ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि एपिएफलाई

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले हात पारेको छ । 

उसले शनिबारको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको सहज जित निकाल्दै उपाधि हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्य एपिएफले १६.२ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टायो ।

एपिएफका लागि ज्योली पाण्डेले सर्वाधिक ३६ रनको योगदान दिइन् । १२.३ ओभरमा रन आउटको सिकार बनेकी उनले ३८ बलमा ५ चौका प्रहार गरिन् । 

कप्तान सीता रानामगरले २७ रन जोड्दा इन्दु वर्मा १९ र ममता चौधरी १५ रनमा अविजित रहिन् ।

सुदूरपश्चिमका लागि दुवै विकेट रन आउटका रूपमा प्राप्त भयो । 



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो । 

सुदूरपश्चिमका लागि विन्दु रावलले अविजित ४४ रनको योगदान दिइन् । ५४ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरिन् ।



डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन बनाए ।

एपिएफका सीता रानामगर, करुणा भण्डारी, रेखा रावल, विनु बुढामगर र सुष्मा श्रेष्ठले समान १-१ विकेट लिँदा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

विजेता बनेको एपिएफले ३ लाख प्राप्त गर्दा उपविजेतामा सीमित बनेको सुदूरपश्चिमले १ लाख ५० हजारमा चित्त बुझायो ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले चैत २१ देखि आयोजना गरेको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो ।

  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार १४:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया