कांग्रेससँग मिल्न महन्थ ठाकुरमाथि दबाब बढाउँदै उपेन्द्र–बाबुराम
तर महन्थ भन्छन् : ओलीले माग पूरा गर्छन्, उनैलाई सघाउने

आफ्नै नेतृत्वमा सरकार निर्माणमा सघाउन आग्रह गर्दै कांग्रेसले पहिलो पटक अन्य दलसँग छलफल गरेपछि राजनीतिक सरगर्मी बढेको छ।

कांग्रेसको अग्रसरतामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग औपचारिकरुपमा वार्ता गरेपछि राजनीतिक माहोल तात्न थालेको छ।  सत्ता हेरफेरमा कांग्रेसको निर्णयपछि दलहरूको सक्रियता पनि उत्तिकै बढेको छ। 

सत्ताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि बिदा गर्न जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी नेताहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको निरन्तरको ताकेतापछि कांग्रेस आफैँ सरकारको नेतृत्व लिन तयार भएको हो। 

चौधौं महाधिवेशन गराउनै पर्ने दबाबमा परेका सभापति शेरबहादुर देउवाले शुक्रबार मात्रै तीन दलको बैठक राखेर सरकारको नेतृत्व आफैँ लिने बताए। एनको प्रस्तावमा माओवादी केन्द्रले तत्कालै समर्थन जनाए पनि जसपाका नेताहरुले छलफल बाँकी रहेको बताएका छन्। जसपा दुई कित्तामा उभिएकाले सरकार नेतृत्वको हलो अहिले उसकै काँधमा अड्किएको छ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपालाई साविककै दलमा फर्काइदिएपछि उत्पन्न राजनीतिक संकटबीच कांग्रेस एक स्टेप अघि बढे पनि जसपाले धोका दिने सम्भावना छ। 

कुनै एउटा दलसँग बहुमत नहुँदा सत्तारुढ एमालेबाहेक सबै दल एक ठाउँमा उभिनुपर्ने अंक गणितीय जोड घटाउका कारण सत्ता सहकार्य झन् झन् जटिल भएर गाँठो परेको छ। 



यही कारण राजनीति खिचातानीबीच फसेको छ–जसपा। सत्ता समीकरणमा जसपाबिना कसैले पनि सरकार बनाउन नसक्ने भएकाले हिजोको सरकार बाहिरका दलहरूको बैठकपछि ऊ थप दबाबमा परेको छ।

उपेन्द्र–बाबुरामको दबाब



सत्ता सहकार्यलाई लिएर जसपामा अहिले अन्यबाट मात्रै नभइ आन्तरिक दबाब पनि बढेको छ। कांग्रेस सभापति शेरबहादुरसँग शुक्रबार छलफल भएपछि पार्टीभित्रैबाट अध्यक्ष ठाकुरमाथि दबाब बढेको स्रोत बताउँछ।

स्रोतका अनुसार जसपा अध्यक्ष ठाकुरलाई जबरजस्ती निर्णय गराउन अर्का अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई लागिपरेका छन्।  

यी दुवै नेताले कांग्रेससँग सत्ता सहकार्य गर्न बैठक बोलाएर निर्णयको दबाब दिइरहेका छन्। स्रोतका अनुसार उनीहरुले भनिरहेका छन्, ‘तपाईँ अब पाटीको बैठक बोलाउनुस्, त्यहीँबाट कांग्रेससँग सत्ता सहकार्यको निर्णय गराउनुस्।’ 

यो दबाब उनीहरुले फोन र भेटेर दुवै विधिबाट दिइरहेका स्रोत बताउँछ। तर अध्यक्ष ठाकुर भने अहिलेसम्म आनाकानी गरेर बसिरहेका छन्। 

स्रोतका अनुसार उनले अध्यक्ष यादव गुटलाई भनिरहेका छन्, ‘अहिले यो निर्णय गर्न सकिँदैन, हाम्रो माग पूरा गर्ने प्रक्रियामा ओली सरकार लागिसकेको छ। त्यसैले उताबाट केही नभएसम्म अहिले कुनै पनि अर्को निर्णय गर्न सकिँदैन।’ 

ओली सरकारसँगै माग पूरा गराएर समर्थन गर्ने दाउमा जसपा अध्यक्ष ठाकुर रहेको स्रोत बताउँछ। जसले गर्दा हिजोदेखि जसपा झन् विवादको भूमरीमा फसेको छ।

मुलुक अनिर्णयको बन्दी

माओवादी जसपाले निर्णय लिन नसक्दा देशको राजनीति संकट चुलिएको छ। जानकारका अनुसार यदि दुईवटै दलले निर्णय लिइसकेको भए अहिलेसम्म एउटा निचोड निस्किसक्ने थियो।

‘माओवादीले सरकारलाई गरेको समर्थन फिर्ता र जसपाले कसलाई सघाउने निर्णय लिएको भए यो समस्या समाधान हुन्थ्यो, तर उनीहरुले निर्णय नलिँदा देश अनिर्णयको बन्दी बन्न पुगेको छ’, जानकारहरु भन्छन्, ‘उनीहरुले अहिलेसम्म केही नगरेकाले समस्या झन् बढेको छ।’

सर्वोच्च अदालतको २३ फागुनमा गरेको फैसलापछि अहिले ओली नेतृत्वको दल नै ठूलो बनेको छ। त्यसैले ओलीलाई सरकार टिकाउन लागि जसपाको एउटा घटकले साथ दिए पुग्छ। 

तर ओली सरकारलाई पदच्युत गर्न कांग्रेस, माओवादी केन्द्र र जसपा पार्टीको पूरै समर्थन चाहिन्छ। जुन कारणले सत्ताको खेल पेचिलो बन्दै गएको छ। अर्थात् घुमीफिरी सत्ताको बागडोर फेरि पनि प्रधानमन्त्री ओलीकै हातमा जाने गणितीय सम्भावना बलियो देखिन्छ।

  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार २०:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया