वैशाख २५ मा आउँदै कल्प–ग्रन्थ, भिक्षुको भेषमा नगरकोटी (भिडियो)

अन्ततः लेखक कुमार नगरकोटीको बहुप्रतीक्षित पुस्तक ‘कल्प–ग्रन्थ’को विमोचनको मिति तोकिएको छ । शनिबार प्रकाशक संस्था बुकहिलले प्रिमियम संस्करणमा मात्र प्रकाशन हुन लागेको ‘कल्प–ग्रन्थ’ वैशाख २५ गते सार्वजनिक हुने जानकारी दिएको छ । प्रकाशकले विमोचन मितिसँगै पुस्तकको प्रोमोसनल भिडियो पनि सार्वजनिक गरेको छ । 

बुकहिलले गत मंसिर १ गतेदेखि पुस्तकको मूल्य तोकेर पाठकबाट अग्रिम रकम उठाउन सुरु गरेको थियो । पुस्तक सीमित प्रति मात्र छापिने जानकारी गराउँदै प्रकाशकले  पाठकबाट पुस्तकको रकम अग्रिम रुपमा उठाएको थियो । पुस्तकको मूल्य २०२१ रुपैयाँ तोकेर अग्रिम बुकिङ सुरु गरेको बुकहिलले उक्त पुस्तक चैत्र १६ गते पाठकको हातमा पर्ने वाचा गरेको थियो । तर, छपाइको काम समयमै नसकिएको भन्दै बुकहिलले पुस्तक पाठकको हातमा पर्न ढिलो भएको जानकारी दिएको छ ।

‘केही प्राविधिक कारणले पूर्वनिर्धारित समय चैत १४, २०७७ मा प्रकाशन गर्न असमर्थ भएका छौँ,’ बुकहिलले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘कल्प–ग्रन्थ किताब मात्र होइन, नेपाली साहित्य क्षेत्रको एउटा नवीन प्रयोग पनि हो ।’

यद्यपि, प्रकाशकले पुस्तक विमोचनअघि नै ‘डेलिभरी’ गरिने जानकारी दिएको छ । डेलिभरीको काम वैशाख १५ गतेदेखि नै सुरु हुनेछ । कल्प–ग्रन्थ ३ हजार ७ सय १३ प्रति प्रि–बुकिङ भएको पनि प्रकाशकले जनाएको छ ।

पुस्तकको प्रोमोसनल भिडियो पनि सार्वजनिक

कल्प–ग्रन्थको विमोचन मितिसहित ‘खर्पनमा बोकी हिँड्छु अचेल’ बोलको भिडियो पनि शनिबारै सार्वजनिक भएको छ । लेखक नगरकोटीकै शब्द रहेको गीतमा सुगम पोखरेलको स्वर छ भने हरि लम्सालको संगीत । अभिनय पनि नगरकोटीकै रहेको यो भिडियोलाई बुकहिलका संयोजक भूपेन्द्र खड्काले निर्देशन गरेका हुन् । बुकहिलको ब्यानरमा निर्माण भएको भिडियोको छायांकन तथा सम्पादन नीतिन चन्दले गरेका छन् । 



भिक्षुको आवरणमा नगरकोटी

भिडियोमा कुमार नगरकोटी माथिदेखि तलसम्मै कालो पोसाकमा देखिएका छन् । घाँटीमा माला, हातमा कमण्डलु र लौरो लिएका उनी भिक्षुको भेषमा छन् । रातको समयमा लौरोको सहायतामा उनी हिँडिरहँदा उनको वरिपरि धुवाँ उडिरहेको देखिन्छ । 



उनी वरपर उडिरहेको सेतो धुवाँले उनी ‘नोस्टाल्जिक’ भएर हिँडिरहेको प्रतीत हुन्छ । आफ्नो विगतलाई सम्झेर उनी भनिरहेका छन्– खर्पनमा बोकी हिँड्छु अचेल, तिम्रो यादका सामलहरू !

प्रकाशनअघि नै पुस्तकको चर्चा र विवाद 

लेखक नगरकोटीको छुट्टै लेखन शैली छ । ‘फिक्सन डिजाइनर’का नामले पनि चिनिने उनी प्रयोगवादी लेखक हुन् । नेपाली लेखनवृत्तमा उनी एक यस्ता लेखक हुन्, जसका आलोचक र प्रशंसक बराबर छन् । कसैलाई उनको लेखन विछट्टै मन पर्छ भने कसैले एकरत्ति पनि मन पराउँदैनन् । कतिले त उनलाई भाषाको हत्या गर्ने लेखकका रुपमा चित्रण गर्छन् ।

उनी सधैँ आफ्नो लखेन शैलीका कारण आलोचना र चर्चाको शिखरमा हुन्छन् । यसपालि भने उनी पुस्तक प्रकाशन हुनुअघि नै चर्चामा आए । यसपालिको चर्चामा उनको प्रशंसाभन्दा आलोचना ज्यादा भयो । 

जसै कल्प–ग्रन्थ प्रिमियम संस्करणमा मात्र आउने कुरा प्रकाशकले सार्वजनिक गर्यो, उनकोे आलोचना हुन सुरु भइहाल्यो । केही सातापछि प्रकाशकले पुस्तकको मूल्य तोक्यो, २०२१ रुपैयाँ । त्यसपछि त उनीमाथि  आलोचनाको सीमा नै रहेन । अधिकांश पाठकको भनाइ थियो– कुमार नगरकोटी बजारमुखी लेखक भयो । यो आरोप नगरकोटीमा मात्र सीमित भएन, यो विवादमा पाठकले बुकहिलका संयोजक भूपेन्द्र खड्कालाई समेत लगाए । उनीहरुले फेरि भने– भूपेन्द्रले कुमार नगरकोटीलाई बजारकेन्द्रित बनायो । 

संयोजक खड्काले आफू र लेखकमाथि लागेका आरोपको  खण्डन गरिसकेका छन् । खड्काले पाठकबाट पुस्तकलाई लिएर आलोचना–समालोचना हुनु एकदमै राम्रो भएको बताएका थिए । तर, मूल्य महँगो भएको कुरामा भने उनी सहमत छैनन् ।

पुस्तक महँगो हुनुको कारणबारे प्रस्ट्याउँदै उनले भनेका थिए– यो पुस्तक साइजले ठूलो त छँदै छ, प्रचुर कलात्मक पनि छ । कल्प–ग्रन्थ’सँगै पाठकले एउटा झोला र बुकमार्क पनि पाउनेछन् ।’

  • प्रकाशित मिति : चैत २९, २०७७ आइतबार १६:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया