एक्लिएका प्रचण्ड
आफ्नैले छाडेपछि पराइको साथ खोज्दै

कुनै समय यस्तो थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ठाउँको ठाउँ निर्णय लिन्थे । भलै उनका ती निर्णय विवादित किन नहोऊन् । तर, अहिले अवस्था फेरिएको छ। उनीसँग निर्णय क्षमता मात्रै गुमेको छैन, आदेश दिनै नसक्ने अवस्थामा पुगेको पछिल्ला राजनीतिक दृश्यले देखाइरहेको छ । 

१० वर्षे जनयुद्धको कमाण्डर हुँदै नेपाली राजनीतिमा एकछत्र हुँदै आएका प्रचण्डले यसबीचमा धेरै निर्णय एक्लै गरे । एक्लै गरेका गरेका निर्णयकै कारण अहिले आफू ‘एक्लिँदै’ गएको महसुस उनले गरिरहेका छन् । 

हुँदाहुँदा ओलीले विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनःस्थापना गरेको डेढ महिना बितिसक्यो । ओलीलाई विस्थापित गरेर सत्ताको बागडोर सम्हाल्ने त परै जाओस्, यतिबेला प्रचण्डले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकेको छैन। 

यसपछि धेरैको विश्लेषण प्रचण्ड कमजोर हुँदै गएको हुन थालेको छ। संसद विघटनको निर्णयलाई असंवैधानिक भनेर सर्वोच्चले गरेको फैसलाबाट उत्साहित प्रचण्ड सर्वोच्चले नै पार्टीको आधिकारिकता अरुलाई जिम्मा लगाइदिएपछि अन्योल नै अन्योलमा छन् । 

एकपछि अर्का सारथि गुमाउँदै

नेत्र विक्रम चन्द, सिपी गजुरेल, मोहन वैद्य, बाबुराम भट्टराई जस्ता सह योद्धाहरुलाई गुमाएको तीतो अनुभव छ प्रचण्डसँग । जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि प्रचण्डले वैद्य, गजुरेल र विप्लवलाई २०६९ सालमै गुमाए । त्यसबेला साथ छाडेका बादल पार्टीमा त फर्किए तर अहिले आएर ओलीका बलियो सहयात्री बनिदिए । 



अर्कातिर २०७२ मा आएर जनयुद्धका अर्का प्रभावशाली नेता डा. बाबुराम भट्टराईले पनि प्रचण्डको साथ छाडिदिए । 

वर्तमान ओली सरकारमा सहभागी भएका पाँचजना मन्त्रीहरुले अब प्रचण्डलाई बिर्सिएका छन्। ५ पुसपछिको राजनीतिक घटनाक्रम बढ्दै जाँदा प्रचण्डका आफ्नै किचन क्याबिनेटका खास व्यक्ति गुमाएका छन् । 



जनयुद्धदेखि लामो समय साथ दिएका रामबहादुर थापा बादल, सुदूरपश्चिमका कुशल कमाण्डर लेखराज भट्ट, तरा–ईमधेसमा राम्रो प्रभाव जमाएका प्रभु साह, सुदूरपश्चिमका प्रभावशाली नेता गौरीशंकर चौधरी, नजिकका विश्वासपात्र मणि थापा, दावा तामाङसहितका सहयोद्धा पछिल्ला दिनमा गुमाएका छन्। 

ओलीको क्याबिनेटमा सहभागी ती नेता अहिले प्रचण्डको आलोचनामा ब्यस्त छन् । भलै प्रचण्डले ती सबैलाई आफूतिर फर्काउन सक्दो प्रयास गरे । 
नसकेपछि पार्टी सदस्यता नरहने गरी सांसद पद समेत खोसिएको छ । संसद पद खोसिएसँगै अब उनीहरु तत्काल एमालेबाट पुरानो घरमा नफर्कने निश्चितप्रायः भएको छ । 

कमजोर प्रचण्ड

यी सबै घटनाक्रमले प्रचण्ड यतिबेला कमजोर भएका छन् । राजनीतिक घटनाक्रम बदलिँदै गएपछि यतिबेला सत्ता समीकरण कस्तो बनाउने भन्ने कसरतमा छन् प्रचण्ड। विभिन्न व्यापारीका घर हुँदै एकल सहमतिमा गरिएको एमालेसँगको पार्टी एकता भंग भएपछि प्रचण्ड दौडधूप गरिरहेका छन । कहिले पूर्व सहयोद्धा डा. बाबुराम भट्टराई निवास पुग्छन् भने कहिले कांग्रेस सभापति देउवा निवासमा। 

नेपाली राजनीतिमा विशेष प्रभाव पार्ने भारत र चीन तीनवटैको विश्वास प्रचण्डले गुमाइसकेको टिप्पणी गरिन्छ । प्रचण्डको राजनीतिक चालबारे भारत र पश्चिमा शक्तिमा कुनै भ्रम नरहेको देखिँदै छ ।

जो–कसैलाई उपयोगितावादी सिद्धान्तका आधारमा व्यवहार गर्ने र, एमसीसीबारे स्पष्ट दृष्टिकोण नराख्ने कुराले चीनसमेत प्रचण्डप्रति सशंकित भइरहेको बताइन्छ । यसरी प्रचण्ड चीन, अमेरिका र भारत तीनवटै मुलुकको विश्वास गुमाएको स्थितिमा पुगेकाले नेपालमा उहाँका मसिना इच्छा पनि पूरा हुन छोडेको छ ।

केही महिना अघिसम्म केपी ओलीलाई पन्छाएर आफू प्रधानमन्त्री बन्न अग्रसर प्रचण्ड अहिले केपीलाई हटाएर प्रधानमन्त्री बनिदिने मान्छेको खोजीमा लागेको देखिन्छ। त्यस निम्ति कहिले शेरबहादुर देउवा त कहिले क्षेत्रीयतावादी बाबुराम भट्टराईसँग अनुनयविनय गर्दैछन् । 

यही बीचमा विभिन्न सूत्रमार्फत सम्पर्क गरी पश्चिमा मुलुक र भारतलाई आफ्नो अनुकुल बनाउने प्रयास पनि प्रचण्डबाट भइरहेको छ । 

संसदीय खेल

संसदमा सरकार गठनका लागि एक सय ३८ सिट आवश्यक पर्छ । त्यसमध्ये कांग्रेससँग ६३, माओवादी केन्द्रसँग ५३ (अब ४९) र जसपासँग ३६ सिट छ । 

नयाँ सरकार निर्माण गर्ने वा ओली सरकारलाई नै निरन्तर अघि बढ्न दिने भन्नेमा संसद्को अंक गणितअनुसार जसपा निर्णायक शक्ति हो । जसका लागि उनी निरन्तर वार्ता गरिरहेका छन । जसपाभित्र देखिएको मतभेदका कारण अविश्वासको प्रस्ताव पेश गर्दा वा समर्थन फिर्ता लिँदा आफूलाई पर्ने असहज परिस्थितिबारे पनि प्रचण्ड लगभग जानकार रहेका छन ।

ओलीसँग नफर्कने लडाइँ

नेकपा हुँदादेखि नै ओलीविरुद्ध लडाइँ लड्नपर्ने मनस्थितिमा थिए प्रचण्ड । ५ पुसमा प्रचण्डलाई नै सरप्राइज हुनेगरी ओलीले गरेको निर्णयपछि उनी सार्वजनिक रुपमै मैदानमा उत्रिए । ओलीविरुद्धको ‘लडाइँ’मा प्रचण्ड अब फर्कनै नसक्ने गरी होमिइसकेका छन । र, त्यसको नेतृत्व पनि उनी आफैं गरिरहेका छन् । 

नेकपा हुँदै सचिवालय बैठकमा पनि पटकपटक अपमानित गरेको, पार्टी अध्यक्षको रुपमा अस्वीकार गरेको, पार्टी एकताको भावनाविपरीत गतिविधि गरेको, अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको आरोप उनले लगाएका थिए । 
यसबीचमा प्रचण्डले ओलीसँग धेरैपटक चित्त दुखाए । र, अवस्था विकराल बन्दै गएपछि सार्वजनिक रुपमै एक अर्काको विरोधमा उत्रिएका छन् । 

प्रचण्डको एउटा स्वभाव छ– उनी नरम र कठोर दुवै हुन सक्छन । यो धेरैको पहिल्यैदेखिको टिप्पणी र बुझाइ पनि हो । यो बेलामा प्रचण्डले आफू बलियो बन्नुपर्ने त छँदैछ, ओलीलाई कमजोर पार्ने रणनीति पनि बुन्नु पर्ने बाध्यता छ । आफूसँगै भएका नेता कार्यकर्तालाई सँगै राख्नुपर्ने छँदैछ, असन्तुष्ट हजारौँको साथ फर्काउनुपर्ने चुनौती पनि छ ।

र, त्यो तीन दशकको विरासत

सयौं वर्षदेखि जरो गाडेर बसेको राजतन्त्र हुत्याउन १० वर्षे जनयुद्धले महत्वपूर्ण भूमिका खेल्यो । २०४६ सालमा मोहन वैद्यको ठाउँमा प्रचण्ड पार्टीको महामन्त्री बनेका थिए। 

प्रचण्डले अन्य पार्टीसँग एकता र विभाजनमार्फत देशलाई जनयुद्धमा लगे । युद्धकै क्रममा पनि उनी पार्टीभित्र झन् शक्तिशाली बन्दै गए । हजारौं जनसेना प्रमुख भए । जनयुद्ध हाँकेका प्रचण्डले त्यो बेला कुनै नेताबाट चुनौती व्यहोर्नु परेन। पार्टी लाइनमा तलमाथि परे होलान् तर एकछत्र नेतृत्व गरिरहे।

लामो भूमिगत जीवनबाट खुला राजनीतिमा आएका भए पनि उनको स्वीकारोक्ति ह्वात्तै बढ्यो । फलस्वरुप ०६४ को संविधानसभा निर्वाचनमा जनताले पनि पत्याए । सशस्त्र युद्धबाट आएको नेता र पार्टीप्रति त्यस तहको विश्वास र अपेक्षा अस्वभाविक थियो । 

तर, त्यसपछिका दिनमा प्रचण्डप्रति प्रश्न र आवेग मात्र सुरु भए । पार्टीबाट वैद्य, विप्लव लगायतका धेरै अन्य नेता कार्यकर्ताहरु कहाँ कहाँ पुगे । तर, पार्टी नेतृत्वको रुपमा उनको कुर्सी डगमगाएन । आफू निकटका नेताको सहयोगमा उनले पार्टी चलाइरहे । शक्तिको अभ्यास गरे ।

यसबीचमा गरेका उनकै कतिपय निर्णय भारी बनेका छन्, कार्यान्वयन गर्न सक्छन्, न त पछि हट्न नै सक्छन्। । 

नेकपा हुँदा बलियो साथ पाएको माधव नेपाल समूह एमालेमै रहने भएपछि प्रचण्ड राजनीतिक रुपमा एक्लिएका छन्। आफ्ना सहयात्री गुमाउँदै अहिले प्रचण्ड ‘घर न घाट’ भएर कहिले बूढानीलकण्ठ त कहिले कोटेश्वरमा पुगेर आफ्नै पुराना विरोधी नै फकाइरहेका छन् ।

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १७:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया