीसँग मिलेर हामीले यो सरकारलाई बदल्नुपर्छ।'
जवाफमा देउवा
जवाफमा देउवाले कांग्रेसलाई भोटै नहालेर जनताले सानो पार्टी बनाइदिएकाले चुनावमा जाऊँ भनेको बताए। 'दुइटा पार्टी मिले जनताले भोट हाले त हामीले के गर्नु। जनताले हराए त हामीले के गर्नु। त्यही भएर हामी जनताको घर दैलोमा जाऊँ भनेको', उनले भने, 'हामी कांग्रेस हौँ, धाँधली गर्दैनौँ। जनताको भोट हामीले पाउनुपर्छ। ओलीलाई हटाउने त हो तर भए न भने पनि हामी चुनावमै जानैपर्छ। चुनावबाहेक अर्को बाटो हुन सक्दैन।'
देउवाको भाषण
उनले ओलीलाई बिदा गर्ने निर्णय पार्टीले लिइसकेको पनि बताए। 'कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिइसकेका छौँ, यसमा तपाईंहरुलाई पनि धन्यवाद छ', उनले भने, 'तर म आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन। मैले आज पनि बैठक राखेको छु। नयाँ सरकार बने ठीकै तर त्यसो भएन भने चुनाव उपयुक्त विकल्प हो, त्यसका लागि हामी सबै तयारीमा जुट्नुपर्छ।'
देउवाले नेपालको संविधान अनुसार एक चौथाइ सदस्यले कुनै विषय लिएर संसद बोलाउन माग गर्न सक्ने बताए। तर आफूसँग त्यो संख्या पनि नभएकाले समस्या भएको सुनाए। 'ओलीलाई हटाउने सांसद संख्या अझै पनि हामीसँग पुगिसकेको छैन', उनले भने, 'हटाउन संख्या त पुग्नुपर्यो नि! त्यतिकै हटाऊँ हटाऊँ भनेर मात्रै हुन्छ?'
उनले कांग्रेसलाई भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको सुनाए। 'हाम्रा लागि कसैले संविधान संशोधन गरिदिँदैन', उनले भने, 'संविधान संशोधन गर्न पनि दुईतिहाइ चाहिन्छ। अहिले त्यो अवस्था छैन। अब हामीले महाधिवेशन पनि गर्नैपर्नेछ।'
उनले ओलीलाई बिदा गर्ने निर्णय पार्टीले लिइसकेको पनि बताए। 'कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिइसकेका छौँ, यसमा तपाईंहरुलाई पनि धन्यवाद छ', उनले भने, 'तर म आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन। मैले आज पनि बैठक राखेको छु। नयाँ सरकार बने ठीकै तर त्यसो भएन भने चुनाव उपयुक्त विकल्प हो, त्यसका लागि हामी सबै तयारीमा जुट्नुपर्छ।'
देउवाले अहिले देशमा देखिएको राजनीतिक संकटको प्रमुख दोषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको बताए। २०७४ को स्थानीय तह निर्वाचनमा चितवनमा रेणु दाहाललाई जिताउन तालमेल गरेका देउवाले आमनिर्वाचनपछि पनि आफूले त्यही प्रस्ताव प्रचण्डलाई राखेको बताए।
'आमनिर्वाचनपछि मैले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थिएँ। तर वाम एकता भन्दै प्रचण्डजीले ओलीलाई सत्ता सुम्पिदिए। मैले पटक पटक प्रधानमन्त्री बन्नु भनेँ तर मानेनन्। आफैँ ओलीलाई सत्ता बुझाएर खुट्टा नटेक्नेलाई अहिले ओलीले लात हानेपछि ठीक भएको छ। वास्तविक कुरा यो नै हो।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।