'कोरोनाको दोस्रो लहर आइसक्यो, २५ जनाभन्दा धेरै भेला नहुनू'
अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढ्न थालेको भनाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।

मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

अहिलेका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको बताउँदै उनले संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए। ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ', उनले भने, 'जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं।'

उनले कोभिड–१९ का केसहरु गत महिनाभन्दा बढेर गएको बताए। 'अस्पतालमा आइसियुमा विरामीहरु धेरै नै भर्ना भइसकेका छन्', उनले भने, 'त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौँ भने फेरि संक्रमण एकदम बढेर जान्छ।’

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए। त्यसका लागि भिडभाड नगर्ने, दुरी काय गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए। यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेसालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताए। 

‘कहीँ न कहीँ कोरोना सर्ने जुन साइकल छ, ट्रान्समिसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ। त्यो ब्रेक गर्नु भनेको भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने, र लक्षण देखियो भने तुरुन्त जाँच गराएर उपचार पनि गर्ने हो', उनले भने, 'त्यो गर्न हामीले भिडभाड हुने सबै व्यवसाय, पेसालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्न चाहिँ मिल्छ। अब डिस्टेन्सिङ कायम नगरी कुनै पनि काम गर्न मिल्दैन भनेको हो ।’



छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शङ्कास्पद देखिएका विरामीको एन्टिजेन परीक्षण र व्यवस्थापनलाई तीव्रता दिएको पनि प्रवक्ता गौतमले बताए। 

‘सीमा नाकामा र अन्त संकास्पद देखिएका ठाउँमा हामी एन्टिजेन टेस्ट गर्‍यो भने हामी छिटो व्यवस्थापन गर्न सकिन्छ । जो पोजेटिभ आयो उसलाई आइसोलेसनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेसन सेन्टरमा पठाउने गरिन्छ', उनले भने, 'जो नेगेटिभ आयो उसलाई घरमै क्वारेन्टाइनमा बस्नु भनेर पठाउने, पाँचवटा मास्क पनि दिएर पठाउने, १० वटा मास्क दिएर पठाउनु भनेका थियौं। कतिपय ठाउँमा मास्कको पनि सप्लाई हुँदै होला, पाँचवटा दिएर पठाएको भन्‍ने रिपोर्ट आएको छ । त्यसरी पठाउने एउटा सीमाको कुरा यो भयो ।’



पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको पनि प्रवक्ता गौतमले बताए। त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै विरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताए। 

'लक्षणहरु उस्तै हो तर लक्षणहरु अलि सिरियस, जटिल लक्षणहरु देखिराखेका छन् । मान्छेहरु विरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने विरामीहरुको संख्या ह्वात्तै बढेको छ', उनले भने, 'त्यसको मतलब संक्रमण भएकाहरुमा जटिल क्षणहरू धेरै देखिएको छ । जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ ।’

गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतमले बताए। गत वर्ष रोगको बारेमा र यसको व्यवस्थापनको बारेमा केही पनि थाहा नभएको तर यसपटक औषधि भन्दा पनि अक्सिजन र रोगसँग लड्नुपर्ने अन्य सामग्रीहरुको जोहो गर्नुपर्छ भन्ने थाहा भएकोले सोही अनुसारको तयारी गरिएको बताए।

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १५:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया