कुलेखानी सडक आजदेखि बन्द, सिस्नेरी पनि बन्द हुँदै

मकवानपुरको कुलेखानी सडकखण्ड आजदेखि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने कुलेखानीको हेबी-फाखेल सडकखण्ड मर्मत सम्भारका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । 

उक्त सडकखण्डमा आज अर्थात २८ चैतदेखि आगामी २८ वैशाखसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ ।

कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्ड अहिले तत्कालका लागि यातायात सञ्चालनमा रोक नलगाएको जनाएको छ ।

निर्देशनालयका अनुसार सम्बन्धित यातायात व्यवसायी, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको शुक्रबार बसेको संयुक्त बैठकले आज शनिबारदेखि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो ।

उक्त बैठकमा दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार ७:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया