म्यानमारमा सुरक्षा फौजको गोलीबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो

म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले शासन हातमा लिएपछि भएको प्रदर्शनका क्रममा ७ सय जनाभन्दा बढीको ज्यान गएको छ । गत फेब्रुअरीमा सेनाले 'कू' गरेपछि म्यानमारमा सुरक्षा फौजको गोली लागेर ७ सयभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

म्यानमारको मुख्य सहर यांगुन शुक्रबार मात्रै ८० भन्दा बढी प्रदर्शनकारीको ज्यान भएसँगै सुरक्षा फौजको कारबाहीमा परी ज्यान गुमाउनेको संख्या ७ सय नाघेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ । 

सैन्य 'कू'विरुद्ध प्रदर्शनमा उत्रिएका जनतामाथि सुरक्षा फौजले राइफल र ग्रेनाइट चलाउँदा शुक्रबार एकै दिन ८० जनाभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको राजनीतिक बन्दीहरुको स्वतन्त्रताका लागि गठन भएको संगठन (एएपिपी)लाई उधृत गर्दै रोयटर्सले लेखेको हो । 

एएपिपीका अनुसार म्यानमारमा शुक्रबारको सुरक्षा कारबाही अघि नै सेनाको गोली लागेर ६१८ जना प्रदर्शनकारीको ज्यान गइसकेको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै आङ सान सुकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको थियो । 

सैन्य 'कू'पछि भएका प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म १६ जना सुरक्षाकर्मीको ज्यान गइसकेको छ । सेनाको तथ्याङ्कमा भने अहिलेसम्म २४८ जना सर्वसाधारणको ज्यान गएको विवरण उल्लेख छ । 





  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १२:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया