आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको प्रस्ताव, माओवादी सकारात्मक, जसपा अनिर्णित

काठमाडौं : प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने रणनीतिको अन्तिम कसरतमा जुटेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच वार्ता सकिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ओलीलाई सत्ताबाट बिदा गर्ने गरी थालिएको प्रयास अन्तर्गत यो पहिलो औपचारिक बैठक हो।

आजको बैठकका केन्द्रीय समितिको निर्णयानुसार कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव माओवादी र जनता समाजवादी पार्टी समक्ष राखेका छन्। प्रवक्ता शर्माका अनुसार ओलीको बिदाइका लागि देउवाले कांग्रेसको नेतृत्वमै सरकार बनाउने प्रस्ताव दुई दलसँग राखेका हुन्। 

कांग्रेस केन्द्रीय समितिबाट ओलीको राजीनामा माग्ने निर्णय गरिसकेका सभापति देउवाले आज आफ्नै अगुवाइमा नयाँ सरकार निर्माण पहल थालेका हुन्। ओलीले सत्ता छाड्न नचाहेको अवस्थामा उनलाई बिदा गर्न देउवाले १३८ जना सांसदको ग्यारेन्टी खोज्न अन्य दुई दलका नेतासँग आज संवाद गरेका हुन्। 

'सत्ता समीकरण बारेमा भएको छलफल सकिएको छ। प्रतिनिधिसभा पुन:स्थापनापछि केपी ओलीलाई बिदा गरेर नयाँ सरकार बनाउन बसेको पहिलो औपचारिक बैठक हो', शर्माले भने, 'नयाँ सरकार कांग्रेस नेतृत्वमा बनाउने कुरामा आजको बैठकमा औपचारिक रुपमा प्रस्ताव राखेका छौँ। यसमा नेकपा माओवादीबाट सकारात्मक प्रतिक्रिया आएको छ। तर जसपाले नयाँ सरकारबारे केही दिनमा औपचारिक निर्णय लिने बताएको छ।'

महन्थले यसो भने

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार बनाउने बारेमा अहिलेसम्म केही नसोचेको बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आयोजनामा बूढानीलकण्ठमा बसेको माओवादीसहितको बैठकमा उनले यस्तो बताएका हुन्।



'उहाँहरुले नयाँ सरकार बनाएर अघि बढौँ भन्ने प्रस्ताव राख्नुभयो। तर हामीले यसबारेमा कुनै छलफल नै नभएको बतायौँ', बैठकपछि उनले भने, 'हामीले सरकार बनाउन रोकेका छैनौँ, बनाउ तपाईंहरु अघि बढ्नुस् भन्ने कुरा मैले बैठकमा राखेँ।'

ठाकुरले बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ताको प्रक्रिया सरकारले अघि बढाइसकेको पनि बताए। 



'सरकारले मुद्दा फिर्ता प्रक्रिया अघि बढाइसकेको छ', उनले भने, 'हामीलाई आजै मात्रै सरकार बनाउने प्रस्ताव आएको छ। तर हामीले यसबारेमा अहिले नै केही उत्तर दिन सक्दैनौँ। हामी सम्भावित विकल्पबारे एक दुई दिन थप छलफल गर्नेछौँ।'

नारायणकाजीको भनाइ 

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने गरी पार्टीले गरेको निर्णयबारे जानकारी गराएको बताए। उनले देउवाले कांग्रेस नेतृत्वमै सरकार बनाउन प्रस्ताव राखेर सहयोग मागेको बताए।

‘तीन पार्टीको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका सभापतिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पार्टीले गरेको निर्णयबारे जानकारी गराउनुभयो,’ श्रेष्ठले भने, ‘यसमा तपाईंहरुको धारणा के छ भनेर सोध्नुभयो। हामीले यो विषयमा सहयोग छ। जसपाबाट पनि  छिटो निर्णय होस् भन्यौँ।’

 

भिडियो

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १७:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया